नेपाल सरकार र एडीबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने सन्दर्भमा प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्डाबीच भएको यस शिष्टाचार भेटमा दुवै पक्षले पारस्परिक सहकार्यप्रति प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार आधा घण्टा चलेको यस शिष्टाचार भेटमा प्रधानमन्त्री शाहले आगामी दिनमा सुशासन र पारदर्शितामार्फत नेपालको विकासको नयाँ फड्को मार्ने विश्वास व्यक्त गर्नुभएको छ।
जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने, डिजिटलाइजेसन र पर्यटकीय सडक पूर्वाधारमा सहकार्य गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको छ। भेटका क्रममा अध्यक्ष कान्डाले नेपालमा विकास सहयोग अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालको आर्थिक विकास र समृद्धिका लागि एडीबी दीर्घकालीन साझेदारका रूपमा निरन्तर क्रियाशील रहने बताउनुभएको छ।
उहाँले नेपालको आर्थिक क्षेत्रमा रहेको ठूलो सम्भावना, बलियो जनादेश र युवा नेतृत्वको प्रशंसा गर्दै नेपालको सफलतामा एडीबी सधैं साथ रहने प्रतिबद्धता दोहोर्याउनुभएको छ।
नेपालको युवा नेतृत्व र सुधारप्रतिको प्रतिबद्धता प्रेरणादायी रहेको उहाँको भनाइ छ।
मासातो कान्डा एसियाली विकास बैंक (एडीबी) को ११ औं अध्यक्षको रूपमा निर्वाचित भएका छन् र फेब्रुअरी २४, २०२५ देखि पदमा छन्। उनले यसअघि जापानका प्रधानमन्त्री र अर्थमन्त्रीको विशेष सल्लाहकारको रूपमा काम गरिसकेका छन्। अन्तर्राष्ट्रिय वित्त र विकास नीतिमा कान्डाको व्यापक अनुभव, जापानको अर्थ मन्त्रालयमा उनको नेतृत्वदायी भूमिकाले उनलाई एडीबीको लागि उपयुक्त नेता बनाउँछ। एसिया र प्रशान्त क्षेत्रमा दिगो, समावेशी र लचिलो विकासमा उनको ध्यान केन्द्रित हुँदा एडीबीले आफ्ना विकासशील सदस्य देशहरूका लागि नवीन समाधानहरू प्रदान गर्ने प्रयासलाई अगाडि बढाउने अपेक्षा गरिएको छ।












