दार्जीलिङ, 19 जुलाई(निसं):अरण्य सप्ताह-26 को अवसरमा दार्जीलिङस्थित महाकाल मन्दिरमा मन्दिर समिति, पर्यटक तथा त्यहाँ आउने स्थानीय भक्तजनहरूको सक्रिय सहभागिता र समन्वयमा प्लास्टिकजन्य फोहोर व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रम तथा वृक्षारोपण अभियान आयोजना गरियो।
यसरी नै, घूम-सिमाना रेञ्जद्वरा सुकेपोखरीमा अरण्य सप्ताहको अवसरमा वृक्षरोपण, र्याली तथा हिमालयन स्यालामाण्डर संरक्षण सचेतना कार्यक्रम सम्पन्न भयो। सुकेपोखरी, अरण्य सप्ताहको अवसरमा हरियो वन राष्ट्रको धन, सबैले रूख रोपौँ, हाम्रो पहाडलाई हरियाली बनाऔँ भन्ने मूल नाराका साथ वन-विभाग धुम सिमाना रेञ्जको आयोजनामा सुकेपोखरी क्षेत्रमा गुराँसका बिरुवा रोपेर वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ। धुम सिमाना रेञ्ज, जेएफएमसी अनि फोसेपको सयुक्त प्रयासमा वन संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले वन संरक्षणसम्बन्धी सचेतना र्याली तथा हिमालयन स्यालामाण्डर संरक्षण सम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि आयोजना गरिएको थियो।
कार्यक्रमअन्तर्गत माझीधुरा र मानेडाँडा क्षेत्रलाई हरियाली बनाउने अभियान सञ्चालन गरियो। माझीधुरा, मानेडाँडा गुराँसी, जेएफएमसीका सदस्यहरू, युवक संध प्राथमिक पाठशाला, मेग्नो भेल एकेडेमीका बिध्यर्थीहरू, स्थानीय बासिन्दा, वन विभागका कर्मचारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागितामा सुकेपोखरी बजारदेखि माझीधुरा परिक्रमा गर्दै अरण्य सप्ताह र्याली निकालिएको थियो। र्यालीमा हरियो वन, स्वस्थ जीवन, वन जोगाऔँ, भविष्य बचाऔँ लगायतका सन्देशमूलक नाराहरू प्रदर्शन गरिएको थियो।
वन विभागका अनुसार रेञ्जस्तरीय अरण्य सप्ताह कार्यक्रम गत 24 जुलाईदेखि आगामी 20 जुलाईसम्म विभिन्न सचेतनामूलक तथा संरक्षणमुखी कार्यक्रममार्फत सञ्चालन भइरहेकोछ। अरण्य सप्ताहको मुख्य उद्देश्य वन संरक्षण, वातावरणीय सन्तुलन कायम गर्नु तथा वनप्रति समुदायमा जिम्मेवारीबोध र सचेतना अभिवृद्धि गर्नु रहेको जनाइएको छ।कार्यक्रमको दोस्रो चरणमा माझीधुरा समाज भवनमा हिमालयन स्यालामाण्डरको संरक्षण तथा यसको पर्यावरणीय महत्वबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा धुम सिमाना रेञ्जका रेञ्ज अधिकारी निला राई, बिट अफिसर धुव्र बरदेवा र सुकिला राई, सलामाण्डर इनिसियटिभ सुकेपोखरी (एसआइएस), फोसेपका प्रतिनिधिहरू, कम्युनिटी मोबिलाइजर फुर्बा छिरिङ शेर्पा, ग्राम पञ्चायत सदस्य तथा स्यालामाण्डर गार्जियनकी प्रतिनिधि निशा शेर्पा, डीएफएमसीका अशोक तामाङ, माझीधुरा ग्राम सुधार समाजका प्रतिनिधिहरू, मेग्नो भेल एकेडेमीका शिक्षिका तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले वन संरक्षण, जैविक विविधताको रक्षा तथा हिमालयन स्यालामाण्डरजस्ता दुर्लभ प्रजातिको संरक्षणमा स्थानीय समुदायको सक्रिय भूमिका अपरिहार्य रहेकोमा जोड दिइयो।












