गोर्खा राष्ट्रिय मुक्ति मोर्चा पुलबजार–बिजनबारी गोक समष्टिका उपाध्यक्ष गाइस सुब्बाले गोरामुमो अध्यक्ष मन घिसिङले जीटीए चुनावअघि ४५ वटा समष्टिहरूको भ्रमणका क्रममा दिएको चेतावनी आज आएर सही सावित भएको बताएका छन्।
भिडियो सन्देशमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुब्बाले मन घिसिङले चुनावअघि नै जीटीएले गोर्खाहरूको भविष्यको समाधान गर्न नसक्ने र भविष्यमा निर्वाचित सभासदहरू भुइँभरी हुने सुझाव राखेको स्मरण गराउँदै आज २०२६ मा आएर त्यही अवस्था देखिएको दाबी गरे।
उनले गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय समिति प्रवक्ता वाई लामाले जीटीए सभासदहरूको राजीनामाको विषयमा बोल्दा आईजीजीएफका संयोजक अजय एड्वर्डको नाम तोकेर कुनै टिप्पणी नगरेको स्पष्ट पारे। तर, अजय एड्वर्डले उक्त अभिव्यक्तिलाई आफूलाई लक्षित गरिएको रूपमा लिएर प्रतिक्रिया दिएको भन्दै उनी मानसिक तनावमा देखिएको टिप्पणी गरे।
सुब्बाले गोर्खा–गोर्खाबीच आपसी टकराव हुनु नहुनेमा जोड दिँदै, वाई लामाले केन्द्र र राज्यमा डबल इन्जिनको सरकार रहेको तथा गोर्खा समस्याको समाधान नजिक पुगेको वर्तमान अवस्थामा राजीनामा नदिएका जीटीए सभासदहरूले पनि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने सन्दर्भमा मात्र अभिव्यक्ति दिएको बताए। यदि त्यसो नभए समतल क्षेत्रमा जस्तै अण्डा प्रहारको विरोध यहाँ पनि सुरु हुन सक्ने सम्भावनाको सन्दर्भ उल्लेख गरिएको भए पनि त्यो कुनै व्यक्तिलाई लक्षित गरेर नभएको उनको भनाइ थियो।
उनले अजय एड्वर्डले दिएको धम्कीपूर्ण बयानका कारण अन्ततः उनी स्वयं नै लज्जित हुन पुगेको दाबी गर्दै, आफूहरूले अजय एड्वर्डलाई एउटा असल व्यक्तित्वका रूपमा लिएको भए पनि पछिल्लो अभिव्यक्तिले निराश बनाएको बताए। सन्देशको अन्त्यमा गाइस सुब्बाले अझै पनि समय रहेको उल्लेख गर्दै सबै गोर्खाहरू एकजुट भएर गोर्खा जातिको स्थायी राजनीतिक समस्याको समाधानतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले आपसी बाझाबाझ र आरोप–प्रत्यारोपको परम्पराको अन्त्य गर्दै साझा उद्देश्यका लागि एक भएर अघि बढ्न सम्पूर्ण गोर्खा समुदायलाई अपिल गरेका छन्।












