Darjeeling Hill Agriculture
Darjeeling Hill Agriculture

पलायनको भीड़मा गाउँकै माटो रोज्ने खन्जु शेर्पा        

Authored By: सञ्जय निरौला, बिजनबारी 

Share this news

मानव सभ्यताको शुरुवातदेखि नै कृषि र मानव जीवन एक-अर्कासँग गाँसिएका छन्। तर आज पहाड़ी भेकमा युवाहरूको पलायनले खेतीयोग्य जमिन बाँझिँदै गएको छ। यस्ता कठिन परिस्थितिमा पनि आफ्नै माटोमा सम्भावना खोज्दै सफलताको कथा लेख्ने पात्रमध्ये दार्जीलिङको रिम्बिक-लोधोमा क्षेत्रका खन्जु शेर्पा एक प्रेरणादायी नाम हुन्। उनले आधुनिक कृषि र पशुपालनमार्फत गाउँमै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्।

‘‘पहाड़का विद्यालयहरूमा कृषिसम्बन्धि व्यवहारिक शिक्षा जरुरी छ। नत्र अबको बीस वर्षपछि पहाड़को सबै जमिन जंगलमा परिणत हुन्छ’’

दार्जीलिङ शहरबाट निक्कै टाढ़ा सुदुरवर्ती रिम्बिक-लोधोमा क्षेत्रको लोधोमा दुई ग्रामको फेदीखोला निवासी खन्जु शेर्पा आफ्नै ठाउँमा मालिक बनौं भन्ने उद्यमी हुन्। जसले खेतीपातीकै माध्यमबाट आफ्नो पहिचान समाजसामु बनाउँदै किसानहरू केवल आवश्यकतामा मात्रै होइन सफल उत्पादक भएर बाँच्न सक्छन् भन्ने उदाहरण बनाएका छन्। बाल्यकालमा बाउबाजेले घरकै पुस्तैनी खेतीपाती र पशुपालन गरेको ध्यानपूर्वक हेरिरहन्थे, तर त्यसतर्फ लाग्ने खासै चासो उनले देखाएनन्। बरू चालक बनेर लगभग तीन दशक गाड़ी चलाए। चालक बनेर गाउँ-गाउँमा पुग्दा बारीमा लगाएको खेती तथा गोठमा बाँधेको चौपायाहरू हेर्दा उनलाई निक्कै आनन्द लाग्थ्यो।

समय मिल्दा गाउँवासीहरूसँग खेतीपाती र पशुपालनबारेमा उनी चर्चा गर्थे। खेतीपातीले भित्र कता-कता छोए पनि त्यो मनभित्र नै रह्यो। यस्तै खेती र पशुपालनले आफ्नो पहिचान बनाउला भन्ने उनलाई थाहा थिएन। आफ्नो पेशामा निरन्तरता दिँदै चालककै रूपमा परिवारसँग खन्जु दिल्ली पुगे। गाड़ी लिएर प्राय:जसो दिल्लीबाट कुल्लु मनाली हिमाचल पुग्थे। आफ्नै गाउँजस्तो देखिने ठाउँहरूका खेतीपतीहरू नजिकैबाट हेर्थे। आफ्नो गाउँमा पारम्परिक खेतीपाती चलिरहेको समयमा उता आधुनिक पद्धतिको खेती देख्दा यसतर्फ उनको चासो बढ़्यो। एकदिन आफ्नै गाउँमा भिन्नै प्रकारले खेती गर्ने सोच मनभित्र बनाए। तर परिस्थितिले त्यस बखत साथ दिएन।

खेतीपातीको मायाले खन्जुलाई दिल्लीको सबैभन्दा ठूलो सब्जीमण्डीमध्ये एक आजादपुरमा बिहानै पुर्‍याउँथ्यो। खन्जुले आफूलाई चाहिने सागसब्जी किन्थे, र पहाड़ी क्षेत्रबाट उत्पादित सब्जी बिक्रेताहरूबाट तयारी गर्ने उपायहरू सोधपुछ गर्थे। सब्जीमध्येमा उनलाई हिमाचलमा उत्पादित मटरले मन जित्यो। गाउँमा मटर रोप्ने सुरले बिऊ किन्न दिल्ली पुगे, तर थोक बिक्रेताहरूले कम्ति बिऊ दिन नमान्दा मण्डीमै बिक्री गर्न ल्याएको सुख्खा मटर गाउँमा ल्याएर पहिलोपटक केही भिन्नै प्रजातिको हाइब्रिड मटर रोपे। यसबाट राम्रो फसल हुँदा खन्जुले दिल्ली नजाने निर्णय गरे।

सन् २०१० देखि गाउँमै पारम्पारिकलाई नयाँ पद्धतिमा रुपान्तरण गर्ने सोंच बढ़ेको खन्जु बताउँछन्। उनले शुरुमा खेतीको पारम्परिक विचारधारालाई हटाउन चुनौतीहरूको सामना गरे। तर आत्मविश्‍वासले भरिएको खन्जुलाई पारम्परिक तरिकाको आलु, मकै र पुरानो मटरको खेती नोक्सानीमा चलेको गाउँलेहरूलाई विश्‍वास दिलाउन समय लागेन। यस्तैमा सालेबुङ निवासी के. बी. प्रधानसँगको भेट खेतीपातीमा उनको नयाँ मोड़ बन्यो। दुवैबीच क्षेत्रमा हाइब्रिड भित्र्याउने चर्चा भयो। त्यसपछि खन्जुले बारीमा २१ केजी हाइब्रिड मटरको खेती लगाए।

दिल्लीबाट ल्याएको मटरले राम्रो फसल दिएको देखेका परिवारले खन्जुलाई मटरखेतीमा साथ दिए। बिस्तारै मटरसँगै खेतीपातीमा खन्जुको आधुनिक धारणा फस्टाउन थाल्यो। एक केजी मटरबाट १3 मनभन्दा बढ़ी दरले फलेपछि एकै सिजनमा लगभग पच्चीस टनभन्दा बढ़ी मटर उमारे खन्जुले। एकै पटकमा खन्जुलाई गाउँसँगै क्षेत्रमै परिचय गरायो। गाउँले व्यापारीले भनेजस्तो दाम नदिएपछि खन्जु पहिलोपटक आफ्नै बारीको मटर लिएर सिलगढ़ी पुगे। गाउँको व्यापारीको दाम र सिलगढ़ीको दाममा आकाशपताल फरक पाएपछि उनले किसानहरू उँभो नलागेको कारण बुझे। यसरी शुरु भयो खन्जुको कृषि यात्रा।

एकैपटक निक्कै सफल भएपछि खन्जुले बारीमा विभिन्न खेती मात्रै होइन पशुपालनलाई पनि प्रमुखता दिएर गाई-बाख्रा, सुँगुरहरू पाल्नथाले। दुध उत्पादन बढ़्न थालेपछि बिक्री वितरणमा समस्या देखेपछि घरैमा डेरी शुरु गरे। केवल घ्यू र डग चाउ (कुकुरले खाने विशेष प्रकारको छुर्पी) उत्पादन गर्नथाले। झेपी ग्रामको पूर्व प्रधान तथा बिजनबारी भेकका इस्कूसका जनक बी. एल. सुब्बाको प्रेरणामा इस्कूसमा आधुनिकता भित्र्याउँदै थाङ्ग्राबाट मचानसम्म पुर्‍याए। आधुनिकताको कारण एकैपटकमा बीस टनभन्दा बढ़ी इस्कूस उत्पादन हुनथाल्यो। एकै वर्ष १5 लाखभन्दा बढ़ी  आम्दानी इस्कूसले दिनथाल्यो। यता पशुपालनमा जमुनापारी, बिटललगायतका बाख्राहरू भित्र्याए अनि घरैमा सुँगुर फार्म पनि शुरु गरे।

बिस्तारै उत्पादन बढ़्यो शुरुमा राम्रो रहेको बजार बिस्तारै खस्किन थाल्यो। यस बेलासम्म खन्जुले खेतीपाती र पशुपालनमा अनुभव बटुलीसकेका थिए। यसैबीच शुरु भयो सन् २०१७ मा गोर्खाल्याण्डसँगै अनिश्‍चितकालीन हड़ताल। यसले खन्जुलाई नराम्रो असर पार्‍यो। विदेशमा पठाउन तयारी गर्दै गरेको लगभग एक टन कुकुरले खाने छुर्पी नस्ट भयो। सुँगुर बिक्री नभएपछि कौड़ीको मोलमा बिक्री गर्नुपर्‍यो। त्यस समयलाई कालो दिनको रुपमा सम्झिन्छन्। ‘‘आन्दोलनको आड़मा कति कहाँदेखि कहाँसम्म पुगे, तर म चाहिँ प्राय: प्राय: शून्यमा पुगें’’, उनी भन्छन्, ‘‘मलाई आन्दोलनले गर्नुसम्म गर्‍यो, तर मेरो हिम्मत घटेन। मेरो लाखौं रुपियाँ नोक्सानी भयो, तर आत्मविश्‍वास डगमगाएन।’’ स्थिति समान्य भएपछि पुनः खन्जुले कामलाई निरन्तरता दिए।

केही वर्षयता इस्कूस र मटरले भनेजस्तो उत्पादन नभएको उनी बताउँछन्। उनको बारीमा अहिले नयाँ पद्धतिमा गरिने खेतीहरू जुगुनी, रेड क्याबेज, पोकचोइ, सिल्लरीहरू रोपेका छन्। पशुपालनमा गाई-बाख्रा, सुँगुर अनि धेरै कुखुरा-हाँसहरू देख्न पाइन्छ। फरक सोच्ने खन्जुले पाँच ऐकर जमिनमा खेतीपाती गर्छन्। नयाँ पद्धतिमा खेती गर्नसक्ने किसानहरू आउँदो दशकसम्ममा करोड़पति बन्नसक्ने उनको भनाइ छ। उनी भन्छन्, ‘‘मैले दागोपापको कार्यकालदेखि नै धेरै ठाउँमा नोकरी गरें, तर मनमा शान्ति कहिले भएन। अहिले आफ्नै मेहनतले गर्दा शान्ति छ।’’

नयाँ पिढ़ीकाहरूलाई विदेशमा अरुको नोकरी गर्नुको बदली खेतीपातीसँग जोड़िन अनुरोध गर्छन्। खन्जु भन्छन्, ‘‘युवाहरूको निम्ति खेतीपातीमा भविष्य उज्ज्वल छ, तर धर्यैता जरुरी छ। उतारचढ़ावसँग नढ़मगाई आफूले पाएको शिक्षालाई प्रयोग गरेर वैज्ञानिक पद्धतिमा खेती गर्नुपर्छ।’’ अर्कोतिर युवाहरू खेतीसँग नजोड़िनुको कारण सम्बन्धित सरकार दायी रहेको उनको भनाइ छ। उनी भन्छन्, ‘‘पहाड़मा कृषिसम्बन्धि शिक्षाका लागि भनेजस्तो कलेज छैन, तब कहाँबाट आधुनिक किसानहरू उत्पादन हुन्छ? यसैले म भन्छु पहाड़का विद्यालयहरूमा कृषिसम्बन्धि व्यवहारिक शिक्षा जरुरी छ। नत्र अबको बीस वर्षपछि पहाड़को सबै जमिन जंगलमा परिणत हुन्छ।’’ खण्ड पशु विभागले आफूलाई धेरै सहयोग गरेको उनी बताउँछन्। उनलाई पशुपालन विभागले खण्ड एवं जिल्ला स्तरमा सम्मान गरिसकेको छ।

पहाड़को एक थुम्कामा बसेर खेतीपातीमा आधुनिकता भित्र्याउने सोच राख्ने खन्जु शेर्पा केवल एक सफल किसानमात्रै होइनन् आत्माविश्‍वास र लगनशिलताले घरमै सफलता पाउन सकिन्छ भन्ने उदाहरण हुन्। यसैले खन्जुको दुर्गम गाउँको आवजलाई आत्मसात गर्दै युवाहरू हिँड़्न मात्रै खोजे आफ्नै ठाउँमा मालिक भएर बाँच्न सकिने सम्भावनाहरू प्रशस्तै देखिन्छ।


Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ