मिमिक्रीबाट उदाएका संघर्षशील नाट्य कलाकार महेन्द्र थापा

Share this news

सञ्जय निरौला   

दार्जीलिङ केवल प्राकृतिक सौन्दर्यले मात्र होइन, यहाँ जन्मिएका कलाकारहरूको सृजनशीलताले पनि उत्तिकै उज्यालो छ। पहाड़का कुना-कन्दरामा लुकेका कथा, पीड़ा, हास्य र यथार्थलाई कलाको माध्यमबाट मञ्चसम्म ल्याउने कलाकारहरूकै कारण दार्जीलिङको सांस्कृतिक पहिचान अझ जीवन्त बनेको छ। यिनै समर्पित कलाकारहरूको पंक्तिमा एउटा नाम हो- महेन्द्रकुमार थापा। मिमिक्रीदेखि नाटक, अभिनयदेखि उदघोषणा र इलेक्ट्रोनिक मिडियासम्म निरन्तर संघर्ष र साधनामा रमाउँदै आएका महेन्द्र दार्जीलिङका सशक्त नाट्यकर्मीको रुपमा चिनिन्छन्। कला उनका लागि समाजसँग संवाद गर्ने एउटा सशक्त माध्यम बनेको छ।

‘‘…नाटकमा हालसम्म पनि पारम्पारिक तौरतरिका नै अनुसरण गर्नु साच्चै दु:खद छ। नयाँपन जबसम्म भित्रिन्दैन तबसम्म नाटकमा नयाँ आयाम थपिन्दैन’’

सन् १९९२ तिर पहिलोपटक मिमिक्री कलाकारको रूपमा उदाए। यसैबाट उर्जा पाएर उनी कला अकादमी, दार्जीलिङ कार्निवललगायत अन्य धेरै सांगीतिक टोलीसित जोड़िए। मिमिक्रीबाट दर्शकको मन जित्न सफल हुँदा मिमिक्री अभिनयले उनलाई नाटकको मञ्चतिर खिच्यो। यसपछि शुरु भयो नाटकको क्षेत्रमा महेन्द्रको यात्रा। राजेन पञ्चकोटीद्वारा लिखित र निर्देशित नाटक ‘चोरी दण्ड’मा पहिलोपल्टमै प्रभावकारी अभिनयले दर्शकको मन जित्न सफल बने। यसपछि नाटकमा उनको पाइला निरन्तर लम्किन थाल्यो।

सुरेश खरेलद्वारा लिखित तथा निर्देशित ‘दिन्छु नी बुढ़ीया’, ‘नत्र भने हाम्रो भोलि’,  किरण ठकुरीद्वारा लिखित-निर्देशित ‘भूमिपुत्र’,  ‘मेनुका प्रधानद्वारा लिखित ‘प्रायश्‍चित’, ‘सरोज राणाद्वारा लिखित-निर्देशित ‘परालको आगो दोस्रो भाग’, दीपक सुनामद्वारा लिखित-निर्देशित ‘तासको घर’, टेम्पो लेप्चाद्वारा लिखित-निर्देशित ‘कर्ण’, जीवन गुरुङद्वारा लिखित-निर्देशित ‘मगनी’, आदित्य रायाद्वारा लिखित-निर्देशित ‘हाइ जिन्दगी’, मोहन शर्माद्वारा लिखित-निर्देशित ‘विश्‍वास’जस्ता नाटकहरूमा गजबकै अभिनय गरेर मञ्चमा सशक्त कलाकारका रुपमा खड़ा भए।

उनले गीति नाटक ‘जाति भन्दा जात ठूलो’मा पनि उस्तै प्रभावकारी अभिनय गरे। यस नाटकका रचनाकार थिए नोर्देन रुम्बा अनि निर्देशक थिए अनुप महेन्द्र। उनले नाटकमा अभिनय मात्र गरेका छैनन्, अमर रसाइलीद्वारा लिखित ‘खै भानु लेखन’ नाटक निर्देशन गरेका छन्। ललित गोलेद्वारा निर्देशित ‘भानु पाला पार्ट सिक्स’, ‘बिच्चाको पुर्खा’,  सी के श्रेष्ठको नाटक ‘अन्धाहरूको रामकहानी’हरू लगायत अन्य थुप्रै लघु नाटकहरूमा अभिनय गरेका छन्।

उनले अभिनय गरेका नाटकहरूमा कहिँ समाजको यथार्थ रहेको हुन्छ भने कहिँ ग्रामीण भेकका कथाहरू उजागर गरिएका हुन्छन्। नाटककै माध्यमबाट उनले समाजमा चल्दै आएको कुरिती-कुसंस्कार, भित्रिएका विसङ्गतिहरूलाई औल्याउँदै समाजको चेत खुलाउने प्रयास गर्छन्। उनले अल इण्डिया शर्ट प्ले कम्पिटिसन अलाहावाद उत्तर प्रदेश, १९९४ देखि १९९९ सम्म अमेच्योर थियटरबाट सहभागिता जनाउँदै समूहमा अमिठ छाप छोड़ेका छन्।

नाटकमा आउन अघि उनको रुची मिमिक्रीमा थियो। उनले गरेको सुवास घिसिङको मिमिक्रीले स्वयं सुवास घिसिङ पनि प्रभावित भएर उनलाई नोकरी समेत दिलाए। त्यसपछि ‘नेपाल वान टेलिभिजनमा सन् २००२ देखि २००१ सम्ममा समाचार वाचक, कार्यक्रम संचालकको रूपमा विशेष भूमिका निर्वाह गरे। यसपछि महेन्द्रले सन् २०१६ देखि सन् २०१९ सम्म ‘एबीएन टीभी’मा समाचार प्रमुख, समाचार वाचक, कार्यक्रम संचालकको रूपमा काम गरे। हाल सन् २०२३ देखि डीडी बंगलामा सप्तरंगी कार्यक्रम संचालकको रूपमा कार्यरत छन्।

उनले भिडियो एल्बमहरूमा पनि आफ्नो भूमिका निर्वाह गरेका छन्। आदित्य रायाद्वारा निर्देशित तथा सोनु राई गायिका रहेकी एल्बम ‘नाम त मेरो शिवानी’, ‘उज्यालोको प्रतीक्षा’, एन्जल छिरिङद्वारा निर्देशित तथा प्रकाश सुन्दासले गएका एल्बम ‘खुल्ला आकाश, पल्लविवद्वारा निर्देशित तथा समीर सिंहले गएका एल्बम ‘किन रुन्छ दार्जीलिङ’, पुष्पन प्रधानले गाएका गीत ‘फेरि भेट होला’मा उनको भूमिका रहेको छ। ‘जुजु’, ‘माल रोड’, ‘ट्याक्सी ड्राइभर’ अनि बंगला चलचित्र ‘काठमाण्डु इन् लभ’मा अभिनय गरिसकेका छन्। ‘भानु पाला’को ब्यानरमा निर्माण हुँदै गरेको चलचित्र ‘सुनमुनामा’मा पनि उनले अभिनय गरेका छन्।

सन् १९९६ मा उत्कृष्ठ हास्य कलाकार सर्व भारतीय लघु नाटक अलाहाबाद, भानुभक्त समिति सिलगढ़ी,पश्‍चिम बंग नाट्य उत्सव-२०२०, माइती घर समूह सिलगढ़ी-२०२१, गोर्खा प्राइड मिशन-२०२३, यसका साथै विभिन्न संघ-संस्थाहरूबाट सम्मानित भइसकेका छन्। आफ्नो कलाकारितालाई रोजगारको माध्यम नमान्ने महेन्द्रले नाटक साथै इलेक्ट्रोनिक मिडियामा आफ्नो जिम्मेदारी निर्वाह गरेका छन्।

अहिले उनी ‘नटराज कला केन्द्र’ सालबारीका प्रबन्धक हुन्। यहाँ उनका श्रीमती नृत्य कलाकार पन्नु गजमेरले नृत्य सिकाउँछिन् भने नाटक, अभिनय, प्रोग्राम होस्टिङ महेन्द्र स्वयंले तालिम दिन्छन्। आउँदो दिनमा नयाँ प्रतिभा खोजेर नाटकलाई विस्तार गर्ने उनको योजना रहेको छ। हालसम्म दार्जीलिङको नाटकमा नयाँ आयाम शुरु नहुनाले उनलाई घरिघरि झक्झकाउने गर्दछ। उनी भन्छन्, ‘‘दार्जीलिङको नाटक विधा लगभग सय वर्ष नाघेको कुराहरू गरिन्छ। नेपाललाई दार्जीलिङले नाटक सिकाएको कुरा गरिन्छ, तर यो हालमा उल्टो भइरहेको छ। हामीले नेपालबाट धेरै कुरा सिक्नुपर्नेछ। नाटकमा हालसम्म पनि पारम्पारिक तौरतरिका नै अनुसरण गर्नु साच्चै दु:खद छ। नयाँपन जबसम्म भित्रिन्दैन तबसम्म नाटकमा नयाँ आयाम थपिन्दैन।’’ यसैले उनी दार्जीलिङका कलाकारहरूका निम्ति ठूलो मञ्चको खाँचो अनुभव गर्छन्।

गायन तथा नृत्य जस्तै नाटकहरूलाई लिएर विभिन्न कार्यक्रमहरू हुनुपर्ने र यसको निम्ति क्षेत्रीय सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ। ‘‘आजको दिनमा कन्टेन क्रिएटरहरूको जोश बढ़ेको छ त्यो राम्रो कुरा हो। तर योसँगै नाटकलाई बचाउने काममा यस्तै जोश आवश्यक छ’’, उनी भन्छन्। युवाहरूले नाटक बचाउन ठोस कदमहरू उठाउनुपर्ने उनको सुझाव छ। यसका साथै दार्जीलिङमा गोर्खा दु:ख निवारक सम्मेलनजस्तो संस्थाले नाटकबारेमा सोच राख्दा राख्दै पनि धेरै कारणहरूले निकै धरापमा परेको उनी बताउँछन्। जसको निम्ति क्षेत्रीय सरकारसँगै कलाकारितालाई माया गर्नेहरूले यसबारेमा सोच्नुपर्ने उनको भनाइ छ।

महेन्द्रकुमार थापाको कला यात्राले देखाउँछ- नाटक केवल मञ्चको विषय होइन, समाजलाई जागृत गराउने चेतना हो। परिवर्तनको खाँचो महसुस गरिरहेका दार्जीलिङका नाटकहरूका लागि उनीजस्ता कलाकारको आवाज आज झन् जरुरी बनेको छ। नयाँ सोच, नयाँ मञ्च र नयाँ पुस्ताको सहभागिताले मात्र नाटकको भविष्य सुरक्षित रहनसक्छ। महेन्द्र थापा आज पनि यही आशा बोकेर मञ्च र समाजबीच साँघु बनेर उभिएका छन्।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ