फिफा विश्वकप २०२६ अन्तर्गत समूह डीको आफ्नो पहिलो खेलमा संयुक्त राज्य अमेरिका (यूएसएमएनटी) ले प्रभावशाली प्रदर्शन गर्दै पाराग्वेमाथि ४–१ को शानदार जित दर्ता गरेको छ। लस एन्जलस स्टेडियममा सम्पन्न खेलको छैटौँ मिनेटमै पाराग्वेका मिडफिल्डर डामियान बोबाडिल्लाको आत्मघाती गोलमार्फत अमेरिका अग्रता लिन सफल भयो।त्यसपछि प्रतियोगितामा डेब्यु गरिरहेका फरवार्ड फोलारिन बालोगुनले ३०औँ र ४५औँ मिनेटमा उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमै ३–० को सशक्त अग्रता दिलाए। दोस्रो हाफमा पाराग्वेले पुनरागमनको प्रयास गर्दै ७२औँ मिनेटमा वैकल्पिक खेलाडी माउरिसियोमार्फत एक गोल फर्कायो। तर दक्षिण अमेरिकी टोलीको पुनरागमनको सम्भावना इन्जुरी समयको सातौँ मिनेटमा समाप्त भयो, जब खेलको अन्त्यतिर मैदान प्रवेश गरेका जियोभानी रेयनाले सुन्दर टोलीगत मुभलाई गोलमा परिणत गर्दै अमेरिकाको ४–१ को जित सुनिश्चित गरे। यता, टोरन्टो स्टेडियममा सम्पन्न समूह बीको खेलमा सह-आयोजक क्यानडाले बोस्निया एन्ड हर्जेगोभिनाविरुद्ध संघर्षपूर्ण १–१ को बराबरी खेलेको छ। बोस्नियाले २०औँ मिनेटमा फरवार्ड जोभो लुकिचको गोलमार्फत अप्रत्याशित अग्रता बनाएको थियो। घरेलु समर्थकमाझ दबाबमा रहेको क्यानडाले लगातार आक्रमण जारी राख्दै ७७औँ मिनेटमा वैकल्पिक स्ट्राइकर साइल लारिनको गोलमार्फत बराबरी फर्कायो। त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल १–१ को बराबरीमा समाप्त भयो।












