गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक समष्टि अन्तर्गत ओकेटी–९ नम्बर शाखामा शाखा अध्यक्ष किरण राईको सभापतित्वमा आयोजित संगठनात्मक सभाले गोर्खा राष्ट्रिय नारी संगठनको नयाँ शाखा सर्वसम्मतिले गठन गरेको छ। नवगठित शाखाको सभापतिमा स्वर्णिम राई, उपसभापतिमा सारिका राई, सचिवमा छिरिङ भोटे (राई), उपसचिवमा अन्यल राई तथा कोषाध्यक्षमा ज्ञानकुमारी राई चयन हुनुभएको छ। त्यसैगरी ललिता राई, इन्दिरा राई, अनिता राई, रजनी राई, रनु राई, रूपा राई, सिनोरा राई, कलिना राई र आसिका राईलगायत २१ सदस्यीय पूर्ण शाखा समिति प्रस्ताव तथा समर्थनको आधारमा सर्वसम्मतिले गठन गरिएको हो।कार्यक्रममा बलिदास राईले नवगठित पदाधिकारी तथा सदस्यहरूलाई खादा ओढाएर सम्मान व्यक्त गर्नुभएको थियो। साथै, शाखा अध्यक्ष किरण राईले १७ जना नयाँ सदस्यलाई पार्टीमा स्वागत गर्नुभएको थियो।
नवनिर्वाचित शाखा सभापति स्वर्णिम राईले वर्तमान परिस्थितिमा गोर्खा समुदायको भावी पुस्ताको उज्ज्वल भविष्य निर्माणका लागि गोरामुमोका केन्द्रीय अध्यक्ष मन घिसिङको नेतृत्वलाई सशक्त बनाउन सम्पूर्ण नारीहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले ८० को दशकको आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका नारीहरूको योगदान स्मरण गर्दै आजको पुस्ताका महिलाहरूले पनि संगठनलाई मजबुत बनाउन सक्रिय सहभागिता जनाउन आह्वान गर्नुभयो। सभाको समापन गर्दै शाखा अध्यक्ष किरण राईले उपस्थित सबैलाई स्वागत तथा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले सामाजिक सञ्जालमा फैलिने भ्रामक र दिग्भ्रमित पार्ने समाचारप्रति सचेत रहन, केवल केन्द्रीय समितिको आधिकारिक निर्देशनलाई आत्मसात गर्दै अनुशासित ढंगले संगठनात्मक कार्यमा लाग्न सबैलाई अनुरोध गर्नुभयो।
आजको कार्यक्रममा प्रसित राईको विशेष उपस्थिति रहेको जानकारी टि.बी. राईले प्रेस विज्ञप्तिमार्फत दिनुभएको छ।












