कुनै दिन खेतीपातीले आफूलाई चिनाउने र पुरस्कार पाइन्छ भन्ने कल्पना अनुराधा छेत्रीले गरेकी थिइनन्। बाल्यकालमा बाबुआमासँग खेतबारीमा सघाउँदै सिकेको सीप उनको जीवनको आधार बनेको छ। पूर्व सिक्किमको पाक्योङ नजिक नाम्चेबुङको राई गाउँकी अनुराधा अहिले अर्किड फूल र विभिन्न सागसब्जीको खेतीमार्फत सफल उद्यमी महिलाका रूपमा परिचित छिन्। माटोसँगको उनको आत्मीय सम्बन्धले केवल परिवारको जीविकोपार्जन मात्र होइन, सिक्किममा प्रेरणादायी पहिचान पनि दिलाएको छ।
‘‘खेतीपाती हेर्दा त दु:ख लाग्दो दुखिया देखिन्छ, तर शरीर जहिले पनि फुर्तिलो फिट हुँदो रहेछ’’
दक्षिण सिक्किमतर्फको लेकसेपमा जन्मिएकी अनुराधा छेत्री घरकै पुस्तैनी खेतबारीमा बाबुआमासितै हातेमालो गर्दै हुर्किएकी हुन्। स्व० इन्द्रबहादुर छेत्री र स्व० डिकमाया छेत्रीकी छोरी अनुराधाले दक्षिण सिक्किमकै रमाइलो गाउँ क्यूजिङको पाठशालाबाट प्राथमिक शिक्षा हासिल गरेर पश्चिम सिक्किमको गेजिङको स्कूलमा पढ़ि्न्। स्कूलको शिक्षा बढ़ी नलिए पनि जीवनको वास्तविक शिक्षा भने खेतीपातीबाटै गहन रुपमा बुझेकी छिन्। घरको बारीमा बाबुआमाले मकै, अदुवा, दाल, सागसब्जी रोप्दा सानी बालिका अनुराधा पनि सघाउन पुग्थिन्। यसरी नै उनले खेतीपातीको महत्व बुझेर यसैलाई आफ्नो जीवनशैली बनाइन्। अहिले ६१ वर्ष पुगेकी अनुराधा खेतीपातीलाई अझ बढ़ी विस्तार गरिरहेकी छिन्।

४२ वर्ष अघि बिहे भएर नाम्चेबुङ राई गाउँमा आएपछि पनि खेतीपातीमै निरन्तर लगिरहिन्। सन् २००५ मा नाम्चेबुङकै उद्यमी युवा मणिल राईले लोन लिएर फूलखेती गर्ने दिएको सुझावअनुसार १० जनाको समूह बनाएर पहिला लिलियमको खेती शुरु गरे। उनका अनुसार, फूलखेतीमा चासो देखेर सिक्किम सरकारको फ्लोरिकल्चर विभागले सन् २००६ मा सिम्बिडियन अर्किडको बिजन दिएपछि राम्रो शुरु भयो। विभागले सबैलाई एक एकवटा ग्रीन हाउस बनाइदिएका थिए।
सन् २००६ देखि फूलखेती राम्रो प्रगति भएपछि आफैले विरुवाहरू किनेर खेतीलाई बढ़ाउँदै लागिन्। फूलखेतीबाटै पाक्योङस्थित इण्डियन काउन्सिल अफ् एग्रिकल्चर रिसर्च-आईसीएआर (एनआरसीओ-नेशनल रिसर्च सेन्टर फर अर्किड्स)सित जोड़िइन्। आईसीएआर-एनआरसीओले गर्ने फूलखेतीका कार्यक्रमहरूमा सहभागी हुन् थालिन्। आईसीएआर-एनआरसीओले अर्किड खेतीको ट्रेनिङहरू गराएको र बिजनहरू दिएको बताउँछिन्। उनी अर्किडसँगै थुप्रै किसिमका मौसमी फूलहरूको खेती गर्छिन्। यसबाहेक करिब एक ऐकर जमिनमा इस्कुस, सिमी, मूला, आलु, फूलकोपी, बन्दाकोपी, ब्रोकोली, काँक्रा, धनियाँ, अदुवा, नाकिमा र सागहरूमा रायो, जरिङ्गो, पालक, मेथी, किन्वाको खेती गर्छिन्। अनुराधा भन्छिन्, ‘‘यसपाली असिना बेसी परेर खेती निक्कै बिगार्यो, र अहिले फेरि शुरु हुँदैछ।’’
अनुराधाले फूलखेतीमा अहिले हजार भन्दा बढ़ी नै विभिन्न प्रजातिका जंगली र हाइब्रिड अर्किडहरू राखेकी छिन्। यसबाहेक अन्य विभिन्न प्रजातिका सिजन्थस, सिनेरिया, स्टक, एन्टिराइनम, पेटुनिया, एल्स्ट्रोमेरियालगायत अन्य मौसमी फूलहरूको संग्रह पनि उत्तिकै आकर्षक छ। दशैँ-तिहारमा सयपत्री र गोदावरीहरू राम्रो फूल्ने गर्छ। मौसमी फूलहरू सिक्किममा हुने ठूला कार्यक्रमहरूमा सजाउन, बिहे, दशैं-तिहारमा राम्रो बिक्री हुने उनी बताउँछिन्। उनको नर्सरीमा अर्किडहरू किन्न सिक्किमभित्रै साथै बाहिरतिर असम, नागाल्याण्ड, अरुणाचल प्रदेशबाट आउँछन्।
फूलखेतीका लागि तीनवटा ग्रीन हाउसहरू छन्, जसमा दुईवटा सिक्किम सरकार र एउटा आईसीएआर-एनआरसीओले दिएको अनुराधा बताउँछिन्। जसमा १६X१०० फीट, 8०X१६ फीट र अर्को सानो १६X५० फीटको ग्रीन हाउस छन्। यसमा दुईवटा ग्रीन हाउस हाइटेक रहेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘‘हाम्रो ग्रीन टोन को-ओपरेटिभ सोसाइटी छ। सोसाइटीका एक एकजनालाई आईसीएआरले दिएको छ।’’ सिक्किम सरकारको फ्लोरिकल्चर विभागले भर्खरै दुई सय पचासवटा सिम्बिडियन अर्किडका बिरुवाहरू दिएको उनी बताउँछिन्। उनका अनुसार, विभागले औषधीहरू, स्प्रेहरू पनि उपलब्ध गराउँछ।
अनुराधा खेतीमा कहिले बिहान, कहिले दिउँसो काम गर्छिन् र भन्छिन्, ‘‘कहिले घाम लाग्दा, पानी बेसी पर्दा अलिक साह्रो पर्छ।’’ फूलखेतीका लागि जैविक मल पनि किन्छिन् र पत्करहरू खोजेर आफै पनि बनाउँछिन्। सागसब्जीको खेती पूर्ण रुपले जैविक प्रणालीमा रहेको छ। घरमा एउटा दुना गाई र बाछा पालेकी छिन्। सागसब्जीको खेतीका लागि गाईको मल तयार गर्छिन्। अनुराधाकी श्रीमान हरिप्रसाद छेत्रीले गाईको हेरचाह गर्छन्। सिक्किमको कृषि विभागले खेतका लागि पावर टिलर दिएको उनी बताउँछिन्। दुईजना छोरी बिहे भइसकेकी छिन् भने एउटा छोरा नोकरी गर्छन् र बिहे गरिसकेका छन्, अर्का सानो छोरा छन्। खेतीपतीबाट नै सुचारु रुपमा जीवीकोपार्जन गर्नसकेको उनी बताउँछिन्। गुन्द्रुक, सिन्की बनाएर बिक्री गर्छिन्।
गाईको दुध को-ओपरेटिभ सोसाइटीले संचालन गर्ने डेरीमा दिन्छिन्। डेरीबाट दुध बिक्रीको पैसा साथै बोनस पनि पाउने उनी बताउँछिन्। उनी भन्छिन्, ‘‘यहाँ सिक्किममा नयाँ सरकारको योजना राम्रो छ।’’
‘‘खेतीपातीको लागि पर्यावरण राम्रो हुनुपर्छ, र वन-जंगलको आवश्यकता पर्छ’’, अनुराधा भन्छिन्। उनको खेतबारीको वरिपरी रुखपातहरू प्रशस्तै छन्। उनको बारीमा हिउँदका बेलामा खाने फल सानो किसिमको पम्सी पनि फल्छ। अलैंचीको खेतीबारे उनी भन्छिन्, ‘‘अलैंची पहिला थियो, तर रोग लागेर सबै मास्सियो।’’
सन् २०१६ मा सिक्किमलाई भारतको पहिलो जैविक राज्य घोषणा गर्न प्रधानमन्त्री नरेन्द्र मोदी सिक्किम आगमन हुँदा अनुराधाले पनि भेट गर्ने अवसर पाएकी थिइन्। व्यक्तिगत रुपमा फूलखेती गर्नेहरूको विकासको लागि ग्रीन जोन को-ओपरेटिभ सोसाइटी रहेको उनी बताउँछिन्। फूलखेती-सागसब्जीको खेती गर्न उनले निक्कै संघर्ष र कड़ा चुनौतीहरूको सामना गरेकी छिन्। कहिले आर्थिक, कहिले प्रतिकूल मौसम, कहिले बजार व्यवस्था, कहिले मानव संशाधनको चुनौतीहरूलाई चिर्दै अघि ब़ढ़ेकी हुन्। ‘‘कहिले हुरी-बतासले, कहिले असिनाले बिगार्दा भोग्नुपर्छ। हरेश त लाग्छ, तर पनि नगरी चित्त बुझ्दैन- नगरी उपाय पनि छैन। कहिलेकाहीँको यो प्रकृतिको खेल हो भनेर चित्त बुझाउनुपर्छ’’, उनी भन्छिन्। खेतीपाती मात्रै होइन अनुराधाले मौरी पनि पाल्छिन्। यसबारेमा भन्छिन्, ‘यसपाली मौरी सबै मर्यो, के कारणले केही बुझ्न सकिएन। गाउँतिर पनि यसपाली मौरी मर्यो।’’
प्रगतिशील खेती साथै महिला कृषि उद्यमी हुन् अनुराधा। सन् २०१६ मा कृषि क्षेत्रको प्रतिष्ठित पुरस्कार ‘पण्डित दीनदयाल उपाध्याय अन्त्योदय कृषि पुरस्कार’ले सम्मानित भइन्। उनी भन्छिन्, ‘‘खेतीपातीबाट कुनै दिन पुरस्कार पाउँछु भन्ने सोचेकी थिइनँ। यसले अझ बढ़ी प्रेरणा पाएँ।’’
खेतीपातीलाई दुखिया काम भन्ने समाजको एक कुनामा एउटा गलत धारणा अझ पनि छ। अनुराधा खेतीपातीमा पूर्ण रुपमा सन्तुष्ट रहेको बताउँदै भन्छिन्, ‘‘खेतीपाती आफ्नो समय निकालेर एकछिन् बस्छु, आज घुम्नु जान्छु, आज यो काम राख्छु भनेर गर्दा पनि हुन्छ। खेतीपातीमा फाइदै फाइदा छ। अहिले हामीले सब्जीहरू बजारबाट किनेर खानु पर्दैन, शुद्ध जैविक सब्जी खान पाइन्छ। मलाई बारी खाली राख्न मन पर्दैन।’’ उनी अझ भन्छिन्, ‘‘खेतीपाती हेर्दा त दु:ख लाग्दो दुखिया देखिन्छ, तर शरीर जहिले पनि फुर्तिलो फिट हुँदो रहेछ।’’ खेतीपातीकै कार्यक्रमको सिलसिलामा सरकारको तर्फबाट उनी भारतका महानगरहरू पुणे, हैदरावाद, कलकतातिर पुगेकी छिन्।
अनुराधा छेत्रीले मेहनत, लगन र कृषिप्रतिको समर्पणका बलमा खेतीपातीलाई नै सफल जीवनको आधार बनाएकी छन्। थुप्रै चुनौतीका बीच उनले जैविक कृषि र फूलखेतीमार्फत प्रेरणादायी उदाहरण प्रस्तुत गर्दै कृषिलाई सम्मानित र आत्मनिर्भर पेशाका रूपमा स्थापित गरेकी छन्।










