दार्जीलिङ, 21 मार्च (निसं): महाकाल मन्दिरको आशिर्वाद लिएर चुनावी मैदानमा उत्रिए भारतीय जनता पार्टीका उम्मेद्वार नोमन राई। भाजपाले हिजो मात्रै दार्जीलिङसँगै खरसाङ अनि कालेबुङ विधानसभा आसनबाट आफ्ना उम्मेद्वारहरूको नाम घोषणा गरेको थियो, जसमध्ये दार्जीलिङबाट गोर्खा जनमुक्ति मोर्चाका युवा नेता नोमन राई सामेल छन्। जसले आज बिहान दार्जीलिङको महाकाल मन्दिरमा पूजा अर्चना गरी विपक्षका उम्मेद्वारहरूलाई पराजित तुल्याएर आफूलाई विजयी गराइदिने प्रार्थना चड़ाए। यसैबीच, दार्जीलिङ पहाड़ वा गोर्खा जातिका लागि केन्द्रमा सत्तासीन रहेको भाजपा सरकारले केही नगरेको वा केही नदिएको कारण यस चुनाउ कतिको चुनौतीपूर्ण हुनेछ? भन्ने प्रश्नको उत्तरमा राईले भने-हो, भाजपाले केही गरेको छैन, यो सत्य हो।
तर केन्द्रमा भाजपाको सरकार अझै सन् 2029-सम्मको लागि रहनेछ। यसै अवधिभित्र भाजपाले गोर्खा जातिको लागि ठोस कुनै काम गर्नुपर्छ भन्ने विषयमाथि नै गोर्खा जनमुक्ति मोर्चाले जोड़ दिँदै आइरहेको छ। यसैले यसपालीको विधानसभा चुनाउमा राज्यमा तृणमूल कंग्रेसको सरकार हटिएर भाजपाको सरकार गठन भएको खण्डमा गोर्खा जातिको लागि ठोस कार्य गर्नुपर्छ भन्ने नै गोजमुमोको अड़ान छ। यसैले यसपालीको चुनाउमा दार्जीलिङ मात्रै होइन, सम्पूर्ण बंगालमा नै भाजपा र तृणमूल कंग्रेसमाझ नै स्पष्ट प्रतिद्वन्दिता हुनेछ अनि यसमा भाजपाको जीत निश्चित रहेको छ। भाजपाले दार्जीलिङ पहाड़का तीनवटा आसनमा आफ्ना उम्मेद्वारहरूको नाम घोषणा गरेपछि दार्जीलिङ पहाड़का भाजपा नेतृत्व तथा समर्थकहरूमा पनि निकै आक्रोस देखिएको साथै भाजपाको एक मुख्य घटक दल गोरामुमो पनि निराश बनिरहेको सम्बन्धमा प्रश्न गर्दा उनले भने-भाजपाका कार्यकर्ताहरूमा आक्रोस छाउनु भाजपाकै आन्तरिक मामिला हो। त्यसलाई भाजपाको शीर्ष नेतृत्ववर्गले अवश्यै समाधान गर्नेछन्।
यसरी नै गोरामुमोका एक शीर्ष नेतृत्व तथा वर्तमान विधायक निरज जिम्बासित आज बिहान मात्रै आफ्नो फोनमा सकारात्मक वार्ता भएको पनि राईले जानकारी गराए। यसरी नै शीघ्रै गोरामुमो केन्द्रीय कमिटीको बैठकमा एक निष्कर्ष निकाल्ने कुरा भएको पनि विधायक जिम्बाले उनलाई बताएको जनाए। यसैले मनमुटाउ र निराशाहरूलाई चाँड़ै समाधान गर्ने दिशामा पनि हामी काम गर्नेछौं, उनले भने। अर्कोतर्फ उनले यसपाली विधानसभा चुनाउमा भाजपाको मूल प्रतिस्पर्धा तृणमूल कंग्रेससितै हुने स्पष्ट छ भन्दै यसमा भाजपाको जीत निश्चित रहेको पनि दावी गरे। उनले वर्ष 2017-को आन्दोलनकालका घट्नाहरूलाई पुनः दोहोऱ्याउँदै दार्जीलिङ पहाड़का जनताले ती दिन अनि राज्य सरकारले दिएको यातना अझैसम्म नभुलेको पनि बताए।
इण्डियन गोर्खा जनशक्ति फ्रण्टसित पनि भेट गर्ने वा समर्थनको लागि अपील गर्ने सम्बन्धमा कुनै योजना भइरहेको छ? भन्ने प्रश्नको उत्तरमा उनले इण्डियन गोर्खा जनशक्ति फ्रण्टसित भेट्दै नभेट्ने कुरा भने गरेनन्। उनले भने-चुनाउ हो, चुनाउमा सबैसित भेट गर्ने, समर्थन माग्ने कार्य त हुन्छ नै, त्यो बाटोलाई पनि गोजमुमोले खुल्ला राखेको छ। ज्ञात रहोस्, इण्डियन गोर्खा जनशक्ति फ्रण्टले यसपालीको विधानसभा चुनाउमा भाजपा र तृणमूल कंग्रेससित साँठगाँठ नभएका पार्टीहरूलाई एकसाथ मिलेर लड़्ने आह्वान गरेका थिए। जसमाथि हिजो मात्रै मार्क्सवादी कम्युनिष्ट पार्टी (माकपा)-ले स्पष्ट संकेत दिँदै तृणमूल कंग्रेस र भाजपा विरोधी भोटलाई विभाजन हुन नदिने अड़ान राखेको थियो। यसैले यसपालीको चुनाउमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टलाई माकपाले समर्थन जनाउन सक्ने प्रबल सम्भावना बढ़ेर गएको छ।












