बत्तीको फेदमा अँध्यारो” भने जस्तै केही मान्छेहरू एउटा जीवन्त इतिहास बोकेर हाम्रै वरिपरि हिँडिरहेका हुन्छन् तर हामी बेखबर बन्छौँ । हो हिजो आज मलाई यही उक्ति चरितार्थ भएको अनुभव भइरहेको छ। नेपाली संगीताकाशका एक देदीप्यमान नक्षत्र हाम्रै सेरोफेरोमा हुनुहुन्थ्यो तर बिडम्बना! उहाँको अतुलनीय योगदान र उचाईंलाई मैले नजिकबाट चिन्न भने निकै ढिलो गरें। केही दिन अघि मात्र भारतीय नेपाली इसाई स्रष्टाहरूको साझा मन्च “स्रष्टा संगम” को छैटौँ बार्षिक सम्मेलनमा उहाँसँग भेट हुँदा उहाँको यो अभिनन्दन ग्रन्थ ‘पहराको फूल’ उपहारस्वरूप प्रदान गर्नुभयो। त्यही ग्रन्थ नै मेरा लागि उहाँको सम्पूर्ण परिचय र नेपाली संगीत जगतमा उहाँले पुर्याउनु भएको अमूल्य योगदान बारेमा बुझ्ने आँखीझ्याल बन्यो।
उहाँको हातबाट प्राप्त यस अमूल्य ग्रन्थ पहराको फूल पढेपछि मनमा उब्जिएका आफ्ना बिचारहरु हजुरहरु समक्ष बाँड्ने अनुमति चाहन्छु। हाम्रो समाजमा स्रष्टाको अवसान पछि मात्रै उनको योगदानको बिषयमा चर्चा परिचर्चा गरेर रोइलो गर्ने दुखद परम्परा छ तर राम बिष्ट सर यो मामिलामा निकै आशिषित् हुनुहुन्छ,जसले आफू जीवित छँदै आफ्ना सचेत प्रशंसक र शुभेच्छुकहरुबाट यो अभिनन्दन् ग्रन्थ प्राप्त गर्ने सुअवसर प्राप्त गर्नुभयो। यस्तो गौरव बिरलै साधकहरूको जिन्दगीमा मात्र जुर्ने गर्छ।
गुरू दीक्षा अनि उनको सिक्ने भोक र बिनम्रता – कुनै पनि स्रष्टा तब मात्र महान बन्न सक्छ,जब ऊभित्र आजीवन एउटा बिध्यार्थी जीवित रहन्छ राम बिष्ट सरको सांगीतिक उचाईको पहिलो र मुख्य कड़ी नै उहाँको बिनम्रता र सिक्ने तिब्र चाहना हो। नेपाली संगीत जगतका धरोहर श्री मणिकमल क्षेत्री र श्री बसन्त क्षेत्रीज्यू जस्ता दिग्गज गुरूवरहरूको चरणमा बसेर संगीतको कखरा सिक्ने अवसर प्राप्त गर्नुभयो। आफूलाई पूर्ण समर्पित गर्दै, उहाँहरुका अगाडि बिनम्र भएर सांगीतिक ज्ञानको भोक मेटाउनु नै उहाँको सफलताको रहस्य हो।
यो ग्रन्थको सबैभन्दा सुन्दर र मलाई निकै छोएको पक्ष के हो भने, उहाँले नेपाली संगीत जगतका दिग्गज गुरूवरहरू श्रद्धेय मणिकमल क्षेत्री अनि बसन्त क्षेत्रीज्यूबाट पनि यस अभिनन्दन ग्रन्थमा आशिर्वाद बचन प्राप्त गर्नुभएको रहेछ। संगीतको एउटा कालखण्ड निर्माण गर्ने गुरूहरुबाट आफ्नै चेलाको अभिनन्दन ग्रन्थमा आशिर्वाद पाउनु जस्तो सौभाग्य र सम्पत्ति एउटा कलाकारको निम्ति अरू के हुन सक्छ र ?
एकजना सफल सर्जकलाई सफलताको शिखरमा पुर्याउन धेरै शुभचिन्तकहरूको साथ र हात रहेको हुन्छ। यसर्थ उहाँको बाल्यकालका अर्को संगीत गुरू स्व – मणिराम राई ( पुबोंग बस्ती ) को नाम लिन उहाँ कहिल्यै बिर्सनुहुन्न, जसले उहाँलाई आफ्नो घरमा बोलाएर संगीतको सबै साजबाजहरू उपलब्ध गराएर उनको सांगीतिक यात्रामा ताते गर्न सिकाएका थिए।
सर राम बिष्टले नै संगीतबद्ध गर्नुभएको अनि उनको आफ्नै स्वरमा सजिएको एउटा सुन्दर गीत, जुन गीतको रचनाकार हुनुहुन्छ श्री चन्द्र कुमार गुरुङ, हजुरहरुले पनि यूट्युबमा खोजेर सुन्नुहोला।
सधैँको निम्ति ओझल भयौँ
संझनामा सधैँ किन रूवायौंं
स्मृति भन कि तिलान्जली
यो आँशु तिमीलाई श्रद्धाञ्जली
मृत्यु एउटा कटु सत्य, जसलाई सबैले आत्मसात गर्नैपर्ने भए तापनि जसहरूले जीन्दगीमा आफ्ना प्रियहरू गुमाएका हुन्छन्,यस्ता गीतहरु सुन्दा मन नबिथोलिने मानिस शायद बिरलै पाइएला।
यो गीत सुन्दै गर्दा मलाई जगजीत सिंह जी को एउटा गजल याद आयो,
चिठ्ठी न कोई सन्देश
जाने वो कौनसा देश
जहां तुम चले गये
राम बिष्ट सरको अर्को एउटा कालजयी गीत-
बल्झियो चोट पुरानो
तिमीलाई देखेर
आँसुले लेखेको माया
हुँदैन मेटेर।
यो गीतको रचना, संगीत अनि स्वर सबै उनकै हुन्। यसर्थ यो गीत सुन्दा लाग्छ, शायद गीतका प्रमुख पात्र उनी स्वयं हुन्। किनभने युवावस्थामा कसैप्रति प्रेम भावना जागृत हुनु स्वाभाविक कुरा नै हो। त्यो बेला उनका पनि आफ्नै कति चाहना र इच्छाहरू थिए होलान्। हाम्रो मानवीय इच्छा आकांक्षाहरू पुरा नहुँदा हामी कतिचोटी निराश बन्छौँ, आफैलाई धिक्कार्ने गर्छौँ तर हाम्रा चाहना र इच्छाहरू हाम्रो आफ्नै दृष्टिकोणमा उत्तम होला तर जीन्दगीको उत्तरार्धमा आएपछि हामीलाई थाहा हुन्छ कि हामीले हाम्रो सृष्टिकर्ताबाट जे प्राप्त गरेका छौँ, त्यो नै मेरा निम्ति सर्वोत्तम कुरा रहेछ भनेर।
उहाँको गीत अनि संगीतको बिशेषता:
हिजो आज पाश्चात्य संगीतरूपी अजिंगरले हाम्रो भावी पीढीलाई खर्लप्पै निल्दै लगिरहेको अवस्थामा म उहाँको संगीतमा आफ्नो माटोको सुगन्ध पाउने गर्छु।
साँच्चै भन्नुपर्दा म संगीतको ‘स’नजान्ने मान्छे तर म भारतीय नागरिक भएको कारण मलाई आफ्नै देशको साजबाज र संगीत प्रिय लाग्छ, ती गीतहरू सुन्दा म आफूलाई त्यहाँ भेट्टाउने गर्छु। ती गीतहरूले मेरा आफ्नै कथा व्यथाहरु भनिदिए जस्तो लाग्छ।
भनिन्छ, रक म्यूजिकको उद्गम स्थल संयुक्त राज्य अमेरिका ( USA ) हो अनि १९५० मा यो बिकास भएको हो। यसको प्रमुख उदेश्य भनेको परम्परागत सामाजिक नियमहरूलाई चुनौती दिनु र व्यक्तिगत स्वतन्त्रताको वकालत गर्दै जोश, आक्रोश र वितृष्णालाई संगीतको माध्यमबाट प्रस्फुटन गर्न हो।
शायद यसैले होला हिजो आज कतिपय मण्डली भवनभित्र पनि कर्कश आवाजमा,
यो त केही पनि होइन
अझ कति गर्न सक्छु म
तिमीलाई के मनपर्छ, के मन पर्दैन।
नसुना! नसुना!! नसुना!!! भन्दै चिच्चाई रहँदा लाग्छ मानौँ हामी त्यहाँ परमेश्वरको आराधनामा लीन भएको होइन तर कुनै राजनीतिक बिपक्षी दलको बिरोध जुलुसमा आफ्नो आक्रोश व्यक्त गर्दै हातमा झण्डा लिएर हिँडिरहेका छौँ।
मलाई अनि हामी सबैलाई मनपर्ने उहाँद्वारा संगीतबद्ध गरिएका एउटा सुमधुर मर्मस्पर्शी गीत, जसको रचनाकार हुनुहुन्छ श्री राज भट्टराई अनि चर्चित गायक श्री एल बी बराईलीले आफ्नो मिठो आवाजमा गाउनुभएको गीत, हजुरहरुले पनि यूट्युबमा खोजेर सुन्नुहोला।
मेरो पौवा, मेरो पौवा
जहाँ म निको हुन्छु
खोजेको मलहम
जहाँ म पाउँछु
म जान्छु अब त्यो घरमा
जहाँ म प्रेम पाउँछु
मेरो आफ्नो परिवार जहाँ
म धेरै मित्र पाउँछु
साँच्चै हृदय छुने यी गीतका शब्दहरूले हामीलाई चुनौती दिइरहेका भान हुन्छ कि आज संसारमा मानिसका नजरबाट गिराइएका, गन्तीमा नआएका , मन भाँचिएका र टुटेका हृदय लिएर जो पनि मानिसहरू मण्डली भवनभित्र प्रवेश गर्छन्, उनीहरूले बाहिर संसारमा नपाएको ईश्वरीय प्रेम त्यहाँ अनुभूत गर्न सक्नपर्छ। मलाई यो गीत सुन्दै गर्दा लाग्छ, के साँच्चै मैले यस्ता टुटेका हृदय लिएर मण्डलीभित्र आएका मानिसहरूलाई ख्रीष्टको प्रेमरूपी मलहम लगाउन सक्षम बन्न सकेकी छु के त? उहाँले रचना गर्नुभएको एउटा अत्यन्तै मर्मस्पर्शी गीत, प्रभु येशूले क्रूशमा बलिदान गर्नुभएको कारूणिक दृश्यलाई बर्णन गरिएको छ। जुन गीतलाई सुमधुर आवाज दिएर जीवन्त बनाउनु भएको छ, श्रीमती परिना गुरुङ अनि प्रभु येशूको बाणीलाई पुरुष आवाजमा साथ दिनुहुने उहाँकै सुपुत्र श्री अनुग्रह बिष्ट, जो बर्तमान एक चर्चित इसाई भजन गायक हुनुहुन्छ।
उक्त गीत का केही अंशहरु यहाँ उद्धृत गर्न चाहे-
अन्धकार भो शुनशान भो
मध्य दिनको तेस्रो पहर
संसारको रूप अर्कै भयो
बेहाल येशूलाई हेरेर
चेलाहरू रून लागे
अन्तिम श्वास लिएर
येशूले पितालाई भन्दैथिए
मेरो आत्मा तपाईंलाई
अब सुम्पिदिन्छु।
येशू प्रभुले सारा संसारको हामी पापी मानिसहरूको निम्ति आफ्नो जीवन बलिदान गरेर प्राण त्याग गर्नुभएको त्यो मध्य दिनमा प्रकृतिले पनि आफ्नो नियम परिवर्तन गरेर दिउँसै रात जस्तो अन्धकार भएको बर्णन हामी बाइबलमा पढ्न पाउँछौँ।यो गीत सुन्दै गर्दा त्यो भावविह्वल क्षण हाम्रो अन्तर मनले अनुभूत गर्न सक्छौँ। हाम्रा आँखाहरू स्वतः नम् बन्छन्, श्रद्धाले नतमस्तक भइ शिर झुक्दछ। यस्तै अर्को एउटा अर्थपूर्ण अनि मार्मिक गीत, जुन गीतको रचनाकार अनि संगीतकार श्रद्धेय राम बिष्ट सर नै हुनुहुन्छ, यस गीतलाई सुमधुर आवाज दिएर उहाँकै सुपुत्र नानी अनुग्रह बिष्टले गाउनुभएको छ,
सृष्टि गर्ने ईश्वर अघि
जाबो एउटा मान्छे
स्वरूप उनलाई कसले दियो
जान्दैन यो मान्छे।
बर्तमान दिनहरूमा निहालेर हेर्दा कतिपय घरहरूमा बाबू छोराको सम्बन्धमा ठूलो दरार आएको देख्छौँ। उनीहरूको आपसी सम्बन्ध ३६ को आँकडा जस्तो हुन्छ तर यसरी बाबू छोरा मिलेर यस्ता कालजयी गीतहरु सृजना गर्नु भाबी पीढीको निम्ति असल उदाहरण हो। कुनै पनि मानिसलाई सफलताको शिखरमा पुर्याउन उनको पारिवारिक साथ र सहकार्यले ठूलो भूमिका निर्वाह गरेको हुन्छ। यसर्थ आज श्रद्धेय राम बिष्ट सर जुन उँचाईमा पुग्नुभएको छ, उहाँको हर दुखमा सुखमा, सफलतामा बिफलतामा, बिमारीमा अयोग्यतामा छायाँ जस्तो बनेर साथ दिइरहनु हुने आदरणीया चन्द्रिका गुरूमाको साथ नभए यी सबै कुरा असम्भव नै थिए। यतिबेला यी हरफहरू लेख्दैगर्दा चन्द्रिका गुरूमा जस्ता आदर्श नारीप्रति म पनि हार्दिक नमन् भन्न चाहन्छु उपसंहार: अन्तमा म यही भन्न चाहन्छु कि श्रद्धेय राम बिष्ट सर , उहाँ एक्लै कुदेर first प्रथम हुने जमातमा पर्नुभएन। उहाँले आफू संगसंगै आफ्ना गाउँका धेरै नयाँ भाइ बहिनीहरूलाई पनि साथमा लिएर हिँड्नुभयो, फलतः आफ्नो जीवनकालमा धेरै चेलाहरू निर्माण गर्न सक्षम बन्नुभयो; जुन कुराको सुखानुभूति एक सर्जकलाई अरू कुनै कुराले दिन सक्दैन। साथै जति नै धन्यवाद दिए पनि त्यो कम नै हुन्छ, “जीवन ज्योति फाउन्डेसन्” लाई, उहाँहरूले एक सर्जकले आफ्नो समाजलाई दिएको योगदानलाई मूल्यांकन् गरिदिनु भएर श्रद्धेय राम बिष्ट सरको सांगीतिक यात्राको ५०औं स्वर्ण जयन्तीको सुअवसरमा बहुमूल्य उपहार स्वरूप यो अभिनन्दन ग्रन्थ पहराको फूल अर्पण गर्नुभयो। हजुरहरु सबै सबै प्रशंसाका पात्र हुनुहुन्छ। सबैलाई हार्दिक नमन् गर्दै यो मेरो सानो पाठक प्रतिक्रिया यही अन्त गर्दछु।
—- श्रीमती एडना घले प्रधान
बिजनबारी गैरीगाउँ, दार्जीलिङ।












