भारतीय नेपाली पत्रकारिताका प्रथम पत्रकार पादरी गंगाप्रसाद प्रधान

Authored By: --भाष्कर मैनाली। (साभारः विश्वपरिक्रमा)

Share this news

पादरी गंगाप्रसाद प्रधानको जन्म ४ जुलाई १८५१ मा पिता रूपनारायण प्रधान र माता राजमति देवीबाट भएको थियो। उनको जन्म एक हिन्दू नेवार परिवारमा भएको थियो । उनको जन्म नाम नरसिंह नारायण प्रधान रहेको थियो।
पादरी गंगाप्रसाद प्रधानको आमाको मृत्यु उनी सानो छँदा नै भएको थियो । त्यस कारणले गर्दा उनलाई उनको परिवारले आमा टोक्ने भनेर मुल्याहाको उपाधि दिएका थिए । पादरी गंगाप्रसाद प्रधान जन्मिएको समय नेपालमा राणा शासन रहेको हुन्छ भने भारतमा अङ्ग्रेजहरूको शासन रहेको थियो । त्यस समय नेपालका धेरै मानिसहरू आफ्नो पेट पाल्न र रोजगारको सिलसिलामा भारत देश प्रवेश गर्दै थिए ।

विशेष गरी दार्जीलिङमा त्यस समय अङ्ग्रेज सरकारले दार्जीलिङको वन जंगल फाडी चियाको बोट लगाउने कार्य गर्दै थिए । त्यसको निम्ति अङ्ग्रेज सरकारलाई श्रमिक चाहिएको हुनाले उनीहरूले नेपालतिर बाट धेरै मानिसहरू लाई फकाएर फुसल्याएर ल्याउने गर्थे । त्यस समय चियाको बोटमा पैसा फल्छ भन्ने कुराहरूको प्रचार प्रसार गर्दै अङ्ग्रेजहरूले त्यस समयको अशिक्षित, सोझा साझा नेपालीहरुलाई श्रमिक बनाउनको निम्ति भारततिर चिया खेती सुरु हुँदै गरेको दार्जीलिङमा ल्याउने काम गर्दै थिए।

त्यही सिलसिलामा सन् १८६१ तिर गंगाप्रसाद प्रधान र उनको परिवार पनि रोजगारको सिलसिलामा दार्जीलिङ तिर बसाई सरे। उनीहरू काठमाडौं देखि दार्जीलिङतिर बसाई सर्ने क्रममा अहिलेको जस्तो यातायातको सुबिधा नभएको हुनाले उनीहरूको परिवार हिँडेर नै दार्जीलिङ आएका थिए । त्यस समय गंगाप्रसाद प्रधानको उमेर कलिलो भएको हुनाले त्यो बालकलाई यति टाढा हिँडेर आउनु पर्दा कति कष्टकर भयो होला त्यही माथी घर परिवारमा आमा टोक्ने लाञ्छना पाएको हुनाले उनी आफ्नो परिवारमा त्यसै पनि अवहेलित थिए। उनको परिवार १४ दिनको हिंडाइपछि बल्ल दार्जीलिङ आइपुगेका थिए।

गंगाप्रसाद प्रधानको परिवार दार्जीलिङ आउनु भन्दा अघि गंगाप्रसाद प्रधानका ठूलो दाजु दार्जीलिङको गिंग कमान आएका थिए । त्यहाँ उनले श्रमिकहरुको देख रेख र हिसाब किताबको काम गर्ने गर्थे । पछि उनले आफ्नो भाइ पादरी गंगाप्रसाद प्रधान लगायत सम्पूर्ण परिवारलाई दार्जीलिङ तर्फ ल्याउने काम गरे। गंगाप्रसाद प्रधान पहिलो चोटी दार्जीलिङ आएको समय २९ मई १८६१ रहेको थियो। गंगाप्रसाद प्रधानको परिवार पहिलो चोटी दार्जीलिङ आएपछि उनीहरू पहिले दार्जीलिङको भोटे बस्तीको फेद पर्ने र लेबुङ नजिक पर्ने नेवार गाउँमा बसेका थिए । पछि उनीहरू त्यही ठाउँ देखि केही टाढामा पर्ने गिंग कमानमा बसाई सरे।

त्यही कमानमा उनीहरूले आफ्नो रोजी रोटीको निम्ति काम गर्न थाले। फेरि त्यसै त आफ्नो परिवारमा गंगाप्रसाद प्रधान आमा टोक्नेको लाञ्छना पाएर अवहेलित भएको समयमा गंगाप्रसाद प्रधानको बाबुले कान्छी आमा ल्याए र ती कान्छी आमाले उनलाई धेरै प्रताडना दिने गर्थिन् । त्यस कारणले गर्दा गंगाप्रसाद प्रधानको बाल्यकाल र किशोरावस्था खुबै कष्टकर रूपले बित्यो। गंगाप्रसाद दार्जीलिङ आएपछि उनले गिंग कमानको कारखानाको निम्ती कोइला बोक्ने काम गर्नुपरेको थियो। १८ वर्षको उमेरसम्म उनले स्कूलको मुख देखेका थिएनन् र उनले त्यस समयसम्म एक अक्षर पनि पढ्न पाएका थिएनन्।

आजको समयमा हाम्रो नानीहरू ४- ५ वर्ष पुगेकाहरुले पनि अक्षर ज्ञान सिकिसकेका हुन्छन् । तर गंगाप्रसादले त्यो सुविधा पाएनन्। फेरि त्यस समय शिक्षाको प्रचार प्रसार हाम्रो समाजमा नभएको कारणले गर्दा पनि दार्जीलिङका अधिकांस मानिसहरू अशिक्षित नै थिए। गंगाप्रसादको जीवन त्यसरी नै चल्दै थियो । सानी आमाको हेपाहा प्रवृत्ति र उनको अरण खटनमा उनको जीवन चल्दै थियो। एक दिन गिंग कमानमा स्कटिश मिसिनरी का एक पादरी म्याकफार्लेनले आएर एउटा सानो स्कूल खोलेका थिए । त्यही समय गंगाप्रसाद प्रधान त्यही गिंग कमानमा कोइला बोक्ने काम गर्दै थिए । एकदिन केही बाध्यतावस उनले कोइला बोक्दा सधैं हेरी कम कोइला बोक्न सकेका थिए । उनले त्यसदिन कम कोइला बोक्न सकेको कारणले गर्दा उनको त्यस दिनको ज्याला काटियो । त्यही कुराको झोकमा उनले आफूले कोइला बोक्ने डोकोलाई मारक मुरुक, बाङ बुङ पारेर अब उप्रान्त कोइला बोक्ने काम नगर्ने निर्णय लिए तथा पादरी म्याकफार्लेनले गिंग कमानमा खोलेको स्कूलमा भर्ना हुने र अक्षर ज्ञान लिने निर्णय लिए।

गंगाप्रसाद प्रधान स्कूल भर्ना भएको दिन संयोगवश ४ जुलाई १८७० रहेको थियो, जुन उनको जन्म दिन थियो । त्यसदिन उनी ठ्याकराक्कै १९ वर्ष पुगेका थिए । यस कुराबाट यो पनि हामी बुझ्न सक्छौ कि पढ्ने लेख्नेको कुनै उमेर हुँदैन भनेर । किनकी यदि गंगाप्रसाद प्रधानले त्यस समय आफ्नो उमेर हेरेर स्कूल पढ्न लाज मानेका भए भने आज हामीसित पादरी गंगाप्रसाद र उनको योगदान हुँदैन थियो होला । उनले ढिलै भएपनि पढाइ सुरु गरे पनि आज पादरी गंगाप्रसाद प्रधान र उनको योगदान हामीसित रहेको छ । यस्ता उदहारणहरु हाम्रो समाजमा धेरै छन् जसले ढिलो उमेरमा आफ्नो पढाई को सुरुवात गरेर पछि धेरै ख्याति आर्जन गरे । जस्तै स्वामी प्रपन्नाचार्य जसले ३० वर्षको उमेरमा अक्षर ज्ञान लिएर पछि संस्कृतमा विद्यावारिधिसम्मको अध्ययन गरे र समाजमा ख्याति कमाए। यस्तै ढिलो पढेर नेपाली समाजमा ठूलो योगदान पुर्याउने व्यक्तित्वहरूमा हामी पादरी गंगाप्रसाद प्रधान पनि पाउने गर्दछौं।

त्यस समय गंगाप्रसाद प्रधान स्कूलमा भर्ना भएपछि एक महिना जति त उनले मज्जाले पढिसकेका थिए । तर गंगाप्रसाद प्रधान स्कूल जान थाले उनको सानी आमाले घरमा धेरै कच कच गर्न थालिन् । किनकी यत्रो ठूलो लाठे भएको केटो कमाउने बेलामा स्कूल गएको कुरा उनको सानी आमालाई ठ्याक्कै मनपरेन । फेरि स्कूल जानको निम्ती खाता किताब चाहिने हुनाले र खाता किताब किन्नको निम्ति पैसा लाग्ने हुनाले सानी आमाले गंगाप्रसादलाई पढाउनको निम्ति खर्च गर्नु एकदम मन पराएनन् । त्यसपछि गंगाप्रसाद प्रधानको सानी आमाले उनलाई स्कूल जानको निम्ति मनाही गरिन् र उनको स्कूल जान बन्द भयो । गंगाप्रसाद स्कूल नआएको देख्दा पादरी म्याकफार्लेन चिन्तित बने र गंगाप्रसाद लाई खोज्दै खोज्दै गिंग कमान स्थित उनको घर पुगे । घरका मानिसहरूलाई गंगाप्रसाद बारे सोधे । त्यस समय घरकाहरुले गंगाप्रसाद खरसाङ गएको छ भनेर गंगाप्रसादका परिवारले म्याकफार्लेन लाई ढाँट्ने काम गरे।

त्यस समय गंगाप्रसादको घरकाहरु ले पादरी म्याकफार्लेन लाई यति सम्म भने की “अहिले सम्म त कोइला बोकेर आफूलाई पालिरहेका छ स्कूल गएपछि यसलाई कसले पाल्छ ” भने । म्याकफार्लेनले यति सुनेपछि गंगाप्रसादको परिवारलाई यदि गंगाप्रसाद लाई स्कूल पठाए उनले अर्थात् म्याकफार्लेनले नै बरु खोराकी को रूपमा ४ रुपियाँ पैसा दिने सर्त राखे । त्यस समयको ४ रुपियाँ अहिलेको १४०० जति होला र त्यही म्याकफार्लेनको सर्तमा गंगाप्रसाद प्रधान फेरि २ अक्टोबर १८७० मा स्कूल जाने मौका पाए। स्कूल पढ्दा पनि उनले पढाएको पाठहरू छिटो टिप्न सक्ने थिए । पढ्नमा उनी एक असल विद्यार्थी थिए।त्यसपछि गंगाप्रसादले आफ्नो शिक्षा आर्जन गर्दै नै थिए । आफूले शिक्षा आर्जन गरेको ९ महिना पश्चात् २० जुलाई १८७१ को दिन उनले शिक्षकको नियुक्ति पाए।

गंगाप्रसाद प्रधानले शिक्षक नियुक्ति पाउनमा पनि धेरै कारणहरू छन् । ती कारणहरू हुन्, एउटा त उनी एक दक्ष विद्यार्थी थिए र छोटो समयमा नै उनले धेरै कुराहरु सिक्न सके । धेरै कुराहरु उनले सिक्न सकेको हुनाले उनलाई धेरै कुराहरुको ज्ञान थियो । धेरै कुराहरु ज्ञान भएको मानिस असल शिक्षक हुनसक्छ भन्ने कुराको भान पादरी म्याकफार्लेनलाई भयो होला त्यसैले नै उनले गंगाप्रसाद लाई शिक्षकको रूपमा नियुक्ति दिए । अर्को कुरा जुन कक्षाको निम्ती गंगाप्रसादलाई पादरी म्याकफार्लेनले नियुक्ति दिए त्यस कक्षामा एउटा शिक्षक थिए त्यस शिक्षकले एक दिन खाजा खान जान्छु भनी स्कूलबाट गएछ । अनि त्यस शिक्षक त्यस स्कूलमा कहिले आएनन् ।

त्यसको बदलामा पादरी म्याकफार्लेनका होनहार विद्यार्थी गंगाप्रसादलाई नै त्यस कक्षा को शिक्षक नियुक्त गरिदिए । किनकी गंगाप्रसादले छोटो समयावधि मा नै धेरै कुराहरू सिकिसकेका थिए । त्यसैले उनलाई त्यस कक्षाको निम्ति शिक्षक नियुक्ति गरिदिए । शिक्षक नियुक्ति भएपछि उनको तलब पनि ४ रुपियाँ देखि ६ रुपियाँमा बढ्यो। तर शिक्षक नियुक्त हुनुभन्दा अघि उनको विद्यार्थी जीवन धेरै कष्टकर थियो। किनकी पहिले म्याकफार्लेनले गिंग कमानमा सुरु गरेको स्कूल उनले आफ्नो वासस्थान लखनगार ( हाल लोचनगर) मा सारे । त्यस ठाउँ उनको गिंग कमान देखि धेरै टाढा पर्थ्यो । त्यही माथी बिहानको ३ बजे खाना खाएपछि एकैचोटी बेलुकी को समयमा मात्रै खाना खान पाइने हुँदा फेरि त्यति धेरै हिंड्नु पर्ने हुँदा भोकले र थकाइले उनलाई धेरै गार्हो पर्थ्यो । तर पनि अघिको तीतो पछिको गुलियो भने झैं पछि यति दुःख गरी शिक्षा आर्जन गरेको हुनाले उनलाई धेरै लाभ नै भयो। कुनै समय गंगाप्रसाद प्रधानको सौतेनी आमाले गंगाप्रसाद लाई स्कूल जान रोक्नको निम्ति “पढी गुनी के काम हलो जोती खाई माम ” भन्ने उखान को प्रयोग गर्दै गंगाप्रसाद लाई झपारेको थिए तर उनले त्यस उखानलाई गलत प्रमाणित गर्दै पढेर, गुनेर माम खाने बाटो नै पढाइ मार्फत पाए।

पादरी म्याकफार्लेन बस्ने त्यस ठाँउ जहाँ गंगाप्रसाद पनि शिक्षा आर्जन गर्न आए त्यस ठाउँलाई आहिले लोचनगर भनिन्छ र त्यस ठाउँ दार्जीलिङको मटर स्ट्यान्ड देखि केही तल पर्ने गर्द। त्यही ठाउँमा नेपाली साहित्यको शिखर पुरुष मानिने स्वर्गीय इन्द्रबहादुर राईको पनि निवासस्थान रहेको छ। त्यस ठाउँलाई पहिले लखनगार भनेर चिनिन्थ्यो र त्यस ठाउँलाई किन लखनगार भनियो भन्दा त्यस समय अहिलेको दार्जीलिङ स्थित लालढिकी को मुहान बाट पानी आएर हाल आजको बस स्ट्यान्ड नजिक पोखरी थियो त्यही पोखरीमा त्यो मुहान बाट आएको पानि जम्मा हुने गर्थ्यो । त्यसैले म्याकफारलेनले आफ्नो स्कटिश भाषामा त्यस ठाउँलाई लखनगार नाम राखिदिए जुन लखनगार शब्द स्कटिश भाषामा त्यसको अर्थ पोखरी भएको ठाउँ थिएछ र त्यस आजको हाल बस स्ट्यान्ड मुनिको गाउँ लाई लोचनगर भनेर चिनिन्छ जुन लोचनगर शब्द लखनगार शब्दको अपभ्रंश नाम हो। पहिले त्यस ठाउँमा पोखरी थियो तर अहिले त्यस ठाउँमा हामी गयौं भने यहाँ पोखरी थियो र ? भन्ने हामीलाई भान हुन्छ किनकी अहिले त त्यस ठाउँमा धेरै बहुतले इमारतहरु भएको कारणले गर्दा त्यो ठाउँ धेरै साँघुरिएको छ र त्यस ठाउँमा कुनै समय पोखरी थियो भन्ने कुरा चाहिँ हामीलाई कल्पना जस्तो लाग्ने गर्दछ।

गंगाप्रसाद प्रधानको जीवन समय अनुसार परिवर्तन हुँदै थियो पहिले उनले कमानमा कोइला बोक्ने काम गरे, त्यसपछि उनलाई पढ्न मनलागेको भनी पादरी म्याकफार्लेनको स्कूलमा भर्ना भई अक्षर ज्ञान सिके, अक्षर ज्ञान संगैमा उनले अन्य धेरै कुराहरु पनि त्यस स्कुलमा सिक्दै उनी पछि त्यही स्कूलको शिक्षक बने पहले कमानमा कोइला बोकी हिड्ने काम गर्ने मान्छे, कालो अक्षर भैंसी बराबर सम्झिने मान्छे, गाउँमा घर खर्च अलि धेर जुटाउनको निम्ति खोप्पी खेल्ने मान्छे र त्यही खोप्पि राम्रो खेल्ने हुँदा उनलाई खोप्पीको जम्दार भनेर साथीहरुले उपाधि सम्म दिएका थिए तर पछि अक्षर ज्ञान सिकेपछि र अन्य धेरै कुराहरु पादरी म्याक्फार्लेनको स्कूलमा सिकेपछि उनको जीवनमा धेरै असल परिवर्तनहरू आउँदैथियो। त्यही परिवर्तन हुँदै गरेको गंगाप्रसादको जीवनमा अर्को ठूलो परिवर्तन आउँदैथियो । त्यो परिवर्तन के थियो भने पादरी म्याक्फार्लेनको संसर्गमा गंगाप्रसाद प्रधान आएपछि पादरी म्याक्फार्लेनको प्रभाव गंगाप्रसादमा धेरै पर्न थाल्यो।

पादरी म्याकफार्लेन एक इशाई मिसिनरीका वरिष्ट व्यक्तित्व थिए, यस सँगै उनी इशाई धर्मका कर्मठ अनुयायी पनि थिए । त्यसको प्रभाव गंगाप्रसाद प्रधानमा पनि हुन पुग्यो । गंगाप्रसादले पनि पादरी म्याकफार्लेनबाट प्रभावित भएर इसाईहरूको पवित्र धर्मपुस्तक अध्ययन गर्न थाले। म्याकफारलेनसित रहँदा बस्दा गंगाप्रसादले प्रभु इशुलाई धेरै जान्न र बुझ्न पाए। पादरी म्याकफार्लेन एक इशाई धर्मका प्रचारक अथवा सुसमाचार प्रचारक पनि थिए । हप्तामा एक दिन बाइबल बारे र ख्रीष्टिय धर्मको ज्ञान पनि उनले अरूलाई सिकाउने गर्थे । गंगाप्रसाद प्रधानले पनि पादरी म्याकफार्लेनद्वारा संचालित बाइबल र ख्रीष्टिय धर्मको ज्ञान दिने कक्षामा भाग लिने गर्थे ।

म्याकफार्लेनको संसर्गमा रहँदा बस्दा र उनीबाट बाइबल र इशु ख्रीष्ट बारे धेरै कुराहरु सुन्दा गंगाप्रसाद प्रधान इशाई धर्मप्रति आकर्षित हुँदै गइरहेका थिए । फेरि अर्को कुरा के भयो भने एक हिन्दी इशाई प्रचारक एक दिन पर्चा बाँड्दै दार्जीलिङ आएका थिए र गंगाप्रसाद प्रधान लाई पनि त्यस हिन्दी प्रचारकले हातमा एउटा पर्चा थमाई दिए । त्यस पर्चामा इशु लेखिएको थियो । त्यही इशु शब्दले गंगाप्रसाद आकर्षित भए । त्यस समय गंगाप्रसादलाई इशु शब्दको उच्चारण उनका गुरु म्याकफार्लेनले गरिरहेको थाहा थियो । इशु बारे उनको गुरुले कुरा गरेको पनि थाहा थियो र। यो इशु चाहिँ को रहेछ भनेर गंगाप्रसादले अनुसन्धान गरे र इशु बारे उनले धेरै अध्ययन गरे।

त्यसपछि उनले इशु बारे धेरै जानेपछि उनी इशाई धर्मप्रति आकर्षित हुँदै गए । अन्त्यमा इशाई बन्ने निर्णय लिए। त्यसपछि सन् जनवरी २४, १८७५ मा भारतको इलाहाबाद हाल प्रयागमा हिँडेर गएर गंगाप्रसाद प्रधानले बप्तिस्मा लिए अनि एक समर्पित इशाई बने। त्यस समय दार्जीलिङ पहाडी अञ्चलमा बप्तिस्मा दिने कुनै ठाउँ थिएन र कहीं ठाउँ नभएको हुनाले उनले अल्लाहबादमा हाल प्रयागमा गएर बप्तिस्मा लिए। नेपाली समुदायमा गंगाप्रसाद प्रधान इशाई हुने सबैभन्दा दोस्रो व्यक्ति थिए र नेपाली समुदायमा इशाई हुने पहिलो व्यक्ति चाहिँ भीमदल देवान रहेको थियो।

इशाई भएपछि केही समय बिहारमा शिक्षा आर्जन गरी उनी दार्जीलिङ तर्फ नै फर्किए। दार्जीलिङमा फर्किदा उनी आफ्नो घर परिवारबाट बहिष्कृत भएका थिए। घर परिवार र समाजबाट उनी बहिष्कृत भएपछि उनले उनको गुरु पादरी म्याक्फार्लेनको निर्देश अनुसार इशाई धर्म सम्बन्धित कार्य गर्न थाले। आफ्नो गुरुको आदेश अनुसार विभिन्न ख्रीष्टिय सुसमाचार युक्त हिन्दी पर्चाहरुको अनुवाद गर्न तर्फ लागे। उनले त्यसपछि विवाह एक नन् (अर्थात् रोमन क्याथोलिक समुदायको एक स्त्री धर्मगुरु )अध्ययन गर्दै गरेको युवती एलिजाबेथ राई सित विवाह गरे । तर यस कुरामा धेरै विवाद रहेको छ जस्तै यहाँ धेरै मानिसहरूको मत रहेको छ कि गंगाप्रसाद प्रधान एक प्रोटेस्टेन्ट इशाई थिए तर एलिजाबेथ राई एक रोमन क्याथोलिक नन् रहेको हुनाले र क्याथोलिक ननले विवाह गर्न नपाइने हुनाले कसरी उनले गंगाप्रसादसित विवाह गरे भन्ने एउटा प्रश्न उठ्ने गरेको छ । तर यसमा यो कुराहरू पनि हुनसक्छ जस्तै पादरी गंगाप्रसाद प्रधान एक प्रोटेस्टेन्ट ख्रीष्टियन भएको कारणले गर्दा प्रोटेस्टेन्ट ख्रीष्टियनमा त्यहाँको धर्म गुरुहरूले विवाह गर्न पाउँछन् । तर यता रोमन क्याथोलिकका धर्म गुरुहरुले विवाह गर्न पाउँदैनन् ।

त्यही कारणले पादरी गंगाप्रसाद एक प्रोटेस्टेन्ट इसाईहरु को धर्मगुरु भएको हुनाले उनको धर्म तर्फ बाट विवाह गर्न केही बन्देज नभएकोले र फेरि एलिजाबेथ राई पनि त्यस बेलासम्म अध्यन गर्दै गरेको नन् मात्रै थिइन् । उनी पुरै नन थिइनन् । तर नन हुने प्रक्रियाहरू उनले अध्ययन मात्रै गर्दै थिइन् । यता पादरी गंगाप्रसाद प्रधान एक प्रोटेस्टेन्ट ख्रीष्टियन भएको र त्यहाँ विवाह गर्न केही छेक थुन नभएको हुनाले उनीहरूको विवाहमा अड्चन आएन होला । उनीहरूको विवाहमा त्यस समय अड्चन आउन सक्थ्यो यदि एलिजाबेथ राईले पुरै नन बन्ने तालिम अध्ययन गरेर नन भएको भए । यो एउटा खोज को विषय रहेको छ । किनकी अधिकांस नेपाली लेखक र समालोचकहरुले पादरी गंगाप्रसाद प्रधानको विवाह एउटी रोमन क्याथोलिक नन् एलिजाबेथ राईसित नै भएको हो भन्ने कुरा किटान गरेर लेख्न सकिरहेका छैनन्।

पादरी गंगाप्रसाद प्रधान को ६ जना छोरी र २ जना छोराहरू थिए। गंगाप्रसाद प्रधान धार्मिक र इमान्दार ख्रीष्टियन भएको हुनाले अगस्त महिनाको १९०१ सालमा उनी पादरी नियुक्त भए । उनी हाल अहिले दार्जीलिङको सन्त कोलम्बस गिर्जाघर जुन गिर्जाघर दार्जीलिङको रेलवे स्टेशन को ठीक माथि रहेको छ त्यही गिर्जाघरको प्रथम नेपाली पादरी नियुक्त भए र नेपाली समुदायमा उनले सबैभनदा पहिलो पादरी बन्ने मौका पाए। यसकारणले गर्दा गंगाप्रसाद प्रधानलाई हामीले पादरी गंगाप्रसाद प्रधान भनेर चिन्ने गर्दछौ । तर अहिले इशाई धर्मगुरुहरुलाई विशेष गरी नेपाली इशाई धर्मगुरुहरुलाई पादरी भन्ने चलन त्यत्ति रहेको छैन । त्यस पादरी शब्दको ठाउँ पास्टर, फादर,पल्ली पुरोहित जस्ता शब्दहरूले लिसकेको छ।

गंगाप्रसाद प्रधानले गोर्खे खबर कागत सन् १९०१ मा निकाले र उनले उक्त खबर कागत सन् १९३२ सम्म चलाए । यो गोर्खे खबर कागत नेपाली भाषी समुदायमा पहिलो खबर कागत भनेर मानिने गरिन्छ। जुन समय पादरी गंगाप्रसाद प्रधानले गोर्खे खबर कागतको सुरु गरे त्यस समय नेपालमा पनि खबर कागज निकाल्ने कार्य सुरु भएको थिएन । यो खबर कागज मासिक रूपमा प्रकाशित हुने गर्थ्यो। तर गोर्खे खबर कागत माथि धेरै आलोचकहरूले यसको भाषा माथी आलोचना गरे । यसको भाषा अशुद्ध रहेको कुरा धेरै आलोचकहरूले राखे । तर यसमा गंगाप्रसाद प्रधानले त्यही भाषाको प्रयोग गरे जुन भाषा त्यस समय दार्जीलिङको मानिसहरूको जन जिब्रोमा रहेको थियो । उनीहरूले बुझ्ने अनुसारको भाषाको प्रयोग उनले आफ्नो खबर कागत मा प्रयोग गरे।

यस सँगै जुन भाषालाई त्यस समय शुद्ध मानिने गरिन्थ्यो त्यो नेपाली भाषाहरू संस्कृत मिश्रित नेपाली भाषालाई शुद्ध नेपाली भाषा मानिने गरिन्थ्यो । त्यस प्रकारको संस्कृत मिश्रित नेपाली भाषालाई काशी भाषे बोली भनेर पादरी गंगाप्रसाद प्रधानले नाम दिए। गोर्खे खबर कागतलाई कतिपय आलोचकहरूले इशाई धर्म प्रचार गर्नको निम्ती मात्रै निकालिएको भनेर आलोचना गरे । तर त्यस्तो थिएन । किनकि त्यस गोर्खे खबर कागजमा विभिन्न ठाउँहरूमा भएको खबरहरु आउऊथ्यो । इशाई धर्म बाहेक अन्य खबरहरु पनि त्यस खबर कागतमा आउने गर्थ्यो । यदि पादरी गंगाप्रसाद प्रधानको उदेश्य इशाई धर्म प्रचार गर्नको निम्ती कुनै खबर कागत निकालिने भएको भए त्यस खबर कागतको नाम गोर्खे खबर कागत नराखेर अन्य ख्रीष्टिय धर्म सम्बन्धित नाम राखेर त्यहाँ मात्रै ख्रीष्टियन धर्म सम्बन्धित समाचारहरु लेखिन्थ्यो होला । तर त्यसो भएन । त्यस खबर कागतमा केही ख्रीष्टियन धर्म सम्बन्धित समाचारहरु भए पनि अन्य संसार र दार्जीलिङ वरिपरि भएका घटनाहरू बारे पनि समाचारहरु लेखिएको हुन्थ्यो । यस सँगै ख्रीष्टियन बाहेक अन्य धर्मको बारे पनि त्यस खबर कागतमा लेखिने गरिन्थ्यो । केही साहित्यिक कृतिहरूले पनि उक्त खबर कागतमा स्थान पाए।

पादरी गंगाप्रसाद प्रधानले पहिलो चोटी बाइबल नेपालीमा पनि अनुवाद गरे। हुन त यो भन्दा अघि पनि नेपाली बाइबलको अनुवाद गर्ने कार्य भएको हो । त्यसको भाषा नेपाली जनजिब्रो अनुसार नभएको हुनाले ती बाइबलको प्रचार प्रसार नेपाली समाजमा त्यत्ति हुन सकेन । तर पादरी गंगाप्रसाद प्रधानद्वारा लिखित नेपाली बाइबल त्यस समय बोलिने नेपाली जन जिब्रो अनुसार भएको हुनाले यस बाइबलले पहिलो नेपाली बाइबलको मान्यता पायो र प्रचलित भयो। विश्वमा सबैभन्दा धेरै प्रचलित र बिक्री भएको किताब नै बाइबल हो । यस्तो विश्वमा सबैभन्दा प्रशिद्ध भएको किताब नेपालीमा अनुवाद पादरी गंगाप्रसाद प्रधानले गरेको हुनाले उनको योगदान यस क्षेत्रमा पनि अतुलनिय रह्यो । नेपाली भाषी समुदायलाई र साहित्यलाई उनको यो कार्यले एउटा ठूलो योगदान पुर्याउन उनी सफल बने। आदिकवि भानुभक्तले सामान्य जन जिब्रोको नेपाली भाषामा रामायण अनुवाद गरेर प्रशिद्धि पाए । उनीभन्दा अघिकाहरुले पनि रामायण नेपालीमा अनुवाद गर्न खोजें तर उनीहरूले जनजिब्रो अनुसार अनुवाद नगरेको हुनाले उनीहरूले त्यत्ति प्रशिद्धि कमाउन सकेनन् । जन जिब्रो अनुसार भानुभक्तले रामायण अनुवाद गरेको हुनाले उनले नेपाली साहित्यमा एकदमै धेरै प्रशिद्धि पाए। त्यसैले जन जिब्रोको महत्व कुनै पनि समुदायको निम्ति एकदमै ठूलो रहेको हुन्छ। पादरी गंगाप्रसाद प्रधानले पनि वाइबल जनजिब्रोको भाषामा अनुवाद गरेकाले प्रसिध्दी पाएका हुन् ।

पादरी गंगाप्रसाद भन्दा अघिको समयमा दार्जीलिङ भेगतिर नेपाली भाषा बोलिने साधन मात्रै रहेको थियो यस भाषा मार्फत शिक्षा दिने चलन रहेको थिएन । त्यस समय शिक्षाको माध्यम हिन्दी रहेको थियो यही कुराको महसुस गरी उनले धेरै नेपाली पाठ्य पुस्तक हरु निकाले । धेरै कथाहरूको अनुवाद नेपालीमा उनले गरे । त्यसपछि अन्यले पनि नेपाली भाषा लाई आधार बनाएर पाठ्य पुस्तकहरु निकाले । तर यसको जग बसाल्ने चाहिँ पादरी गंगाप्रसाद प्रधान नै थिए। यससँगै उनले उखानहरु माथी पनि कार्य गरे । उखानहरुलाई सङ्कलित गर्ने कार्य गरे। उनले युरोपतिरबाट आउने मिसिनरीका यूरोपीय मानिसहरूलाई नेपाली भाषा सिकाउने कार्य गरे जस मध्ये पादरी ट्रनबुल मुख्य रहेका छन्।

पादरी गंगाप्रसाद प्रधानले नेपाली भाषी समाजलाई धेरै कुराहरु दिएर गए। उनले धेरै कुराहरुको स्तम्भ गाडेर गएका छन् । जस्तै उनले नेपाली समाजमा उनीभन्दा पहिले कसैले नगरेको कार्यहरू गरेर गएका छन् । नेपाली भाषामा पहिलो बाइबल अनुवाद । नेपाली भाषामा पहिलो खबर कागज छाप्नु । जुन खबर कागजको नाम गोर्खे खबर कागत रहेको थियो । नेपाली भाषामा पहिलो चोटी भारतीय नेपाली समाजमा पाठ्य पुस्तकहरू निकाल्नु । यी कुराहरूको श्रेय सबैभन्दा धेरै उनलाई नै दिनुपर्छ। यस सँगै नेपाली ख्रीष्टिय गीतहरू निकाल्न पनि उनी पहिलो भए । यी गीतहरु नेपालीमा लेख्ने व्यक्ति पनि उनी पहिलो भए । उनले लेखेका गीतहरू मध्ये ‘प्रभु अर्जि सुनिल्यौ’ भन्ने गीत सबैभन्दा प्रचलित रहेको छ।

आजको दिनमा धेरै ख्रीष्टय गीतहरू गाउने मानिसहरू छन् जस्तै एड्रिन देवान, लिडिया राई, जर्ज सुमन पेगा, सिलाश फिपिन, सुक्मित लेप्चा तर पादरी गंगाप्रसाद प्रधानले ख्रीष्टिय गीतहरू लेख्नु अघि सबैले हिन्दी गीत र कोयरहरु गाउने गर्थे । यसको निम्ति पनि सम्पूर्ण ख्रीष्टिय जगतले पादरी गंगाप्रसाद प्रधानलाई धन्यवाद दिनुपर्ने हुन्छ । पादरी गंगाप्रसाद प्रधानले नेपाली इशाई गीतका जग बसालेका हुन् । कालेबुङको साहित्य अध्ययन समितिले पादरी गंगाप्रसाद प्रधान को १२५औं जन्मजयन्ती पहिलो चोटी १९७५ मा भव्य रूपमा मनाएको थियो । आजसम्म पनि ४ जुलाई उनको जन्मजयन्तीको रूपमा मनाउने गरिन्छ। पादरी गंगाप्रसाद प्रधानलाई कतिले मात्रै हाम्रो हो भन्ने संकीर्ण विचारधारा राख्छन् त कतिले उनीहरूको मात्रै हो भन्ने अर्को थरी संकिर्ण विचारधारा राख्छन् । तर पादरी गंगाप्रसाद प्रधान विश्व नेपाली समुदायका हुन्। यसैले उनलाई विश्व भरको नेपाली समुदायले आदर र उनको योगदानको कदर गर्नुपर्छ।।


Share this news
आजको रोजाइ
फुलबारीमा खुला झ्यालबाट फोन चोरी; दुई घरबाट तीन फोन हरायो

फुलबारीमा खुला झ्यालबाट फोन चोरी; दुई घरबाट तीन फोन हरायो

सैयद अता हसनैन र पबित्रा मार्गेरिटाले भारतबाट खामेइनीको अन्त्येष्टिमा भाग लिए

सैयद अता हसनैन र पबित्रा मार्गेरिटाले भारतबाट खामेइनीको अन्त्येष्टिमा भाग लिए

विद्युतीय सवारीसाधनको सुरक्षार्थ सातवटा मोबाइल एप ब्लक गर्न निर्देशन

विद्युतीय सवारीसाधनको सुरक्षार्थ सातवटा मोबाइल एप ब्लक गर्न निर्देशन

अभिलेख अद्यावधिक नगरिएकोमा निर्वाचन आयुक्तकहाँ प्रतिनिधित्व

अभिलेख अद्यावधिक नगरिएकोमा निर्वाचन आयुक्तकहाँ प्रतिनिधित्व

बंगाल खाडीमा न्यून चापीय क्षेत्र सक्रिय, कोलकाता,द.बं.मा ठूलो वर्षा हुने

बंगाल खाडीमा न्यून चापीय क्षेत्र सक्रिय, कोलकाता,द.बं.मा ठूलो वर्षा हुने

बुन्डिबुग्यो इबोला भाइरसविरुद्ध दुई उपचार विधिको क्लिनिकल परीक्षण शुरू

बुन्डिबुग्यो इबोला भाइरसविरुद्ध दुई उपचार विधिको क्लिनिकल परीक्षण शुरू

‘जस्ट एन्ड टी म्यारीड!’: टेलर स्विफ्ट र ट्राभिस केल्सेले न्यूयोर्कमा विवाह गरे

‘जस्ट एन्ड टी म्यारीड!’: टेलर स्विफ्ट र ट्राभिस केल्सेले न्यूयोर्कमा विवाह गरे

अमेरिकामा गर्मीको लहरले जुलाई ४ का कार्यक्रमहरूमा बाधा पुर्‍यायो

अमेरिकामा गर्मीको लहरले जुलाई ४ का कार्यक्रमहरूमा बाधा पुर्‍यायो

भूकम्पपछि ढलेको भवनको अवशेषमा 8 दिनसम्म फसेका गार्ड जीवितै उद्धार 

भूकम्पपछि ढलेको भवनको अवशेषमा 8 दिनसम्म फसेका गार्ड जीवितै उद्धार 

केतन अग्रवाल हत्या प्रकरण: कोडेड च्याटहरू मुख्य केन्द्रबिन्दु हुने

केतन अग्रवाल हत्या प्रकरण: कोडेड च्याटहरू मुख्य केन्द्रबिन्दु हुने

आजको रोजाइ