खरसाङ, (निसं)ः वर्तमानमा सामाजिक सञ्जालमा विभिन्न तरिका अपनाउदै ठगहरू सक्रिय रहेका छन्। सामाजिक सञ्जाल मार्फत सम्पर्क स्थापित गरेर यस्ता ठगहरूले साधरण मानिसहरूलाई ठग्ने प्रयास गरेका घटनाहरू प्रकाशमा आएका छन्। कतिपयले मोबाइल नम्बरमा लटरी पऱ्यो भनी ठग्ने प्रयास गरेका छन् भने कतिपयले आफ्नोमा धेरै सम्पती रहेको भन्दै उक्त सम्पत्तिको केही अंश दान गर्ने भनी ठग्ने प्रयास गरिरहेका छन्। कतिपयले नोट बनाउने कार्यमा संलग्न रहने प्रस्ताव दिँदै ठग्ने प्रयास गरिरहेका छन्। यसै गरी कतिपयले सामाजिक सञ्जाल मार्फत सम्पर्क स्थापित गरेर भिडियो कल गरी उक्त भिडियो कलमा आपत्तिजनक तरिकाले प्रस्तुत भएर यसको रिकर्डिङ गरी ठग्ने प्रयास गरेका घटनहरू पनि प्रकाशमा आएका छन्। वर्तमानमा अर्को एक तरिका पनि ठगहरूले अपनाइरहेका छन्। यस्ता ठगहरूले आफूसित धेरै धेरै परिमाणमा सुन रहेको र उक्त सुन बिक्री गर्नलाई समस्या भएको भन्दै ठग्ने प्रयास गरिरहेका घटना पनि प्रकाशमा आएको छ। घटना अनुसार खरसाङ्का एक व्यक्तिलाई सामाजिक सञ्जाल मार्फत मित्र बनाएपछि उक्त ठगले मेसेञ्जरमा सम्पर्क स्थापित गरेका थिए। ठगले मेसेञ्जरमा बातचीत गरेपछि मेसेञ्जरमा फोन नम्बर मागेका थिए। फोन नम्बर मागेपछि उक्त ठगले आफूले एउटा निर्माण कार्य गर्दा धेरै सुन भेटेको, भेटेको सुनलाई पगालेर राखेको तर बिक्री गर्न नसकिरहेको बताउदै सुन खरिद गर्नलाई प्रस्ताव दिएका थिए। ठगले सुन खरिद गर्न अघि 10 ग्रा सित्थैमा दिने र उक्त 10 ग्राम असली सुन रहेको खण्डमा मात्र थप सुन खरिद गर्ने प्रस्ताव समेत दिएका थिए। यसै बीच घटले सुनको फोटो समेत खरसाङ्का व्यक्तिलाई सामाजिक सञ्जाल मार्फत पठाएका थिए। खरसाङ्का उक्त व्यक्तिले यो ठगीको प्रयास हो भनी थाहा पाएर पनि यस ठगीको विषयमा अधिक जानकारी लिनको निम्ति उक्त ठगसित बातचीत गरे। ठगले 10 ग्राम सुन लिनलाई असमको गुवाहाटी आउने प्रस्ताव दिए। खरसाङ्का उक्त व्यक्तिले गुवाहाटी आउनको निम्ति आफूसित समय र खर्च नरहेको बताउदै ठगलाई 10 ग्राम सुन कुरियर गरेर पठाइदिने आग्रह गरेपछि फोन गर्न छोड़ेका थिए। यस प्रकार वर्तमानमा सामाजिक सञ्जाल जनमानसमा लोकप्रिय बनेको छ। अहिले प्रत्येक स्तरका मानिसहरू सामाजिक सञ्जालमा सक्रिय रहने गरेका छन्। यसरी सामाजिक सञ्जालमा ठगहरू पनि विभिन्न तरिका अपनाएर सक्रिय रहेकाले पूर्ण सतर्कताको साथमा सामाजिक सञ्जाल प्रयोग गर्न पर्ने आवश्यकता देखिएको छ।











