गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खर्साङ ब्राञ्च कमिटी अन्तर्गत लङ्भ्यु–पंखाबारी–अम्बोटे समष्टिको लङ्भ्यु चियाबारी तराई–३४ ग्राममा गोरामुमो तथा गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं) को संयुक्त सांङ्गठनिक सभा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। सुबोध पाखरिनको अध्यक्षतामा सम्पन्न उक्त सभामा समष्टि संयोजक बिरेन्द्र छेत्रीको विशेष उपस्थिति रहेको थियो। सभामा संगठन सुदृढीकरण, शाखा विस्तार तथा वर्तमान राजनीतिक परिस्थितिका विषयमा विस्तृत छलफल गरिएको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्।
सभापछि समष्टि गोरानासंकी उपाध्यक्ष चन्द्रकला पाखरिनले जारी गरेको वक्तव्यमा गोरामुमो द्वारा मुद्दा फत्ते नभए सम्म संघर्ष जारी राख्ने र संगठनप्रतिको प्रतिबद्धता निरन्तर रहने स्पष्ट पारिन्। उनले भनिन्, “हामी यहाँ बलियो रूपमा उभिएका छौं र अन्तिम क्षणसम्म गोरामुमोको साथ छोड्ने छैनौं। अब संगठनलाई अझ सशक्त बनाउँदै अघि बढ्ने समय आएको छ।” युवापुस्तालाई सम्बोधन गर्दै उनले बारम्बार पार्टी परिवर्तन गर्ने प्रवृत्तिले समाज र भावी पुस्ताको भविष्य निर्माण नहुने बताइन्। जातीय अस्मिता, पहिचान र माटोको सुरक्षाका लागि युवाहरू सचेत भई सही निर्णयका साथ अघि आउनुपर्नेमा उनले जोड दिइन्।
उनले बजारमा विभिन्न किसिमका भ्रम र हल्ला फैलिने भए पनि सत्य र आफ्नो अधिकारको पक्षमा दृढतापूर्वक उभिनुपर्ने उल्लेख गर्दै अहिलेको अवसर गुमाए भविष्यमा पछुताउनुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिइन्। सभामा हिमालयन प्लान्टेसन वर्कर्स युनियन (एचपीडब्ल्यु) लङ्भ्यु शाखाकी सदस्या मिना लामा, गोरायुमोका बादल राई, गोरानासंका सदस्यहरू तथा गोरामुमो तराई क्षेत्रका ठूलो संख्यामा कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभाले संगठनलाई जरा तहसम्म विस्तार गर्दै थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।












