पहाडका लागि गर्वको खबर आएको छ। कालेबुङ का विधायक (MLA) तथा भारतीय राष्ट्रिय हक्की टोलीका पूर्व कप्तान भरत कुमार छेत्रीलाई पश्चिम बंगाल सरकारद्वारा पुनर्गठित West Bengal State Council for School Games & Sports को उपाध्यक्ष (Vice President) पदमा नियुक्त गरिएको छ।
पश्चिम बंगाल सरकारको विद्यालय शिक्षा विभागले जारी गरेको अधिसूचनाअनुसार विद्यालयस्तरीय खेलकुद, प्रतिभा छनोट, प्रशिक्षण शिविर सञ्चालन, राज्य तथा राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिताको योजना, व्यवस्थापन र समन्वय गर्ने उद्देश्यले परिषद्को पुनर्गठन गरिएको हो। यस परिषद्मा भरत कुमार छेत्रीलाई उपाध्यक्षको महत्वपूर्ण जिम्मेवारी दिइएको छ।
भारतीय हक्की टोलीका सफल पूर्व कप्तान तथा हाल कालेबुङ का विधायक रहेका भरत कुमार छेत्रीको यो नियुक्तिले दार्जीलिङ, कालेबुङ, खरसाङ र मिरिकका युवा खेलाडीहरूका लागि नयाँ अवसर र प्रेरणा थप्ने विश्वास गरिएको छ। विद्यालयस्तरबाटै खेल प्रतिभाको विकास, प्रशिक्षण र राष्ट्रिय स्तरसम्म पुग्ने वातावरण निर्माणमा उहाँको अनुभव महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
भरत कुमार छेत्रीले खेल जीवनमा भारतलाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाएका छन्। अब राज्यस्तरको विद्यालय खेलकुद विकासको जिम्मेवारी पाउँदै उहाँले पश्चिम बंगालका साथै पहाड क्षेत्रका उदीयमान खेलाडीहरूको भविष्य निर्माणमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ। यो पदमा नियुक्त भएकोमा पहाडभरिका खेलाडीहरूले सरकारले सटीक मानिसलाई उक्त पदमा नियुक्त गरेको बताएका छन्। उनीहरूले पहाडे खेलाडीहरूले प्रत्येक खेलमा आफ्नोे सीप देखाउने मौका पाउने अपेक्षा गरेका छन्।













