जापानको अन्तरिक्ष अनुसन्धान संस्था (जाक्सा) ले आफ्नो अन्तरिक्ष यान हायाबुसा–२ लाई आगामी जुलाई ५ मा ‘टोरिफुने’ नामक क्षुद्रग्रहको अत्यन्त नजिकबाट उडाउने तयारी गरेको छ। यो उडान अन्तरिक्ष अन्वेषण इतिहासकै सबैभन्दा जोखिमपूर्ण तथा सबैभन्दा नजिकबाट गरिने क्षुद्रग्रह अवलोकनमध्ये एक हुने अपेक्षा गरिएको छ। सन् २०१४ मा प्रक्षेपण गरिएको हायाबुसा–२ ले यसअघि ‘र्युगु’ क्षुद्रग्रहबाट नमुना सङ्कलन गरी सन् २०२० मा सफलतापूर्वक पृथ्वीमा ल्याएर विश्वव्यापी प्रशंसा कमाएको थियो। प्राथमिक मिसन पूरा भइसके पनि अन्तरिक्ष यान अझै सक्रिय स्थितिमा रहेको र विस्तारित अभियानअन्तर्गत नयाँ वैज्ञानिक अनुसन्धानमा जुटिरहेको छ।
जाक्साका अनुसार हायाबुसा–२ ले करिब ५.३ किलोमिटर प्रति सेकेन्डको गतिमा उड्दै टोरिफुने क्षुद्रग्रहको सतहबाट १ देखि १० किलोमिटरको दूरीसम्म पुग्नेछ। उडानका क्रममा यानमा जडान गरिएका क्यामेरा तथा वैज्ञानिक उपकरणमार्फत क्षुद्रग्रहको आकार, बनावट, सतह र संरचनासम्बन्धी महत्त्वपूर्ण तथ्याङ्क सङ्कलन गरिनेछ। करिब ४५० मिटर व्यास भएको टोरिफुने क्षुद्रग्रहबारे वैज्ञानिकहरूलाई अझै पर्याप्त जानकारी छैन। यसले जापानको पहिलो ‘हायाबुसा’ अभियानले अध्ययन गरेको ‘इटोकावा’ क्षुद्रग्रहसँग केही समानता राख्न सक्ने अनुमान गरिए पनि यसको वास्तविक स्वरूप भने उडानपछि मात्रै स्पष्ट हुने अपेक्षा गरिएको छ।
वैज्ञानिकहरूका अनुसार यो अभियानले भविष्यमा पृथ्वीतर्फ आउन सक्ने खतरनाक क्षुद्रग्रहहरूको पहिचान, अनुगमन तथा सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक प्रविधि विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ। यस सफल परीक्षणपछि हायाबुसा–२ सन् २०३१ मा ‘१९९८ केवाई–२६’ नामक अर्को सानो क्षुद्रग्रहसम्म पुगेर थप अनुसन्धान गर्ने लक्ष्यसहित आफ्नो विस्तारित यात्रा जारी राख्नेछ।













