पश्चिम बंगाल सरकारले आर्थिक वर्ष २०२६–२७ को बजेटमार्फत प्रशासनिक पुनर्संरचना, रोजगारी, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षासम्बन्धी विभिन्न महत्त्वपूर्ण घोषणा गरेको छ। बजेटअनुसार कोलकाता, बसिरहाट, सुन्दरवन, आरामबाग र जंगीपुरलाई नयाँ जिल्लाका रूपमा गठन गरिनेछ। साथै, विभिन्न स्थानमा नयाँ नगरपालिकाको गठन गर्ने घोषणा पनि गरिएको छ। राज्यमा रिक्त रहेका एक लाख पद पूर्ति गरिने जनाउँदै यसै वर्ष २० हजार प्रहरी र ५० हजार शिक्षक भर्ना गरिने घोषणा गरिएको छ। सरकारी सेवामा महिलाका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था पनि गरिने भएको छ। विधानसभा क्षेत्रका लागि उपलब्ध गराइने विधायक कोष ७० लाख रुपैयाँबाट बढाएर एक करोड रुपैयाँ पुर्याइने भएको छ।
फल्ता मोडलको विकासका लागि राज्य सरकारले विशेष योजना अघि बढाउने जनाएको छ। जंगीपुरमा बाढी व्यवस्थापनका लागि ५० करोड रुपैयाँ छुट्याइएको छ।सिभिक प्रहरी, होमगार्ड र ग्रीन पुलिसको पारिश्रमिकमा मासिक दुई हजार रुपैयाँ वृद्धि गरिने भएको छ। अवकाशप्राप्त पत्रकारलाई मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराइने घोषणा गरिएको छ। तृणमूल कांग्रेस शासनकालमा राजनीतिक बन्दीका रूपमा रहेका व्यक्तिहरूलाई ‘संग्रामी भत्ता’ उपलब्ध गराइनेछ। सरकारी कर्मचारीका लागि २० प्रतिशत महँगी भत्ता (डीए) घोषणा गरिएको छ। अन्नपूर्णा योजनाका लागि ३६ हजार करोड रुपैयाँ विनियोजन गरिएको छ भने कलेजमा अध्ययनरत छात्राहरूलाई ५० हजार रुपैयाँ प्रदान गरिने भएको छ।
हरेक उपविभागमा महिला प्रहरी कार्यालय स्थापना गरिने तथा ‘दुर्गा सुरक्षा स्क्वाड’ गठन गरिने भएको छ। महिलाका लागि निःशुल्क बस सेवाको सुविधा यथावत् राखिने जनाइएको छ।झारग्राममा आदिवासी विश्वविद्यालय स्थापना गरिने भएको छ। गर्भवती महिलालाई २१ हजार रुपैयाँ प्रदान गरिने तथा भिबी राम जी योजनाअन्तर्गतका श्रमिकलाई १२५ दिनको रोजगारी सुनिश्चित गरिने घोषणा गरिएको छ। वृद्धभत्ता र विधवा भत्तामा मासिक ५०० रुपैयाँ वृद्धि गरिएको छ। आशा तथा आङ्गनवाडी कार्यकर्ताले अब मासिक पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन्। शान्तिपुर–कालना जोड्ने पुल निर्माण गरिने भएको छ भने सुन्दरवन क्षेत्रका लागि ठूलो परिमाणमा बजेट विनियोजन गरिएको छ। पुरुलिया, माल्दा, बालुरघाट र कूचबिहार विमानस्थल विस्तार गरिने तथा कल्याणीमा ग्रीनफिल्ड विमानस्थल निर्माण गरिने घोषणा गरिएको छ। नन्दीग्राममा पनि नयाँ पुल निर्माण गरिनेछ।
प्रधानमन्त्री सूर्य घर योजनाअन्तर्गत सौर्य ऊर्जा प्रवर्द्धन गरिने भएको छ। उत्तर बंगालमा भारतीय प्राविधिक संस्थान (आईआईटी) र भारतीय व्यवस्थापन संस्थान (आईआईएम) स्थापना गरिने घोषणा गरिएको छ। चार नयाँ नवोदय विद्यालय र दुई केन्द्रीय विद्यालय स्थापना गरिनेछ भने औद्योगिक तालिम संस्थान (आईटीआई) हरूको पुनःविकास गरिनेछ।महिलाका लागि नयाँ कलेज स्थापना गरिने भएको छ। पारा शिक्षकको पारिश्रमिकमा पाँच हजार रुपैयाँ तथा मध्याह्न भोजन कार्यक्रमका कर्मचारीको पारिश्रमिकमा एक हजार रुपैयाँ वृद्धि गरिनेछ। आयुष्मान भारत योजनाका लागि सात करोड नागरिकलाई लक्षित गर्दै तीन हजार करोड रुपैयाँ विनियोजन गरिएको छ। उत्तर बंगालमा क्यान्सर अस्पताल स्थापना गरिनेछ भने मेडिकल कलेजहरूमा एमबीबीएस र एमडीका सिट संख्या बढाइनेछ। थप तीन नयाँ मेडिकल कलेज स्थापना गर्ने घोषणा गरिएको छ। यसैगरी, राज्य सरकारले प्रधानमन्त्री किसान सम्मान निधिअन्तर्गत किसानहरूलाई वार्षिक नौ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ।












