बंगलादेशका युवा राजनीतिक नेता सरिफ ओस्मान हादीको हत्यापछि देशको राजनीतिक अवस्था गम्भीर रूपमा अस्थिर बनेको छ। विद्यार्थी आन्दोलनबाट उदाएका हादीको हत्या भएपछि राजधानी ढाकासहित विभिन्न स्थानमा हिंसात्मक प्रदर्शन र तनाव फैलिएको छ।
गत १२ डिसेम्बरमा ढाकामा मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले हादीमाथि गोली प्रहार गरेका थिए। गम्भीर घाइते अवस्थामा उनलाई सुरुमा ढाकाको अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि थप उपचारका लागि सिंगापुर लगिएको थियो। तर, सिंगापुरको एक अस्पतालमा उपचारकै क्रममा बिहीबार राति उनको मृत्यु भयो। हादीको मृत्यु पछि आक्रोशित समर्थक तथा आन्दोलनकारीहरूले सरकारले सुरक्षा प्रदान गर्न असफल भएको आरोप लगाउँदै दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन्। घटनापछि विभिन्न ठाउँमा आगजनी र तोडफोडसमेत भएको छ, जसले चुनावी तयारीमा रहेको बंगलादेशको राजनीतिक वातावरण थप तातिएको छ।











