मोगियाको धावक अभियान: दुर्गम गाउँबाट विश्‍वमञ्चतर्फ

Share this news

युवा दर्पण 

सञ्जय निरौला  

साहस, अनुशासन र आत्मसमर्पणको कारण कुनै पनि समुदाय, व्यक्ति वा खेलाड़ी विश्‍वमञ्चमा चिनिन्छ। चाहे त्यो खेलको मैदान होस् या चुनौतीपूर्ण जीवनको बाटो- उत्कृष्ट प्रदर्शनका पछाड़ि सधैँ त्यस्ता अदृश्य व्यक्तिहरूको मेहनत हुन्छ जसले आफ्नो समय, श्रम र ज्ञान अरूको सफलतामा अर्पण गर्छन्। दियोजस्तै आफैं जलेर अरूलाई उज्यालो दिने यस्ता व्यक्तिहरू सपना देख्छन्- आफ्ना प्रशिक्षार्थीहरूलाई एकदिन विश्‍व विजेताको स्थानमा पुर्‍याउने।

यस्तै एक प्रेरणादायी पात्र हुन् दार्जीलिङबाट करिब ६० किलोमिटर टाढ़ा अवस्थित सुदुरवर्ती रिम्बिकका मोगिया शेर्पा। उनले रिम्बिकजस्तो दुर्गम भूभागमै बसेर विश्‍वकै साहसिक खेलमध्ये एक ‘ट्रेल रन’मा युरोपेली खेलाड़ीहरूको लामो एकछत्र राज तोड़्न सकिने सम्भावना प्रमाणित गर्न चाहन्छन्। गाउँकै युवाहरूलाई अन्तर्राष्ट्रिय ट्रेल रनर बनाउने सपना बोकेर उनी आज मेन्टरको रूपमा कार्यरत् छन्।

सानैदेखि दौड़मा रुचि राख्ने मोगियाले एसएसबी (सशस्त्र सीमा बल)को स्वयंसेवी ट्रेनिङमा रहँदा असममा पहिलोपटक ट्रेल रनमा कुद्ने अवसर पाए, र जसमा उनी विजेता बनेका थिए। त्यहींबाट उनले ट्रेल रनबाट बुझ्ने मौका पाए भने लामो दौड़मा भाग लिनसके केहि गर्न सकिने रहेछ भन्ने सोचले अघि बढ़्न थाले। पछि भारतकै ख्यातिप्राप्त ट्रेल रनर्समा एक बुद्ध ट्रेल आफ्नै जन्मथलो रिम्बिकबाटै संचालन हुन थालेपछि यसले मोगियालाई नयाँ उर्जा प्राप्त भयो। त्यसबेलासम्म मोगियाले ट्रेल रनबारे धेरै बुझिसकेका थिए। बिस्तारै ट्रेल रनर्सबारेमा विभिन्न माध्यमबाट जानकारी संग्रह गर्दै नयाँ खेलाड़ीहरू जन्माउने तयारीमा लागे। ट्रेल रनका अवसर तथा सम्भावनाहरूबारे गहिरो गरी अध्ययन गर्न थाले।

सन् २०२२ मा रिम्बिकमा आयोजना गरिएको बुद्ध ट्रेलमा आफूसँगै हेमन्त लिम्बू र सोमबहादुर थामीलाई दौड़मा भाग लिन प्रोत्साहन गरे। जसमा दुवैजनाले उत्कृष्ट परिणाम ल्याए। यसपछि मोगियाले ती दुई धावकहरूलाई क्षेत्रीय स्तरमा मात्र नभएर राष्ट्रिय साथै अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने संकल्प लिएर अघि बढ़्न थाले। यसको निम्ति व्यक्तिगत रूपमा होइन संगठित भएर अघि बढ़्नुपर्छ भन्ने सोचले सोही वर्ष मोगियाले ‘रिम्बिक रनर्स कल्ब’ शुरु गरे। जसको मुख्य उदेश्य क्षेत्रीय स्तरमा उदाएका तथा उदाउँदै गरेका युवा खेलाड़ीहरुलाई उचित तालिमसँगै विभिन्न प्रतियोगिताहरूसम्म पुर्‍याउनु रहेको छ। जसमा उनी धेरै हदसम्म सफल बनिसकेका छन्। जसको माध्यमबाट धेरै धावकहरुले क्षेत्रीय स्तरबाट देशको पूर्व-पश्‍चिम-उत्तर-दक्षिणका विभिन्न ठाउँहरूमा आयोजना गरिएको ट्रेल रनर्समा झण्डा गाड़िसकेका छन्। छिमेकी राष्ट्र नेपालमा आयोजना गरिएको दौड़मा भाग लिइसकेका छन्। यस्तै हाल वर्ल्ड च्याम्पियनसिपमा पनि उनका चेलाहरू जाने तर्खरमा छन्।

‘रिम्बिक रनर्स क्लब’मा हाल एक दर्जनजति सदस्यहरु आबद्ध छन्। जसलाई मोगिया आफैले केही धावकहरुको सहयोगमा संचालन गर्दै आएका छन्। रनर्स क्लबबारेमा उनी भन्छन्, ‘‘हामीले केही अग्रजहरुको सहयोगमा रिम्बिक रनर्स कल्ब शुरु गर्‍यौं। जसमा हाल क्वानटिटी होइन क्वालिटी छ। जसले देशको विभिन्न ठाउँमा आयोजना गरिएको लामो दुरीको दौड़मा कीर्तिमान स्थापित गरिसकेका छन्।’’ यसको साथमा उनले ‘रिम्बिक रनर्स क्लबलाई केवल रिम्बिक केन्द्रित नबनाएर दार्जीलिङ साथै सिक्किमलाई प्रतिनिधित्व गर्ने एक ट्रेल रनको संस्थाको रूपमा खड़ा गर्ने योजना लिएको बताउँछन्। यस्तै जमिनी स्तरमा काम गर्ने सोचका साथ आफूहरूले विभिन्न संघ-संस्था, शैक्षिक संस्थानलगायतको सहकार्यमा सानो सानो स्तरमा विद्यार्थीहरुलाई लिएर विभिन्न दौड़हरु आयोजना गर्ने योजना रहेको उनी बताउँछन्।

ट्रेल रनमा समर्पित मोगियाले चुनौतीहरूलाई पन्साउँदै अघि लैजानसके यस क्षेत्रमा धेरै अवसरहरू रहेको उनको भनाइ छ। उनी भन्छन्, ‘‘एक समय विश्‍वका धनाढ्य परिवारहरुले मनोरञ्जनसँगै सुगठित रहने सोच लिएर शुरु गरेको ट्रेल रन अब बिस्तारै खेलमा परिणत भइरहेको छ। दौड़मा भाग लिने खेलाड़ीहरुको आईटीआरए प्वाइन्ट कुनै व्यक्तिले होइन, यो खेलसँग सम्बन्धित संस्थाहरूले दिँदैछ। जसले दौड़मा उत्कृष्ट परिणाम निकाल्न सक्छन्, उनीहरु नै विश्‍व वर्यतामा अघि रहँदैछन्।’’ उनका अनुसार, ट्रेल रनलाई ओलम्पिकमा पनि सामेल गराइनुपर्छ भन्ने कुराहरू अघि आउन थालेका छन्। यस्ता विभिन्न कारणहरूबाट ट्रेल रनले अहिले बिस्तारै विश्‍वका विभिन्न देशमा ख्याति कमाउन थालिसकेको उनी बताउँछन्। यसैले यो क्षेत्रमा लागेकाहरूले धर्य गर्नसकेमा आफ्नो भविष्यसँगै समग्र गोर्खाहरूको नाम ट्रेल रनको क्षेत्रमा पनि विश्‍वमा स्थापित गराउन सक्छन् भन्ने उनको भनाइ छ।

ट्रेल रनको क्षेत्रमा लागिपरेकाहरूको भविष्य अझसम्म पनि सुनिश्‍चित हुननसकेकोमा ठूलो बिडम्बना मान्छन्। हालसम्म पनि विश्‍व विजेता बन्ने तर्खरमा लागेका आफ्ना चेलाहरू जीवन चलाउन नै संघर्षरत् हुनुपर्ने बाध्यताले उनलाई कहिलेकाहीँ रातभर निन्द्रा लाग्दैन। अन्य खेल सरह यस क्षेत्रलाई पनि सरकारले ध्यान दिए खेलाड़ीहरूले क्षेत्रलाई प्रतिनिधित्व गर्दै विभिन्न प्रतियोगितामा भाग लिनजाँदा आफ्नो गोजीको खर्चमा लानु नपर्ने उनलाई सदैव लागि रहन्छ।

हुन त मोगिया शेर्पाले देखाएको बाटोमा हालसम्म थोरैले हिड़्ने कोशिश गरिरहेका छन्। यसैले संस्था खड़ा गरेको चार वर्ष बितिसक्दा पनि सदस्यहरूको संख्या कम छ। यद्यपि संस्थामा संग्लन रहेर दैनिक रुपमा शारीरिक अभ्यास गर्नसके उनले भनेजस्तै ‘‘कुद्नु भनेको कुनै प्रतियोगिता जितेर मेडल र ट्रफीहरु हत्याउनु मात्र होइन, खानेकुराजति सबै नियन्त्रण राखेर आउँदो दिनमा अस्पताल र घरलाई दिनचर्या बनाउँदै आफ्नो शरीरलाई डाक्टरको रिमोटबाट अलग राखौं भन्ने हो।’’ यसैले आजको दिनमा मोगिया जस्ता सामाजिक अभियन्ताहरू एक उदाहरण मात्रै होइनन् शरीरलाई स्वस्थ अनि सुगठित बनाउनेहरूका निम्ति क्यापसुल पनि हुन्।


Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ