अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पुनः कडा चेतावनी दिँदै आणविक सम्झौतामा सहमति जनाउन वा अन्यथा अमेरिका निर्णायक कदम चाल्न तयार रहेको बताएका छन्। ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले, “हामी एक न एक तरिकाले जित्नेछौँ। या त सम्झौता हुनेछ, नभए हामी काम तमाम गरिदिनेछौँ, र त्यसका लागि धेरै समय लाग्ने छैन,” भने। ट्रम्पको यो अभिव्यक्ति इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टि कार्यक्रम चलिरहेका बेला आएको हो। अमेरिका र इरानबीच हालै सम्पन्न अप्रत्यक्ष वार्तामा कुनै ठोस प्रगति नभएपछि दुवै देशबीचको तनाव फेरि बढ्ने संकेत देखिएको छ। ट्रम्पले इरानले कुनै पनि अवस्थामा आणविक हतियार विकास गर्न नपाउने दोहोर्याउँदै अमेरिका इरानको समृद्ध युरेनियम भण्डार (‘न्यूक्लियर डस्ट’) आफ्नो नियन्त्रणमा ल्याउन चाहेको बताए। साथै, आवश्यक परे इरानको ऊर्जा पूर्वाधार र अन्य महत्वपूर्ण संरचना छोटो समयमै ध्वस्त पार्ने क्षमता अमेरिकासँग रहेको दाबी पनि गरे। यता, इरानले भने ट्रम्पको चेतावनीलाई अस्वीकार गर्दै यस्ता अभिव्यक्तिले कूटनीतिक प्रयासलाई कमजोर बनाउने प्रतिक्रिया दिएको छ। इरानी अधिकारीहरूले सम्मानजनक संवादका लागि आफूहरू तयार रहे पनि धम्कीको भाषालाई स्वीकार गर्न नसकिने बताएका छन्। यसअघि अमेरिका र इजरायलको सैन्य कारबाहीपछि युद्धविराम लागू गरिए पनि आणविक कार्यक्रमलाई लिएर दुवै देशबीचको अविश्वास अझै कायम छ। पछिल्लो घटनाक्रमले मध्यपूर्वमा पुनः तनाव चुलिने सम्भावना बढाएको विश्लेषण गरिएको छ।











