सङ्गीतज्ञ बुलु मुकारुङको एउटा खिरखिरे मोटरबाइक थियो । जात थियो मोपेट। पाइडल पनि हान्न मिल्ने । मोपेट कहिलेकाहीँ बुलुजस्तै मुडी भइदिन्थ्यो । उकालो त देख्नै नहुने । बढो थकित भरियाले झैँ स्वाँस्वाँ गर्न थाल्थ्यो र बीचमै सास छाडिदिन्थ्यो, अनि त्यसलाई बुलु घिसार्थे र म ठेल्थेँ।
कालोपुलको उकालोमा त्यसले धेरैपटक हाम्रो पाइन् जाँचेको छ ।
हो, त्यही मोटरबाइकमा चढेर हामी बिहानबिहान नारायणगोपालको घर पुग्थ्यौँ। प्रायः नारायणदाइ एक्लै भेटिन्थे । कहिलेकाहीँ काशीराम पनि हुन्थे तर विरलै । भाउजूलाई कहिल्यै देखेनौँ ।
त्यस समय नारायणदाइ बढो फुर्सदिलो समय बिताइरेका थिए । सांस्कृतिक संस्थानको महाप्रबन्धकबाट निवृत्त भएका थिए, सायद ललितकला क्याम्पस पनि जान छाडिसकेका थिए । उनी रमाइलारमाइला ‘किस्सा’ सुनाउँथे । अदितीय ‘सेन्स अफ ह्युमर’ भएका व्यक्ति थिए उनी । ठट्टा गरेका हुन् कि साँच्चै कुरा भनिरहेछन् ठम्याउन धौधौ पर्थ्यो । हम्मेसि उनी हाँस्दैनथे । र नहाँसी नै हामीलाई मूर्च्छा पार्थे ।
कुनै एक बिहानको कुरा हो, बुलु र म त्यही खिरखिरेको कान निमोठ्दै पुग्यौँ महारागञ्जमा नारायण–पेमाला निवास । हामीले घन्टी थिच्यौँ । उनैले ढोका खोले । सायद नारायणदाइ चुरोटको सर्को लगाउँदै हार्मोनियमका पर्दामा कुनै नयाँ धुन फिटिरहेका थिए । हामीलाई बस्ने मौन सङ्केत गरे र हार्मोनियमको पर्दामा क्लिप लगाएर छेउतिर घाचेडे । अनि बोले– “बिहान–बिहान आइपुग्नु भएछ !” यो औपचारिकता मात्र थियो वातावरणलाई सहज बनाउने । किनभने हामी बिहान–बिहान मात्र फुर्सदिलो हुन्थ्यौँ उनलाई भेट्न । यसबारे उनलाई राम्रो हेक्का थियो ।
“कुन गीतमा अभ्यास गर्दै हुनुहुन्छ ?” बुलु या मैले यो प्रश्न गरेका थियौँ। यो पनि औपचारिकताका लागि वातावरणलाई सहजीकण गर्न । उनले भने– “खासै केही होइन । काम केही छैन । घरमा पेमला पनि हुँदिनन् । अनि यही हार्मोनियमसँग बेलाबेला गफ चुट्छु ।” वास्तवमा उनलाई भेट्न जानुको कुनै खास तात्पर्य या उद्देश्य हुँदैनथ्यो । हाँस्नै बिर्सेको मान्छेजस्तो लाग्थ्यो मलाई त उनी
कथंकदाचित मुस्काइहाले भने पनि उनका कपेका पातला जुँगा मात्र फुरफुर हल्लिन्थे । तैपनि मौनतालाई चिर्ने केही उपाय त खोज्नु पर्थ्यो ।
यस्ता धेरै भेट, धेरैपटक भए नारायणदाइसँग । घरमा बाहेक पनि नाचघर, रत्न रेकर्डिङ, प्रज्ञा–प्रतिष्ठानतिर या कुनै कार्यक्रममा पातलोपातलो भेटघाट भइरहन्थ्यो ।
तर त्यसबेलासम्म मैले उनकी धर्मपत्नी पेमाला गुरुवाचार्यसँग साक्षात्कार गर्ने अवसर पाएको थिइन् । हामी नारायणदाइलाई भेट्न पुग्दा उनी कार्यालय गइसकेकी हुँदिरहिछिन् । पछि थाहा भयो उनी कान्तिपथको ओरिएन्टर बीमा कम्पनीमा जागिरे रहिछन् ।
हामीबीच त्यस्तो कुनै पारिवार घनिष्टता पनि त थिएन । त्यसैले पेमाला भाउजूसँग भेट्न मैले लामो समयको प्रतीक्षँ गर्नुपर्यो । संयोग पनि कस्तो भने नारायणगोपाल हुञ्जेल यो संयोग जुर्न सकेन । जब उनी दिवङ्गत भए । नारायणगोपाल सङ्गीत कोष स्थापित भयो । त्यसपछि पेमाला भाउजूसँग सम्पर्क र सत्सङ्ग गर्ने मौका पाएँ । अनि मात्र उनलाई देखेँ, चिनेँ र बुझेँ ।
पेमाला भाउजूसँग भेट्नुअघि मेरा कल्पनामा थोरै सुनेका र धेरै कल्पना गरिएका आधारमा निर्मित उनको बेग्लै छवि अङ्कित थियो । त्यसअघि मैले केही प्रसिद्ध गायक–सङ्गीतकारका पत्नीहरूको मनोभाव र व्यवहार अनुभव गरिसकेको थिएँ। तीमध्ये केही ‘ख्यातनामा’ का पत्नीहरू लोग्नेको ख्यातिको अभिमानको भारी बोकेर हिँड्न कहलिएका थिए । तिनका घरमा गएर तिनका पतिका बारेमा सोध्यो भने उनी भित्र बोलेको आवाज बाहिर सुनिइरहेको हुन्थ्यो तर घरमा हुनुहुन्न भनेर ढोकाको झस्केलासम्म टेक्न नदिई फर्काइदिन्थे । यही अनुभवलाई आधार बनाएर मैले पेमालाको छवि निर्माण गर्न खोजेको रहेछु, जुन नितान्त मिथ्यापूर्ण रहेछ । उनी अन्त्यन्त मिलनसार र सहयोगी भएर प्रस्तुत भइन्, भइरहिन् ।
नारायणगोपाल संगीतकोष स्थापना भयो र बसन्त चौधरीले मलाई त्यहाँ काम गर्न खटाए। बसन्त कोषाध्यक्ष थिए । अन्तिम समयमा नारायणगोपालले त ‘वसन्तलाई अध्यक्ष बनाउनू’ भनेर पेमालालाई उर्दी जारी गरेका थिए भन्थिन् पेमाला । तर वसन्तले नै उनलाई अध्यक्ष हुन कर गरेपछि उनी नारायणगोपालको कृति संरक्षण र उनको सपनाको बीउ छर्न अठोटको पटुका कसेर लागिपरेकी थिइन् ।
पेमाला नारायणगोपाल जीवित हुन्जेल उनकै लागि बाँचिन । नारायणको देहावसानपछि उनैका लागि बाँचिन् । उनी नारायणका साङ्गीतिक–यात्राको एकएक अभिलेख राखेर एउटा संग्रहालय बनाउन चाहन्थिन् । त्यसै अभिप्रायले पनि स्थापना भएको थियो नारायणगोपाल सङ्गीत कोष ।
नारायणगोपालको मुख्यतः दुई महान् सपना थिए– नेपाली अर्केस्ट्राको निर्माण र नेपाली भाषासँग सहकार्य गर्दै नेपाली सङ्गीतको विकास र विस्तार गर्नु । त्यसबेला पेमालाका निद्रा र भोक भनेकै अर्केस्ट्रा निर्माण थियो । उनी यसको जग बनाउन यसरी ध्यान्न भएर लागेकी थिइन्– उनको सोचाइमा यसबाहेक अर्को कुरै आँउदैनथ्यो । हामी धेरैपटक काठमाडौँ महानगरपालिकामा मेयर पीएल सिंहलाई भेट्न हिँडेरै पुगेका छौँ, जुद्धसडक । पीए सिंहले कोषको अकेस्ट्राका लागि बाजागाजा किन्न र यसको सञ्चालनका लागि आर्थिक सहयोग गर्ने वचन दिएका थिए । उनीसँग फोनमा समय लिन कठिन थियो । अनि हामी पुतलीसडकबाट लुखुरलुखुर हिँडेरै जुद्ध सडक पुग्थ्यौँ । हामी पुग्दा कहिले उनी भेटिँदैनथे । भेटिइहाले पनि व्यस्त भेटिन्थे । हो, भाउजूलाई उनी असाध्य श्रद्धा गर्थे । तर आफ्नो वचनमा त्यति प्रतिवद्ध देखिँदैनथे । बढी ठट्टा गर्थे । उनको कार्यकक्षमा थरीथरीका मानिस थुप्रिएका हुन्थे । उनी एकै बसाइमा नेपाली, नेवारी, अङ्ग्रेजी र हिन्दी– चारवटा भाषामा पालो गरीगरी भट्ट्याइरहेका हुन्थे । अङ्ग्रेज दातासँग कुरा गरिरहेका हुन्थे अङ्ग्रेजीमा । त्यही बेला कुनै भारतीय पस्यो भने हिन्दीमा सुरु भइहाल्थे । कर्मचारी प्रायः नेवार पनि हुन्थे । उनीहरूलाई नेपाल भाषामा निर्देशन दिन्थे । यति गरेर हामीतिर आँखा उठाउन भ्याए भने बल्ल नेपालीमा कुरा गर्थे । उनी देशको प्रधानमन्त्रीभन्दा व्यस्त थिए तर उनको भेटघाट कहिल्यै व्यवस्थित देखिँदैनथ्यो। यति गरेर कदाचित् हामीलाई भेट्न भने तारिख दिन्थे– ‘फलानो दिन आउनुहोला हन्ड्रेड पर्सेन्ट काम गरिदिन्छु ।’
तर भाउजू कहिल्यै हताश र निराश भइनन् । नारायणगोपाललाई त कति माया गर्थिन् ? त्यो शब्दमा उतार्न सकिन्नँ । म उहाँ (नारायणगोपाल) को याद आयो भने उहाँका गीत सुनेर मन बुझाउँछु भन्थिन् । अनि क्सासेटमा गीत बजाएर मज्जाले रोइदिन्थिन् ।
उनलाई नारायणगोपालको यादले बाँच्न प्रेरणा दिएको थियो । नारायणगोपालले उनलाई जिम्मा लगाएर गएका कामहरू पूरा गर्न बाँच्न बाध्य पारेको थियो । उनी आफ्ना पतिलाई मात्र होइन, सबैलाई माया र स्नेह गर्ने महिला थिइन् । म त्यस बेला अनिद्राको सिकार भएको थिएँ । त्यसबेला भर्खर बजारमा आएको थियो हरियो रङको बोलत भएको चिनियाँ ब्रान्डी । उनले एक दिन एक बोतल ब्रान्डी मेरो हातमा राखिदिँदै भनिनँ– ‘भाइ ! राती सुत्ने बेलामा यो एक पेग खानूस् निद्रा लाग्छ ।”
नारायणगोपाल बितेपछि उनको सम्झनामा एउटा भव्य साङ्गीतिक साँझ गर्ने निर्णय भयो– सङ्गीत कोषको सहयोगार्थ । नारायणगोपालका मीतज्यू गोपाल योञ्जनको सक्रियतामा प्रज्ञा–प्रतिष्ठानमा एक भव्य कार्यक्रम भयो । जसको आयोजनामा वसन्त चौधरीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। त्यसपछि नारायणगोपाल स्मृतिविशेषाङ्क निकाल्ने प्रस्ताव आयो । नारायणगोपलले नै कुनै बेला सम्पादन गरेको पत्रिका ‘बागीना’ लाई नै स्मृति–अङ्कको स्वरूप दिने निर्णय भयो । यसका लागि सम्पादकको मलाई र सहायक सम्पादनको जिम्मेवारी रबिन नेपालीलाई दिइयो । हामी भातपानी नभनी मान्छेका घरघर पुग्यौँ । अधिकांशका भनाइ टेपमा रेकर्ड गरी, त्यसलाई उतार्यौँ, सम्पादन गर्यौँ र छाप्यौँ । हामीले भदौरे घामपानी पनि भनेनौँ र माघे कठ्याङ्ग्रोको पनि वास्ता गरेनौँ । त्यसको पछाडि यिनै पेमाला भाउजूको स्मेहको ढाप र प्रोत्साहन थियो ।
यिनीहरूलाई भोक लाग्यो, थाके होलान् भनेर खाजा खवाउँथिन् । आफ्नै भाइहरूलाई जस्तो स्नेह गर्थिन् । यस कार्यमा नगेन्द्र थापा विशेष स्रोत हुन्थे । यसरी प्रकाशित भएको हो, ‘वागीना : नारायणगोपाल स्मृति अङ्क’
तर यसकी एक सदस्य जो अहिले अध्यक्ष भएकी छन्, तिनी अनेक खोँचे थापेर काममा बाधा–व्यवधान गरिरहन्थिन् । अरू पनि यस्ता गम्भीर घटना भए । एउटा घटनाबाट यिनै महिलाको कटुवचनका कारण गीतकार कालीप्रसाद रिजाल आक्रोशित भएर बैठक बीचैमा छोडेर निस्के । त्यसपछि उनले सङ्गीत कोषमा फेरि पाइलो नै हालेनन् । वागीना निकाल्ने क्रममा पनि उनले रडाको मच्चाइन् । तर किन हो भाउजू यिनको कुरा काट्न सक्तिनथिन् र मौन भएर टुलुटुल हेरि मात्र रहन्थिन् । पछि मैले पनि सङ्गीत कोष छाडे ।
यिनी बितेपछि त यस्तो दिन पनि आयो, नारायणगोपालका अनन्य मित्र, हितैषी, नङमासु जोडिएका भनेर चिनिएका नगेन्द्र थापा, विश्वम्भर प्याकुर्यालसम्मलाई यी महिलाले सङ्गीत कोषको दैलोबाट घोक्रठ्याक लगाइदिइन् ।
०००
पेमाला लामाले पहिलोपटक नारायणगोपालको स्वर सुनिन्– रेडियो नेपालबाट । उनी त्यसबेला दार्जीलिङको गभर्मेन्ट कलेजमा पढ्थिन् । एउटा होस्टेलमा बस्थिन् । उनीसँगै बस्थिन् सिक्किमकी देविका राई । उनीहरू खुब मिल्थे । उनकी भान्छे दिदीको एउटा सानो ट्रान्जिस्टर थियो । शनिबार र आइतबार उतातिर बिदा हुने भएकाले उनीहरू त्यही भान्छे दिदीको रेडियोमा नेपाली गीत सुनेर साङ्गीतिक धित मार्ने गर्थे । त्यही रेडियोमा हो पहिलोपटक उनले नारायणगोपालको स्वर सुनेको । त्यस दिन त्यो स्वर सुनेर उनी लट्ठ परिन् । पहिले कतै नसुनेको अर्कै, मन्त्रमुग्ध पार्ने, दोहोर्याएर सुनिरहूँजस्तो लाग्ने स्वर । सायद स्वरको मोहनी यसैलाई भन्छन् होला । उनलाई नारायणगोपालको स्वरले पहिलो झमटमै मोहनी लगायो । तर उनलाई गीतका शब्द र लयले भने त्यति तानेनन् । उनलाई लाग्यो– यस्तो वजनदार, जादुगरी स्वरले हृदयमै हिर्काउने गम्भीर र मार्मिक गीत–सङ्गीत पो गाउनुपर्थ्यो त !
पछि उनी अध्ययन सकेर दार्जिलिङको सुकियापोखरी (माइत) मा शिक्षण गर्न थालिन्। तर पनि त्यस दिउँसो सुनेको नारायणगोपालको स्वरले उनलाई पछ्याउन छाडेन । उनी नारायणगोपालकी फ्यान नै भइन् र नारायणसँग वार्तालाप गर्न लालायित भइन् । उनी नारायणसँग उनको स्वरको बयान गर्न चाहिन्थिन् र त्यस्तो स्वरले यस्ता गीत गाउने होइन भनेर सल्लाह दिन पनि चाहन्थिन्। तर सम्पर्कको कुनै माध्यम थिएन। आजजस्तो न मान्छेका हातहातमा मोबाइल फोन हुन्थे, न त इन्टरनेट, फेसबुक–ट्विटरमा सर्च गर्ना साथ सम्पर्क सूत्र फेला पार्न सकिन्थ्यो । टेलिफोन समेत दुर्लभ थियो ।
त्यसबेला पत्रमित्रता (पेनपाल) को खुब फेसन चलेको थियो । तर पत्रमित्रता गाँस्न यति टाढा बसेकी उनलाई नेपालको काठमाडौँमा बस्ने नारायणगोपालको ठेगाना पाउन त्यति सजिलो थिएन । तर उनले हिम्मत हारिनन् । उनले नारायणगोपालको ठेगाना धुँइधुँइती खोज्न थालिन् । गीत–सङ्गीतमा चिनेजानेका, नजानेका सबैसँग नारायणगोपालको पत्रचार गर्ने ठेगाना मागिहिँडिन्।











