सिलगढी-दार्जीलिङ पहाड क्षेत्रका ट्याक्सी चालकहरूबीच लामो समयदेखि चल्दै आएको विवाद समाधान हुन नसक्दा यात्रु ट्याक्सी सेवा प्रभावित हुने संकेत देखिएको छ। गोरूहरूको सीङ जुझाइमा बाछा अथवा यात्रुहरू नै मर्कामा पर्नेछन्। समतल क्षेत्रका ट्याक्सी चालकहरूले प्रशासनसँग पटक–पटक माग राखे पनि हालसम्म ठोस समाधान नआएको बताइएको छ। समतल क्षेत्रका ट्याक्सी चालकहरू पछिल्ला दिनहरूमा टाइगर हिलतर्फ सवारी सञ्चालन गर्न नपाएको कारण आर्थिक समस्यामा परेका छन्। पर्यटक मौसम सुरु भइसकेको अवस्थामा, विशेषगरी क्रिसमसको समय नजिकिँदै गर्दा टाइगर हिल जस्ता प्रमुख पर्यटकीय गन्तव्यमा सवारी नजान पाउँदा उनीहरूको आम्दानीमा प्रत्यक्ष असर परेको छ।
यता पहाड क्षेत्रका ट्याक्सी चालकहरूले पनि टाइगर हिलमा सवारी प्रवेश शुल्क लागू गरिएपछि असन्तुष्टि जनाउँदै आन्दोलन थालेका छन्। यसका कारण उनीहरूले पनि टाइगर हिलतर्फ सवारी सञ्चालन नगरेको जनाइएको छ। यसले गर्दा दुवै क्षेत्रका चालकहरू समस्यामा परेका छन् भने पर्यटकहरू पनि असहज स्थितिमा पुगेका छन्।
दार्जीलिङ हिल र तराई क्षेत्रका विभिन्न यातायात संघ–संस्थाबीच २० दिसम्बरमा कम्युनिटी हलमा छलफल बैठक आयोजना गरिएको थियो। उक्त बैठकमा १० वटा यातायात तथा ट्रेड युनियन सहभागी भए पनि कुनै ठोस निर्णय हुन सकेन। जिल्ला प्रशासनले पनि विवाद समाधानका लागि प्रभावकारी कदम नचालेको आरोप चालक पक्षको छ।
यसैबीच, दार्जीलिङ तराई ज्वाइन्ट फोरमले सिलगढीमा बैठक गरी नयाँ निर्णय सार्वजनिक गरेको छ। फोरमका अनुसार अब पहाड क्षेत्रका ट्याक्सीहरूले सिलगढी, एनजेपी, बागडोगरा, डुवर्स लगायत समतल क्षेत्रका कुनै पनि स्थानबाट सवारी उठाउन नपाउने निर्णय गरिएको छ। साथै, समतल क्षेत्रका होटलहरूबाट पनि पहाडका ट्याक्सीहरूले यात्रु नउठाउने व्यवस्था लागू गर्ने भनिएको छ।
ज्वोइन्ट फोरमले यस विषयमा अन्तिमपटक जिल्ला प्रशासनलाई ज्ञापन बुझाउँदै २४ घण्टाको समयसीमा दिएको छ। यदि उक्त अवधिभित्र समाधान नआएमा ट्याक्सी चालकहरूले चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्। उनीहरूले सिलगढीबाट दार्जीलिङतर्फ सवारी सञ्चालन गर्ने तर पहाड प्रवेशमा अवरोध वा दुर्व्यवहार भएमा कडा कदम चाल्ने बताएका छन्।
चालक संघहरूले अवस्था बिग्रिए त्यसको जिम्मेवारी प्रशासनकै हुने चेतावनी दिएका छन्। विवाद समयमै समाधान हुन नसके सिलगढी र दार्जीलिङबीचको ट्याक्सी सेवा ठप्प हुने सम्भावना रहेको छ, जसको प्रत्यक्ष असर पर्यटक तथा ट्याक्सी चालक दुवैमा पर्ने देखिन्छ।











