हिमाली राज्य सिक्किमको पहिचान केवल यसको मनमोहक प्राकृतिक सौन्दर्यमा सीमित छैन, यहाँका दुर्लभ वनस्पति र जैविक सम्पदाले पनि यसलाई विश्वसामु विशिष्ट बनाएका छन्। तर यी सम्पदालाई जोगाउँदै भावी पुस्तासम्म पुर्याउने केही समर्पित हातहरू पनि छन्, जसले प्रकृतिप्रतिको प्रेमलाई आफ्नो जीवनको उद्देश्य बनाएका छन्। पाक्योङ जिल्लाका सामतेन दोर्जी गुरुङ त्यस्तै एक प्रेरणादायी व्यक्तित्व हुन्, जसले अर्किड र सकुलिन खेतीमार्फत केवल आफ्नो जीविकोपार्जनको बाटो मात्रै खोलेका छैनन्, बरु युवाहरूलाई आफ्नै भूमिमा सम्भावना खोज्दै आत्मनिर्भर बन्न सकिन्छ भन्ने सशक्त सन्देशसमेत दिएका छन्।
“यो क्षेत्रमा मेहनत निक्कै छ, यद्यपि आफ्नो क्षेत्रमा काम गर्नसक्नेलाई आत्मसन्तुष्टिसँगै स्वनिर्भर हुने अवसर प्रदान गर्दछ”
सानैदेखि फूलखेतीमा लगाउ भएको बताउने सामतेनलाई बाल्यकालमा गाउँमा रहेका विभिन्न फूलहरूले निकै आकर्षित गर्यो। यद्यपि समय अनुकुल नहुँदा सो बेला मनैमा इच्छा खिलिराखे। पछि बिस्तारै सामतेन लामा बन्न पुगे। त्यसपछि आफ्नो पेशागत सुहाउँदो काम गर्ने इच्छा गरेपछि सन् २०१२ देखि फूलखेती रोजे, जसको माध्यमले आज आफ्नो भिन्नै परिचय स्थापित गर्न सफल भएका छन्। शुरूमा घरमा रहेको एक सय जति बिउको माध्यमबाट खेती शुरु गरेपछि आफूले यसै क्षेत्रमा काम गर्ने चाहाना सम्बन्धित विभागसामु पुर्याए।

सन् २०१३ तिर सरकारबाट लगभग पाँच सय बिरुवासँगै यसलाई व्यवस्थापन गर्ने सेलपोलिन पाए। दु:खसुख अस्थायी रूपमा बाँसैको हटहाउस बनाएर अर्किड खेतीलाई केही व्यवस्थापन गरे। सरकारबाट केही सहयोग पाएपछि सामतेनको जाँगर दोब्बर बढ़्यो। आफ्नो रुचिअनुसार काम गरेका सामतेनले बिस्तारै आफ्नो फूलहरू बजारमा निकाल्न थालेपछि स्वनिर्भर बन्नेमा आशा पलायो। बोटानीबारे किताबी ज्ञान नभएका सामतेनले व्यहारिक रूपमा अर्किडबारे जानकारी लिनथाले। आफ्नोमा भएको अर्किडको बारेमा गम्भीरतापूर्वक अध्ययन गरेपछि विदेशी प्रजातिहरू नै अधिक आफूसँग रहेको थाहा पाएपछि सिक्किममा भएको स्थानीय प्रजातिका अर्किडहरू हराउँदै गएको महसुस गरे। त्यसपछि उनले लोपोन्मुख हुन लागेको सिक्किमको अर्किडको संरक्षण गर्ने सोचमा आफूलाई अघि राखे। आफ्नो क्षेत्रमा भएका सबैलाई यसबारेमा गम्भीरतापूर्वक लिने आग्रह गर्दै अघि बढ़े। बिस्तारै सिक्किमका लगभग दुई सयभन्दा अधिक प्रजातिका अर्किड संग्रह गरे। यसबारे उनी भन्छन्, ‘‘सिक्किम प्राकृतिक रूपमा सुन्दर हुनुमा अर्किडको उत्तिकै महत्त्व छ यद्यपि यसको संरक्षण नगरे यहाँको स्थानीय प्रजाति लोप हुनसक्छ। जंगलका ठूला ठुला रुखहरू सुक्छन् अथवा काटिँदा रुखसँगै अर्किडको केही प्रजाति पनि लोप हुने खतरा हुन्छ। यसैले रुखहरू काट्दा भनौं सुकेको यस फूलबारे जानकारी राख्नेहरूलाई अवगत गराउँदै संरक्षण गर्नसके अत्यन्तै राम्रो हुन्छ।’’ यसको साथमा वन विभागले संरक्षण बारेमा जागरुकता फैलाउनुपर्ने उनको सुझाव छ।
फूलखेतीबाट बिस्तारै आम्दानी बढ़्न थालेपछि सामेतनका अर्किडहरू प्रदर्शनीमा निस्किन थाले। यसै क्रममा एनआरसीओले आयोजना गरेको पुष्प प्रदर्शनीमा सन् २०१६ मा प्रथम, यस्तै राज्य प्रदर्शनीमा सन् २०१६ मा दोस्रो, जैविक दिवसमा आयोजना गरिएको प्रदर्शनीमा प्रथम, सन् २०१७ देखि सन् २०१९ सम्म आयोजना गरिएको राष्ट्रिय प्रदर्शनीमा भाग लिँदासम्म सामतेनले यस क्षेत्रमा धेरै ख्याति मात्रै होइन धेरै मानिसहरूसित नजिक हुने मौका पाए। सुरुबुरु घरबाट शुरु गरेको अर्किड दुई हजारभन्दा बढ़ी बनाए। वर्षमा आफूलाई चाहिने खर्च सहजै निस्किन थाल्यो। यसैबीच कोरोनाको महामारी शुरु भयो, यसले उनलाई निक्कै विचलित बनाउने कोशिश गरे पनि उनी डगमगाएनन्। तर बजार व्यवस्थापनको कार्यमा भने निक्कै समस्या पैदा गरायो। यसैमा दार्जीलिङ र कालेबुङमा उत्पादन भएका अर्किडहरू सस्तो मूल्यमा ग्राहकसम्म पुग्न थालेपछि सामतेन जस्ता धेरै मर्कामा परे। बाहिर जान छोड़ेपछि यो मनोरञ्जनको उत्पादन सिक्किमको भनेजस्तो खपत हुनसकेन। केही समय निक्कै निराशा बने उनीहरू। बिस्तारै कोरानाको महामारी सकिएर जनजीवन सामन्य बन्न थाल्यो। त्यसपछि केवल एउटामा मात्रै निर्भर नहुने रहेछ भन्ने बुझेपछि अन्य प्लान्टहरू पनि लगाउन थाले। जसमा सकुलिन प्रमुख रह्यो। यसमा पनि मेहनत लगाएर काम गर्न थालेपछि उनले सफलता पाउन थाले। बजारमा पनि राम्रोसँग बिक्री हुनथाल्यो। यसैबीच अर्किड तथा सकुलिन दुवै लिएर अघि बढ़्न थाले र प्रदर्शनीहरूमा भाग लिनथाले। यसै क्रममा सन् २०२५ मा राज्य स्तरीय प्रतियोगितामा सकुलिन प्रजातिमा प्रथम स्थान हासिल गरे भने यसै वर्ष सन् २०२६ मा आयोजना गरिएको प्रदर्शनीमा उनी दोस्रो बने।
आफ्नो ज्ञानमूलक पेशाभन्दा भिन्नै रहेर काम गरेका सामतेन फूलखेतीमा भविष्य निक्कै उज्ज्वल देख्छन्। यद्यपि युवाहरूले यसबारेमा भनेजस्तो चासो नदेखेको हुँदा उनी चिन्ता प्रकट गर्छन्। यसबारे उनी भन्छन्, ‘‘यो प्राकृतिसँग रमाउँदै काम गर्ने पेशामा जीविकोपार्जन राम्रोसँग गर्न सकिन्छ। तर धर्यैता भने हुनुपर्छ। आजका युवाहरूलाई अहिलेको भरे रिजल्ट चाहिन्छ। यसमा तुरुन्तै रिजल्ट आउँदैन। धर्यै राखेर काम गर्नसके ब्यांकमा राखेको पैसाभन्दा सुरक्षित छ यस क्षेत्रमा गरेको लगानी।’’ यस्तै भनेजस्तो बजार व्यवस्था हुननसकेको दु:खेसो पोख्ने सामतेनले उत्पादक तथा ग्राहकसम्मको बाटो बनाउन आफ्नो वेबसाइटसमेत तयार गरिसकेका छन्। जो चाँड़ै शुरु हुँदैछ। यस्तै स्थानीय स्तरमा पनि बिक्रेताहरूसम्म पुर्याउनसक्ने चेन तयारी बनाउन व्यक्तिगत रूपमा निक्कै चुनौतीपूर्ण रहेकोले सरकारले केही पहल गरिदिनु पर्ने उनको सुझाव छ। यस्तै राज्य स्तरमा फूलखेती गर्नेहरूका निम्ति राज्य स्तरमा सोसाइटी हुनसके अत्यन्तै राम्रो हुने उनको सुझाव छ।
आफ्नो फूलको उत्पादनलाई सिक्किमसँगै पूर्वोत्तरका विभिन्न राज्यहरू मेघालय असम नागाल्याण्डसँगै महाराष्ट्र, उत्तराखण्डलगायतका राज्यहरूमा बजार व्यवस्था गरिसकेको बताउने सामतेन गुरुङले डिजिटल माध्यमबाट देशभरका विभिन्न राज्यहरूमा बिक्री वितरण गर्ने लक्ष्य राखेका छन्। प्रधानमन्त्रीको हालैको सिक्किम भ्रमणबाट आफू निक्कै उत्साहित भएर सिक्किम अर्किडको वर्णन राष्ट्रिय स्तरमा गरेसँगै पुनः यस क्षेत्रमा जोशपूर्ण लागिपरेको बताउँछन्। जसमा सिक्किमको स्थानीय प्रजातिलाई अघि ल्याउने उनको लक्ष्य छ। युवाहरूका निम्ति प्रेरणाको स्रोत बनेका सामतेन गुरुङ युवाहरूका निम्ति भन्छन्, ‘‘यो क्षेत्रमा मेहनत निक्कै छ, यद्यपि आफ्नो क्षेत्रमा काम गर्नसक्नेलाई आत्मसन्तुष्टिसँगै स्वनिर्भर हुने अवसर प्रदान गर्दछ। तर अनुशासन र धर्यैता भने आवश्यक चाहिन्छ। यद्यपि यो क्षेत्रमा लाग्नेहरूको भविष्य साँच्चै उज्ज्वल हुन्छ। यसैले म युवाहरूलाई यो क्षेत्रमा आउने आग्रह गर्दछु।’’
हिमाली राज्य सिक्किम पाक्योङको याङतेन ग्राम पंचायतअन्तर्गत कार्थोक स्कूल डाँड़ा निवासी भक्तबहादुर गुरुङ र नोर्की भुटियाका छोरा सामतेन दोर्जी गुरुङ आजका युवाहरूका लागि प्रेरणाका स्रोत बनेका छन्। युवाहरू सरकारमा मात्रै निर्भर छन् स्वनिर्भर हुने कुनै काम गर्दैनन् भन्ने धारणा तोड़्दै उनले प्रकृतिलाई माया गरेर, धैर्य र मेहनतका साथ काम गरे आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्।












