भविष्यका बोटानिकल चित्रकारहरू तयार गर्दै हेमलता

Share this news

सञ्जय प्रधान⇒

हेमलता प्रधान फूलहरूबीच हुर्किइन्, प्रकृतिलाई प्रेम गर्न सिकिन्, र वनस्पति संरक्षणमा समर्पित छिन्। उनी चित्रकारिताको माध्यमबाट आफूजस्तै प्रकृतिप्रेमीहरू तयार गर्न जुटेकी छिन्। गाउँ-बस्तीका बालबालिकाहरूलाई उनी निःशुल्क चित्रकला सिकाउँछिन्।

नारी दर्पण 

कालेबुङ निवासी उदयचन्द्र प्रधान र श्रीमती तेजकुमारी प्रधानका छोरी हेमलता प्रधानलाई सानैदेखि चित्र बनाउने रूचि थियो। उदयचन्द्र प्रधान अर्किड (सुनाखरी) साथै विभिन्न फूलहरू र वनस्पतिका एकजना सुपरिचित विशेषज्ञ साथै लेखक हुन्। उनीहरूको फूलको नर्सरी स्थापित भएको चार पुस्ता भइसकेको छ। यो फूलको नर्सरी पूर्व सिक्किमको रिनोकमा चन्द्र नर्सरीबाट शुरू भएको थियो। हेमलता प्रधानले बताएअनुसार, चन्द्र नर्सरी सिक्किममा पहिलो नर्सरी थियो। पछि यो नर्सरी कालेबुङमा सारियो।

बाबु उदयचन्द्र प्रधान अर्किडका विशेषज्ञ हुनका साथै फूलहरूको चित्र खुबै राम्रो बनाउँथे। बाबुले विभिन्न ठाउँमा गएर फिल्ड स्केच गरेको देख्दा १० वर्षकी हेमलता प्रभावित भइन्। बाबुबाट प्ररेणा, हौसला पाएर उनी यस्तै चित्रकलामा निरन्तर लागिन्। बाबुलाई नै आफ्नो पहिलो गुरू मान्छिन्। आज हेमलता अन्तर्राष्ट्रिय स्तरमा एकजना स्थापित स्वतन्त्र बोटानिकल (वनस्पति) चित्रकार हुन्।

कालेबुङको सन्त जोसेफ कन्भेन्टमा कक्षा आठसम्म पढ़िन् अनि यसपछि डा० ग्राह्मस् होम्स्बाट १२ कक्षा पास गरिन्। डा० ग्राह्मस् होम्स्मा फाइन आर्टस् भएको हुनाले अझ सिक्ने मौका प्राप्त भयो। यसपछि कला भवन, विश्‍व भारती, शान्तिनिकेतनबाट ब्याचलर इन् फाइन आर्टस् (बीएफए) गरिन्। यहाँ उनले चित्रकलाका माध्यमहरू लिथोग्राफ, इचिङका बारेमा ज्ञान हासिल गरिन्। रोयल बोटानिक गार्डन, क्यु, इङ्गल्याण्डबाट इलस्ट्रेशनमा डिप्लो, लण्डनको रोयल कलेज अफ् आर्टबाट मार्स्टस् डिग्री हासिल गरिन्। यी सबै अध्ययनका लागि उनले निक्कै संघर्ष गरिन्। सन् २००० मा रोयल होर्टिकल्चरल सोसाइटीको विन्टर शो, वेस्टङ्किन्स्टर, लण्डनमा इण्डियान ज्वेल अर्किडस्को चित्रणका लागि आरएचएस गोल्ड मेडल जितिन्।

“गाउँ-बस्तीका विद्यार्थीहरूलाई निःशुल्क बोटानिकल चित्रकला सिकाउने इच्छा थियो”

सानैदेखि फूल मन पराउने हेमलतालाई गाउँ-बस्तीका विद्यार्थीहरूलाई निःशुल्क बोटानिकल चित्रकला सिकाउने इच्छा थियो। विद्यार्थी जीवनदेखि नै यसको निम्ति स्कूल खोल्ने इच्छा रहेको उनी बताउँछिन्। उनी लण्डनबाट फर्केर आउँदा राष्ट्रिय राजमार्ग १० मा टिस्टा नदीमा ड्याम निर्माणको कार्यमा रूखहरू काटेको देख्दा अति नै दुःख लागेको हेमलता बताउँछिन्। यस क्षेत्रमा हुने फूलहरूबारे शोधकार्य गर्दै चित्रहरू बनाउने कार्य गरिन्। टिस्टाको क्षेत्रमा वनजंगलको अवस्था देखेर चित्रकलाको माध्यमबाट विभिन्न उद्भिदहरू र फूलहरूको संरक्षण गर्न जनजागरण अभियानको संकल्प गरिन्। चित्रकलाको माध्यमबाट उनले यो जनजागरण बोटानिकल चित्रकलाको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएकी छिन्। उनले बोटानिकल चित्रकलामा विभिन्न प्रजातिको सुनाखरीलाई प्रमुखता दिएकी छिन्। १० वर्षको उमेरदेखि शुरू गरेको उनको  चित्रकलाको यात्रा अहिले ४० वर्ष पुगेको छ।

सन् २००३ मा हेमलताले बोटानिकल चित्रकला प्रवर्द्धन गर्न हिमालयन ट्रस्ट फर नेचरल हिस्ट्री अफ् आर्ट स्थापित गरिन्। सन् २०११ देखि यहाँ कार्यशाला शुरू गरिएको छ। कालेबुङको रेली भ्यालीमा यसै ट्रस्टको माध्यमबाट उनले गाउँ-बस्तीका विद्यार्थीहरूलाई निःशुल्क चित्रकला सिकाउँछिन् र यसबारेमा पढ़ाउँछिन्। यहाँ शिक्षकको रूपमा कालेबुङका उनकै पाँचजना साथीहरू छन्। अहिले ३० जना विद्यार्थीहरू छन्, यसभन्दा अघि पनि धेरै विद्यार्थीहरूले बोटानिकल चित्रकला सिकिसकेका छन्। यहीं चित्रकला सिकेका दुईजना अहिले यसै ट्रस्टमा शिक्षक भएका छन्। यस ट्रस्टको राम्रो उपलब्धि भनेको गाउँ-बस्तीकै विद्यार्थीहरूले यो चित्रकला सिकेर गाउँ-बस्तीकैविद्यार्थीहरूलाई सिकाउँदैछन्। यहाँ भिजिटिङ टिचरहरू बंगलोर, कोलकाता, सिक्किम, दार्जीलिङबाट पनि कार्यशालाका लागि आउँछन्।

उनका चित्र प्रदर्शनीहरू भारतका  विभिन्न महानगरहरू कोलकाता, नयाँ दिल्ली, पुणे अनि विश्‍वका विभिन्न देशहरू इङ्गल्याण्ड, जापान, थाइल्याण्ड, फ्रान्स, नेपालमा भइसकेको छ। उनी धेरै राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कारहरूले सम्मानित भइसकेकी छिन्। बंगलोरको अशोका ट्रस्ट फर रिसर्च फर इकोलोजी एण्ड एन्भाइरोनमेन्ट (एटीआरईई-एट्री)बाट टी एन खुशो मेमोरियल अवार्डद्वारा सन् २०१२ मा सम्मानित भइसकेकी छिन्। सन् २००५ मा डीजन, फ्रान्समा भएको १८औं वर्ल्ड अर्किड कन्फरेन्स्मा इण्डियाज् वाइल्ड अर्किडस् इन नेचर प्रदर्शनका लागि स्वर्ण पदक प्रदान गरिएको छ। हिमालय दर्पण कालेबुङद्वारा उनी सम्मानित भइसकेकी छिन्। यसबाहेक विभिन्न देशमा उनले पदकहरू धेरै पाएकी छिन्, जसको सूची यहाँ निक्कै लामो हुनजान्छ।

हेमलताका बोटानिकल चित्रहरूमा सानो सानो कुरा पनि छुटेका हुँदैनन्। उनका चित्र यति बढ़ी जीवन्त देखिन्छ जसलाई पहिलो पटक हेर्दा हातले बनाएको भन्न गाह्रो हुन्छ। उनी उच्च गुणस्तरको वाटर कलर र कागज प्रयोग गर्छिन्। हरेक चित्रहरूमा नै रङ्को प्रयोग र ब्रसको चमत्कारिक खेलले हेमलताको हातमा जादु भएको जस्तो महसुस हुन्छ। बोटानिकल चित्रकला विश्‍वका अन्य देशहरूमा अघि बढ़िसकेको छ भने एसियाका केही देशहरूमा पनि फैलिएका छन्। यता भारतमा भने अहिले प्रारम्भिक अवस्थामा नै छ। उनी इण्डो हिमालयन अर्किडमाथि अध्ययन गर्दै यसलाई अघि बढ़ाइरहेकी छिन्।

हिमालयन ट्रस्ट फर नेचरल हिस्ट्री अफ्आर्टको माध्यमबाट ‘रूट टु विङ्स्’ प्रोजेक्टबाट सरकारी विद्यालयका विद्यार्थीहरूका लागि बोटानिकल चित्रकलाको प्रशिक्षणको तयारीमा छिन्। बोटानिकल चित्रकलाको क्षेत्रमा करियर दह्रो हुने बताउँछिन्। यसमा स्वतन्त्र चित्रकार बन्नसक्ने उनी बताउँछिन्। उनका अनुसार, बोटानिकल चित्रकार बोटनिस्टहरू र बोटानिकल गार्डनहरूलाई आवश्यक पर्छ, स्थापित भएपछि चित्रहरूको मूल्य धेरै हुनसक्छ। अहिले एआईको युगमा यसले चित्रकलालाई असर पर्छ कि पर्दैन भन्ने प्रश्‍नमा उनी भन्छिन्, ‘‘एआईको बारेमा अहिले भन्न सकिँदैन।’’ उनी भन्छिन्, ‘‘हामी पारम्परिक ढाँचामा प्रशिक्षण गराउँछौं। हाम्रो स्कूलमा मोबाइलको पोलिसी छैन। रिसर्च गर्नका लागि पनि मोबाइल प्रयोग गर्नु पाउँदैन। फिल्डमा नै गएर प्रकृतिलाई महसुस गरेर नोट लेख्नुपर्छ।’’

चित्र बनाउने, शोधकार्य गर्ने प्रतिभा भएका गाउँ-बस्तीका बालबालिकाहरूलाई भविष्यमा आत्मनिर्भर बन्ने, र प्रकृतिप्रतिको प्रेमलाई प्रगाढ़ बनाउने दिशामा एउटा बृहत अभियानको निरन्तर यात्रामा हेमलता अघि बढ़िरहेकी छिन्।

 

 


Share this news
आजको रोजाइ
पहाड़का सम्पूर्ण विद्यालयहरू अनिश्चितकालीन रूपमा बन्द हुने

पहाड़का सम्पूर्ण विद्यालयहरू अनिश्चितकालीन रूपमा बन्द हुने

प्रशान्त महासागरमा अमेरिकी सेनाको आक्रमण, आठ जनाको मृत्यु

प्रशान्त महासागरमा अमेरिकी सेनाको आक्रमण, आठ जनाको मृत्यु

फिल्म ‘धुरन्धर’ ले भारत र पाकिस्तान दुवै देशमा प्रशंसा र विवाद

फिल्म ‘धुरन्धर’ ले भारत र पाकिस्तान दुवै देशमा प्रशंसा र विवाद

कुटे, मारे पनि उन्मुक्ति अनि गोर्खाल्याण्ड हाम्रो हृदयबाट हट्नेछैन

कुटे, मारे पनि उन्मुक्ति अनि गोर्खाल्याण्ड हाम्रो हृदयबाट हट्नेछैन

आइपीएल अक्सन २०२६ः क्यामरुन ग्रिन बने महँगो खेलाडी

आइपीएल अक्सन २०२६ः क्यामरुन ग्रिन बने महँगो खेलाडी

सांसद बिस्टले संसदमा उठाए पहाड, तराई र डुवर्सका समस्याहरू

सांसद बिस्टले संसदमा उठाए पहाड, तराई र डुवर्सका समस्याहरू

साओ पाउलोमा आएको भीषण तूफानले ठूलो रुपमा पुर्‍यायो क्षति

साओ पाउलोमा आएको भीषण तूफानले ठूलो रुपमा पुर्‍यायो क्षति

  ग्रामीण भेकमा महिलाहरूको स्वास्थ्य: सचेतना बढ़ाउन आवश्यक

  ग्रामीण भेकमा महिलाहरूको स्वास्थ्य: सचेतना बढ़ाउन आवश्यक

भविष्यका बोटानिकल चित्रकारहरू तयार गर्दै हेमलता

भविष्यका बोटानिकल चित्रकारहरू तयार गर्दै हेमलता

सुपर कार ड्राइभः राष्ट्रिय गर्व र सैन्य इतिहासको सफल संयोजन

सुपर कार ड्राइभः राष्ट्रिय गर्व र सैन्य इतिहासको सफल संयोजन

आजको रोजाइ