Bharatiya Gorkha Parishangh Annual Meeting
Bharatiya Gorkha Parishangh Annual Meeting

८२औँ बलिदान दिवसः बहुजातीय कलाकारद्वारा ‘गोर्खा जागरण गीत’ गाइने

Share this news

भारतीय गोर्खा परिसंघको ७औँ त्रैवार्षिक अधिवेसन तथा रजत जयन्ती समारोहको तयारी तीव्र गतिमा भइरहेको छ। भारतीय गोर्खा परिसंघको ७औँ त्रैवार्षिक अधिवेशन तथा रजत जयन्ती समारोह आगामी २४–२५ अगस्ट २०२६ मा उत्तर लखीमपुरको असम साहित्य भवन र जिल्ला पुस्तकालय प्रेक्षागृहमा भव्य रूपमा आयोजना हुने तयारी तीव्र गतिमा अघि बढिरहेको छ। यसै सन्दर्भमा आइतबार उत्तर लखीमपुरको सी.डी. रोडस्थित काञ्चनजङ्घा इन होटलको सम्मेलन कक्षमा स्वागतकारिणी समितिसँगै भारतीय गोर्खा परिसंघ, असम राज्य समिति, आयोजक लखीमपुर जिल्ला समिति तथा धेमाजी जिल्ला समितिको संयुक्त समीक्षा बैठक सम्पन्न भयो। बैठकको अध्यक्षता स्वागतकारिणी समितिका अध्यक्ष श्री किशोर कार्कीले गर्नुभएको थियो भने सञ्चालन स्वागत समितिका मुख्य मूलसचिव श्री दिलीराम ढकालले गर्नुभएको थियो।

बैठकले सर्वसम्मत रूपमा रजत जयन्ती स्मारिका (Conference Souvenir) प्रकाशन गर्ने निर्णय गरेको छ। स्मारिकाको प्रधान सम्पादकका रूपमा असम नेपाली साहित्य सभाको लखीमपुर जिल्ला समितिका अध्यक्ष श्री धर्मेन्द्र उपाध्यायलाई चयन गरिएको छ साथै एक प्रकाशन समिति गठन गरियो। उक्त स्मारिकाको सम्पूर्ण प्रकाशन खर्च गोगामुखस्थित ज्ञानज्योति एकेडेमी (CBSE Residential School) ले व्यहोर्ने घोषणा विद्यालयका प्राचार्य तथा भारतीय गोर्खा परिसंघ, असम राज्य समितिका वरिष्ठ उपाध्यक्ष श्री खेम प्रधानले गर्नुभयो। विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्दै भारतीय गोर्खा कामी उन्नयन परिषद्, असम राज्य समितिका अध्यक्ष तथा युवा उद्यमी श्री छनवीर सोनारले भारतीय गोर्खा परिसंघले समाजका लागि गरिरहेको योगदानको उच्च प्रशंसा गर्नुभयो। उहाँले यस अधिवेसन मार्फत नवनिर्वाचित हुने नेतृत्वलाई शिक्षा, महिला सशक्तीकरण तथा सीप र कौशल विकासलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो। साथै कामी समुदायका चार जना योग्य विद्यार्थीलाई नयाँ दिल्लीमा UPSC कोचिङका लागि पूर्ण प्रायोजन गर्दै गरेको व्योरा साझा गर्दै भा गो पको रजत जयन्ती समारोहको सफलताका लागि आफ्नो पूर्ण आर्थिक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसै अवसरमा भारतीय गोर्खा परिसंघ, लखीमपुर जिल्ला समितिका हालै निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार श्री गोविन विश्वकर्माले परिसंघको आधिकारिक अन्थेम ‘गोर्खा जागरण गीत’ को पूर्व-उत्पादन, उत्पादन तथा पश्चात्-उत्पादनसम्बन्धी सम्पूर्ण खर्च आफूले व्यहोर्ने घोषणा गर्नुभयो। बहुजातीय कलाकारहरूको सहभागितामा मौलिक तथा परम्परागत वाद्ययन्त्रहरूको प्रयोगसहित तयार गरिने उक्त गीत भारतीय गोर्खा परिसंघको आधिकारिक YouTube च्यानल तथा www.bharatiyagorkhaparisangh.com वेबसाइटमार्फत सार्वजनिक गरिनेछ। श्री गोविन विश्वकर्मा भारतीय गोर्खा परिसंघ, असम राज्य समितिको तर्फबाट स्वागतकारिणी समितिका संयोजकका रूपमा पनि कार्यरत हुनुहुन्छ भने श्रीखेम प्रधान प्रमुख संयोजकको जिम्मेवारीमा हुनुहुन्छ।

बैठकका क्रममा भारतीय गोर्खा परिसंघ, असम राज्य समितिका अध्यक्ष श्री अमर अधिकारीले अधिवेसनको आधिकारिक पोस्टर सार्वजनिक गर्नुभयो। त्यसैगरी गोर्खा विकास परिषद्, असम सरकारका कार्यकारी सदस्य श्री राजु तामाङले सहयोग रसिद पुस्तिका (Contribution Receipt Book) विमोचन गर्नुभयो भने भारतीय गोर्खा परिसंघ, असम राज्य समितिका मूलसचिव श्रीनन्द किराती देवानले अपिल तथा निमन्त्रणा पत्र (Appeal-cum-Invitation Letter) सार्वजनिक गर्नुभयो।

स्वागतकारिणी समितिको कार्यकारी अध्यक्ष (प्रशासन) को जिम्मेवारी सम्हाल्दै श्रीराजु तामाङले सम्मेलनलाई सफल बनाउन व्यक्तिगत, साङ्गठनिक तथा प्रशासनिक सबै प्रकारको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै गोर्खा विकास परिषद्, असम सरकारका अध्यक्ष श्री प्रेम तामाङको कार्यक्रममा सहभागिताका लागि सहमति प्राप्त भइसकेको जानकारी दिँदै माननीय मन्त्री, सांसद तथा विधायकहरूको उपस्थिति सुनिश्चित गर्न आवश्यक समन्वय गरिने विश्वास दिलाउनुभयो।

बैठकलाई सम्बोधन गर्दै भारतीय गोर्खा परिसंघ, असम राज्य समितिका अध्यक्ष श्री अमर अधिकारीले अधिवेसनको प्रतिनिधि सत्र (Delegates’ Session) सम्बन्धी सम्पूर्ण व्यवस्थापनको खर्चको जिम्मेवारी असम राज्य समितिले वहन गर्ने जानकारी दिनुभयो। उहाँका अनुसार प्रतिनिधिहरूका लागि डेलिगेट किट ब्याग कलम नोटप्याड, राज्य समिति द्वारा गरिने सम्मान तथा अभिनन्दन कार्यक्रमको मेमेन्टो, सर्टिफिकेट फ्रेम, खडा माला आदि, मुख्य मञ्चको पृष्ठभूमि को ब्यानर तथा भारतीय गोर्खा परिसंघका सिद्धान्तहरू समेटिएका पोस्टरहरूको व्यवस्थापन राज्य समितिले गर्नेछ। उहाँले भारतीय गोर्खा परिसंघको आधिकारिक मुखपत्र ‘रैथाने’ को रजत जयन्ती विशेषाङ्क को एक हजार प्रति प्रकाशनको सम्पूर्ण खर्च पनि असम राज्य समितिले व्यहोर्ने जानकारी दिँदै उक्त विशेषाङ्क २५ अगस्ट २०२६ को खुला सत्र मा औपचारिक रूपमा विमोचन गरिने घोषणा गर्नुभयो।

यस अवसरमा भारतीय गोर्खा परिसंघ, असम राज्य समितिका मूलसचिव श्रीनन्द किराती देवानले अधिवेसनको तयारी, विभिन्न समितिहरूको कार्यप्रगति तथा निर्धारित समयसीमाअनुसार सम्पन्न गर्नुपर्ने कार्यहरूको विस्तृत जानकारी प्रस्तुत गर्नुभयो। उहाँले आयोजक लखीमपुर तथा धेमाजी जिल्ला समितिलाई स्वागतकारिणी समितिको तर्फबाट जिम्मेवारीपूर्वक कार्य गर्दै दुवै जिल्लाका सम्पूर्ण जनसमुदायको सक्रिय सहभागिता र सहयोगका साथ यस ऐतिहासिक सम्मेलनलाई सफल बनाउन आह्वान गर्नुभयो। श्री देवानले सम्मेलनका लागि प्रकाशित अपिल तथा निमन्त्रणा पत्रलाई प्रत्येक व्यक्तिले गम्भीरतापूर्वक अध्ययन गर्न आग्रह गर्दै भारतीय गोर्खा परिसंघबारे थप जानकारीका लागि Google मा Bharatiya Gorkha Parisangh खोज्न वा संस्थाको आधिकारिक वेबसाइट www.bharatiyagorkhaparisangh.com अवलोकन गर्न अनुरोध गर्नुभयो।

उहाँले जानकारी गराएअनुसार उक्त अपिल सहितको निमन्त्रणा पत्रमा भारतीय गोर्खा परिसंघको गौरवपूर्ण इतिहासलाई समेटिएको छ। यसमा National Gorkha Federation (NGF) देखि भारतीय गोर्खा परिसंघको (BGP) स्थापना, सिक्किमका पूर्व लोकसभा सांसद , नेपाली भाषा सेनानी तथा भा गो प को संस्थापक राष्ट्रिय अध्यक्ष श्रीमती दिलकुमारी भण्डारीको नेतृत्वदेखि वर्तमान राष्ट्रिय अध्यक्ष श्री नित्यानन्द उपाध्यायसम्मको संस्थागत यात्रालाई समावेश गरिएको छ।।यसैगरी असममा भारतीय गोर्खा परिसंघको स्थापना र विकासमा पद्मश्री तथा साहित्य अकादेमी पुरस्कारबाट सम्मानित संस्थापक अध्यक्ष श्रीमती गीता उपाध्याय, मूल सचिवश्री प्रवीण राई लगायतका संस्थापक नेतृत्वदेखि वर्तमान अध्यक्ष श्री अमर अधिकारी र मूलसचिव श्रीनन्द किराती देवानको नेतृत्वसम्मको निरन्तर, समर्पित तथा समुदायमुखी सेवायात्रालाई पनि अपिल पत्रमा समेटिएको छ।

श्री देवानले अपिल पत्रले भारतीय गोर्खा परिसंघद्वारा सञ्चालन गरिएका ऐतिहासिक अभियानहरू विशेषतः अमर शहीद मेजर दुर्गा मल्लको सालिक भारतको संसद् परिसर, दार्जिलिङ, कालिम्पोङ, दिमा हासाओ, कार्बी आङ्लोङ लगायत देशका विभिन्न स्थानहरूमा स्थापना गराउन गरिएको लामो संघर्ष लाई पनि स्मरण गराएको उल्लेख गर्नुभयो। उहाँले स्वागत समितिलाई उक्त अपिल तथा निमन्त्रणा पत्र असमिया, नेपाली र अङ्ग्रेजी तीनै भाषामा प्रकाशन गर्न आग्रह गर्नुभयो, जसबाट समाजका सबै वर्गसम्म संस्थाको इतिहास, उद्देश्य र सेवायात्रा प्रभावकारी रूपमा पुर्‍याउन सकिने विश्वास व्यक्त गर्नुभयो।

आफ्नो सम्बोधनका क्रममा श्रीनन्द किराती देवानले अपिल तथा निमन्त्रणा पत्रमा हालै भारत निर्वाचन आयोग तथा असम सरकारद्वारा अधिसूचित विदेशी न्यायाधिकरण (Foreigners Tribunal) बाट उत्पन्न D-Voter सम्बन्धी त्रुटि सच्याउने मानक कार्य सञ्चालन प्रक्रिया (Standard Operating Procedure – SOP) सम्बन्धी महत्त्वपूर्ण जानकारी पनि समावेश गरिएको बताउनुभयो। उहाँका अनुसार D-Voter सच्याउन आवश्यक आवेदन फारामहरू भारतीय गोर्खा परिसंघका जिल्ला समितिहरूमार्फत उपलब्ध गराइएका छन्। सम्बन्धित विवरणको यथोचित प्रमाणीकरणपछि तोकिएका गोर्खा नागरिक समाज (Gorkha Civil Society Organisations) का अधिकृत पदाधिकारीहरूले आफ्नो आधिकारिक छापसहित आवेदनमा प्रतिहस्ताक्षर (Countersign) गर्न सक्ने व्यवस्था गरिएको छ। यसले लामो समयदेखि D-Voter समस्याबाट प्रभावित गोर्खा समुदायका नागरिकहरूलाई कानुनी तथा प्रशासनिक प्रक्रियामा उल्लेखनीय सहजता प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

बैठकमा स्वागतकारिणी समितिका मुख्य मूलसचिव श्रीदिलीराम ढकालले स्वागतकारिणी समितिको हालसम्मको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। त्यसपछि स्वागतकारिणी समितिका अध्यक्ष अधिवक्ता किशोर कार्कीले आगामी कार्ययोजना (Roadmap) प्रस्तुत गर्दै विभिन्न विभागीय समितिहरूलाई कोष विनियोजनका लागि आवश्यक बजेट तयारी शीघ्र सम्पन्न गर्न निर्देशन दिनुभयो। उहाँले भारतीय गोर्खा परिसंघका लखीमपुर तथा धेमाजी जिल्ला समितिलाई स्वागतकारिणी समितिसँग घनिष्ठ समन्वय कायम गर्दै अधिवेसनको सफल आयोजनाका लागि आवश्यक आर्थिक स्रोत परिचालन (Fund Raising) अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन आग्रह गर्नुभयो। अन्त्यमा श्री कार्कीले लखीमपुर जिल्लाका सम्पूर्ण शुभेच्छुक, सामाजिक संघसंस्था, उद्यमी, व्यवसायी तथा सर्वसाधारणलाई भारतीय गोर्खा परिसंघको ७औँ त्रैवार्षिक अधिवेसन, रजत जयन्ती समारोह तथा राज्यस्तरीय ८२औँ अमर शहीद मेजर दुर्गा मल्ल बलिदान दिवसलाई ऐतिहासिक, भव्य तथा सफल बनाउन तन, मन र धनबाट सक्रिय सहयोग तथा सहभागिता जनाइदिन हार्दिक अपिल गर्नुभयो।

बैठकमा उपस्थित सबै वक्ताहरूले भारतीय गोर्खा परिसंघको रजत जयन्ती वर्ष केवल उत्सवको अवसर मात्र नभई संगठनको विगत २५ वर्षको समाजसेवा, संगठन विस्तार, गोर्खा समुदायको संवैधानिक अधिकार संरक्षण तथा राष्ट्रिय एकताको यात्राको पुनःस्मरण गर्ने ऐतिहासिक अवसर भएको धारणा व्यक्त गरे। साथै आगामी अधिवेसन लाई साङ्गठनिक दृष्टिले नयाँ दिशा प्रदान गर्ने ऐतिहासिक सम्मेलनका रूपमा सफल बनाउन सम्पूर्ण गोर्खा समाज, विभिन्न सामाजिक–सांस्कृतिक संस्थाहरू तथा सर्वसाधारणलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।

बैठकमा स्वागत समितिका मूलसचिव (प्रशासन) श्री मनोज क्षेत्री, कोषाध्यक्ष श्री लोकबहादुर क्षेत्री, वित्त सचिव श्री श्याम क्षेत्री, वरिष्ठ सल्लाहकार तथा आजीवन सदस्य वरिष्ठ नागरिक श्री डम्बर रिजाल, भारतीय गोर्खा परिसंघ, लखीमपुर जिल्ला समितिका संस्थापक कार्यकारी अध्यक्ष वर्तमान वरिष्ठ नागरिक श्री तुलसी उपाध्याय भारतीय गोर्खा परिसंघ, धेमाजी जिल्ला समितिका अध्यक्ष श्री सोमनाथ शर्मा, प्रमुख सल्लाहकार श्री गणेश विश्वकर्मा, भारतीय गोर्खा कामी उन्नयन परिषद्का उपाध्यक्ष श्री शान्ति विश्वकर्मा, भारतीय गोर्खा परिसंघ, लखीमपुर जिल्ला समितिका अध्यक्ष श्री राजेन क्षेत्री, कार्यकारी अध्यक्ष श्री खगेन भण्डारी, वरिष्ठ उपाध्यक्ष सुबेदार मेजर (सेवानिवृत्त) गोपाल लिम्बू, उपाध्यक्ष श्री दुर्गा डाँगी, महासचिव श्री हेमचन्द्र क्षेत्री तथा लखीमपुर र धेमाजी जिल्ला समितिका पदाधिकारी एवं कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकको अन्त्यमा स्वागत समितिले आगामी २४–२५ अगस्ट २०२६ मा उत्तर लखीमपुरमा आयोजना हुने भारतीय गोर्खा परिसंघको ७औँ त्रैवार्षिक राज्यिक अधिवेसन, रजत जयन्ती समारोह तथा राज्यस्तरीय ८२औँ अमर शहीद मेजर दुर्गा मल्ल बलिदान दिवसलाई भव्य, सभ्य, अनुशासित र ऐतिहासिक रूपमा सम्पन्न गर्न सम्पूर्ण समाजको सहयोग, सहभागिता र आशीर्वादको अपेक्षा गरेको छ।


Share this news
आजको रोजाइ
सोम तकभर समष्टि नारी – युवा जनशक्ति फ्रण्टको सांगठनिक सभा सम्पन्न

सोम तकभर समष्टि नारी – युवा जनशक्ति फ्रण्टको सांगठनिक सभा सम्पन्न

फिलोबारीमा असम खस महासभाको १०औं केन्द्रीय प्रतिष्ठा दिवस पालन

फिलोबारीमा असम खस महासभाको १०औं केन्द्रीय प्रतिष्ठा दिवस पालन

विम्बल्डनको पुरुष एकलमा लगातार दोस्रोपल्ट च्याम्पियन बने यानिक सिनर

विम्बल्डनको पुरुष एकलमा लगातार दोस्रोपल्ट च्याम्पियन बने यानिक सिनर

ब्ल्याक होलहरू ब्रह्माण्डका सबैभन्दा विनाशकारी वस्तुहरू मध्ये एक

ब्ल्याक होलहरू ब्रह्माण्डका सबैभन्दा विनाशकारी वस्तुहरू मध्ये एक

भारतको सबैभन्दा लोकप्रिय भ्लगरले E20 पेट्रोलको आलोचना गरे

भारतको सबैभन्दा लोकप्रिय भ्लगरले E20 पेट्रोलको आलोचना गरे

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीमा सांसद बिष्ट

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीमा सांसद बिष्ट

कच्चा तेल र ग्यासको बढ्दो मूल्यले बढायो लगानीकर्ताहरूको चिन्ता

कच्चा तेल र ग्यासको बढ्दो मूल्यले बढायो लगानीकर्ताहरूको चिन्ता

गजिङकाे सार्वजनिक भवनमा २१२औं भानु जयन्ती समारोह सम्पन्न

गजिङकाे सार्वजनिक भवनमा २१२औं भानु जयन्ती समारोह सम्पन्न

समाधान बन्दुक र बन्दबाट होइन, संवादले सम्भव छ: सञ्जीब सुवेदी 

समाधान बन्दुक र बन्दबाट होइन, संवादले सम्भव छ: सञ्जीब सुवेदी 

मजुवामा कृषि बन्धुको जाँच प्रमाणिक शिविर

मजुवामा कृषि बन्धुको जाँच प्रमाणिक शिविर

आजको रोजाइ