गोर्खा राष्ट्रिय नारी संगठन दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत मगरजुङ–नागरी–धजिया समष्टिमा नागरी शाखा गठन गरिएको छ। उक्त जानकारी समष्टि सह-सचिवा सङ्गीता खवासले दिएकी छन्। समष्टि कार्यालयमा जे.बी. राईको अध्यक्षतामा सम्पन्न सांगठनिक सभामा समष्टिका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभामा नारी संगठनलाई अझ सशक्त र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न शाखाहरू गठन गर्ने प्रक्रियालाई तीव्रता दिने विषयमा छलफल भएको थियो।
छलफलपश्चात नागरी शाखा गठन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गर्दै नयाँ कार्यसमिति चयन गरिएको छ। नवगठित शाखाको अध्यक्षमा जैमती प्रधान, उपाध्यक्षमा अनिमा थामी, सचिवमा प्रमिता प्रधान, सह-सचिवमा प्रमिता मुखिया तथा कोषाध्यक्षमा सीता प्रधान चयन भएका छन्।
यसका साथै शाखाका विभिन्न जिम्मेवारी सम्हाल्न १० जना कार्यकारिणी सदस्यहरू पनि सर्वसम्मतिले चयन गरिएको बताइएको छ। सभामा वक्ताहरूले महिलाहरूको सक्रिय सहभागिताबाट संगठन अझ बलियो बन्ने विश्वास व्यक्त गर्दै समाज र समुदायका मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाउन नारी संगठनको भूमिका महत्वपूर्ण रहने बताएका थिए। नागरी शाखा गठनसँगै समष्टि क्षेत्रमा गोर्खा राष्ट्रिय नारी संगठनको सांगठनिक गतिविधि थप सशक्त बन्ने अपेक्षा गरिएको छ।
यसअघि गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत कैंजले–रेलिङ समष्टिको रावली गाउँ तथा भुजेल गाउँ क्षेत्रमा गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं) को प्रशाखा कमिटी गठन गरिएको थियो। सी. बी. राईको अध्यक्षतामा सम्पन्न संगठनात्मक सभामा समष्टि गोर्खा राष्ट्रिय नारी संगठनकी अध्यक्षा मुन्ना तामाङको प्रमुख उपस्थिति रहेको थियो। सभामा संगठनलाई अझ सशक्त, सक्रिय तथा प्रभावकारी ढंगले सञ्चालन गर्ने उद्देश्यले नयाँ कार्यकारिणी समिति गठन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको थियो।
सभाबाट प्रशाखा अध्यक्षमा प्रतीक्षा राई, उपाध्यक्षमा चन्द्रदेवी राई, सचिवामा डोमा शेर्पा, सह-सचिवमा रोसना राई तथा कोषाध्यक्षमा सरिता सुब्बालाई सर्वसम्मत रूपमा चयन गरिएको थियो।
त्यसैगरी कार्यकारिणी सदस्यहरूमा मुनु सुब्बा, कुमारी राई, सोममाया राई, चन्द्रदेवी राई, मनिषा छेत्री, अञ्जना राई, नरमाया सुब्बा, मेनुका राई, कल्पना राई, प्रतीक्षा राई, सञ्जु तामाङ, डोमा शेर्पा, सरिता सुब्बा तथा रोसना राईलाई चयन गरिएको थियो।
सभामा वक्ताहरूले महिला सशक्तीकरण, संगठन विस्तार तथा गोर्खा समुदायको अधिकार र पहिचानको निम्ति महिलाहरूको भूमिका अझ महत्वपूर्ण रहेको उल्लेख गर्दै नवगठित प्रशाखालाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। नवगठित समितिले संगठनको नीति, सिद्धान्त र उद्देश्यलाई गाउँस्तरसम्म प्रभावकारी रूपमा पुर्याउँदै महिला सहभागिता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।












