फ्रेडरिक चिया कमानका प्रतिनिधि टोलीसँग गोरामुमो अध्यक्ष मन घिसिङको भेटघाट भयो। उऩीहरूले रक गार्डनको पुनरुत्थान र स्थायी राजनीतिक समाधानमा जोड दिए। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) दार्जीलिङ ब्रान्च अन्तर्गत पर्ने ऋषिहाट–ब्लुमफिल्ड समष्टिको फ्रेडरिक चिया कमान शाखाबाट आएको एक विशेष प्रतिनिधि टोलीले गोरामुमोको केन्द्रीय कार्यालयमा अध्यक्ष मन घिसिङसँग सौहार्दपूर्ण भेटघाट गरेको छ।
ऋषिहाट–ब्लुमफिल्ड समष्टिका सचिव सत्यन राईको नेतृत्वमा आएको उक्त टोलीमा गोरामुमो तथा गोर्खा राष्ट्रिय नारी संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। भेटका क्रममा टोलीले अध्यक्ष घिसिङलाई कमान क्षेत्रका श्रमिक, स्थानीय बासिन्दा तथा संगठनको वर्तमान अवस्थाबारे विस्तृत जानकारी गराएको बताइएको छ। भेटघाटका क्रममा दार्जीलिङको ऐतिहासिक पर्यटन स्थल रक गार्डनको विषय उठाउँदै अध्यक्ष मन घिसिङ भावुक बनेका थिए। उनले स्वर्गीय सुवास घिसिङको दूरदर्शी सोच र जनहितप्रतिको समर्पणलाई स्मरण गर्दै रक गार्डन तथा गंगामाया पार्क स्थानीय जनताको आर्थिक समृद्धि र पर्यटन प्रवर्द्धनको उद्देश्यले निर्माण गरिएको बताए।
“सुवास घिसिङले जनतालाई माया गरेर पर्यटन विकासमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने उद्देश्यले रक गार्डन र गंगामाया पार्क निर्माण गर्नुभएको थियो। तर आज ती स्थलहरूको दयनीय अवस्था देख्दा दुःख लाग्छ। रक गार्डन हाम्रो साझा सम्पत्ति हो, जसको संरक्षण र विकास हामी सबैको जिम्मेवारी हो,” अध्यक्ष घिसिङले भने।उनले दीर्घकालीन विकासका लागि स्थायी राजनीतिक तथा संवैधानिक समाधान अपरिहार्य रहेको धारणा राखे। उनले भ्रष्टाचार र अव्यवस्थाको प्रतीक बनेको जीटीए व्यवस्थालाई हटाएर जनआकांक्षाअनुसारको स्थायी समाधान स्थापित गर्नुपर्नेमा जोड दिए।
वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गर्दै अध्यक्ष घिसिङले केन्द्र र राज्य दुवै तहमा अनुकूल राजनीतिक वातावरण बनेको उल्लेख गरे। उनले यही परिस्थितिले गोर्खा समुदायको दीर्घकालीन राजनीतिक माग पूरा हुने विश्वास व्यक्त गर्दै निकट भविष्यमा संवैधानिक मान्यता प्राप्त स्थायी राजनीतिक समाधान सम्भव हुने दाबी गरे। “स्थायी समाधानले पहाडका जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनेछ। भावी पुस्ताले विगतजस्तो अन्याय र असुरक्षाको सामना गर्नुपर्ने अवस्था अन्त्य हुनेछ,” उनले बताए।












