‘८० को दशकका अग्रज आन्दोलनकारीहरूसँग गोरामुमोको आत्मीय भेटघाट, योगदानको सम्मान गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) मिरिक समष्टि अन्तर्गत ओ.के.टी. विचगाउँ क्याम्प लाइन क्षेत्रमा ‘८० को दशकको गोर्खाल्याण्ड आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका अग्रज आन्दोलनकारीहरूसँग आत्मीय भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमका क्रममा आन्दोलनका अग्रज योद्धा श्री अरूण धिसिड, जसले आन्दोलनका क्रममा आफ्नो दाहिने हातको बुढी औँला गुमाएका थिए, श्री देवान्त राई, जसले आफ्नो देब्रे हातको पञ्जा गुमाएका थिए, तथा श्री बिमल राईको निवासमा पुगेर खादा ओढाई सम्मान व्यक्त गरिएको थियो।भेटघाटका क्रममा अग्रज आन्दोलनकारीहरूले तत्कालीन गोर्खाल्याण्ड आन्दोलनका संघर्षपूर्ण दिनहरूको स्मरण गर्दै आफ्ना अनुभवहरू साझा गरेका थिए। उनीहरूले गोर्खा जनमुक्ति आन्दोलनका संस्थापक तथा गोर्खा पिताका रूपमा सम्मानित Subash Ghisingसँगको भेटघाट र उहाँबाट सुनेका प्रेरणादायी शब्दहरू आज पनि स्मृतिमा ताजै रहेको बताएका थिए। उनीहरूले आन्दोलनका आदर्श र उद्देश्यप्रति आफूहरू आज पनि प्रतिबद्ध रहेको उल्लेख गर्दै गोरामुमोको हरियो झण्डाप्रति अन्तिम श्वाससम्म निःस्वार्थ रूपमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै, वर्तमान गोरामुमो केन्द्रीय अध्यक्ष Mann Ghisingको नेतृत्वमा जाति र माटोको हितका लागि भइरहेको कार्यप्रति विश्वास व्यक्त गरेका थिए।
यस अवसरमा समष्टि सभापति तथा सम्बन्धित शाखा समितिका पदाधिकारीहरूले वर्तमान परिस्थितिमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले गोर्खा समुदायको अधिकार, पहिचान र क्षेत्रीय हितका लागि गरिरहेका गतिविधिबारे जानकारी गराएका थिए। कार्यक्रममा बोल्दै श्री देवान्त राईले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सम्पूर्ण गोर्खा समुदायको हितका लागि एकजुट हुनुपर्ने आवश्यकता औँल्याए। त्यसैगरी श्री अरूण धिसिडले सत्य र असत्यको सही मूल्याङ्कन गर्दै उचित निर्णय लिने समय आएको बताउँदै विगतका गल्तीहरू नदोहोर्याउन सबैलाई आग्रह गरे। उहाँका भावुक भनाइहरूले उपस्थित सबैलाई आन्दोलनका ऐतिहासिक संघर्ष र बलिदानको सम्झना गराएको थियो। अग्रज आन्दोलनकारीहरूसँगको यस सम्मान तथा भलाकुसारी कार्यक्रममा महेन्द्र खड्का, प्रसित राई, सहदेव रणपहेली तथा जनक खड्काको उपस्थिति रहेको थियो। उक्त जानकारी सहदेव रणपहेलीले प्रेस विज्ञप्तिमार्फत दिएका हुन्।












