स्पेनले बेल्जियमलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। खेलको अन्त्यतिर वैकल्पिक खेलाडी मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई रोमाञ्चक जित दिलाए। स्पेनले खेलको सुरुआतमै फाबियान रुइजको गोलमार्फत अग्रता बनाएको थियो। तर बेल्जियमका चार्ल्स डे केटेलेरेले केही समयपछि बराबरी गोल फर्काउँदै खेललाई प्रतिस्पर्धात्मक बनाए। त्यसपछि दुवै टोलीले लगातार आक्रमण गरे पनि निर्धारित समय सकिनै लाग्दा स्पेनका प्रशिक्षक लुइस दे ला फुएन्तेले मैदान छिराएका मिकेल मेरिनोले ८८औं मिनेटमा अवसरको सदुपयोग गर्दै विजयी गोल गरे। यो विश्वकपको नकआउट चरणमा मेरिनोको अर्को निर्णायक प्रदर्शन बनेको छ। बेन्चबाट मैदान छिरेपछि खेलको नतिजा बदल्ने उनको क्षमताले स्पेनलाई लगातार सफलता दिलाइरहेको छ। प्रशिक्षक दे ला फुएन्तेले टोलीमा रहेका सबै खेलाडीको योगदान समान रूपमा महत्त्वपूर्ण रहेको भन्दै आफ्नो टोलीको गहिराइ र एकताले सफलता दिलाएको प्रतिक्रिया दिएका छन्। यस हारसँगै बेल्जियमको विश्वकप यात्रा क्वार्टरफाइनलमै समाप्त भएको छ। उत्कृष्ट प्रदर्शन गरेका गोलरक्षक थिबाउट कोर्टुवाले टोली बाहिरिएपछि भावुक हुँदै मैदान छाडेका थिए।स्पेनले अब सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। साथै, बेल्जियममाथिको यस जितसँगै स्पेनले अर्जेन्टिनाको लगातार ३६ खेल अपराजित रहने कीर्तिमानको बराबरी पनि गरेको छ।











