नाटकलाई बचाउन यसैलाई आफ्नो जीवनशैली बनाउँदै आएका दिग्गज नाट्यकर्मी टी. बी. बराईलीबारे बिजनबारीबाट लेख्छन् हिमालय दर्पणका संवाददाता सञ्जय निरौला
कहिले साक्षात् भोलेबाबा बनेर धार्मिक समारोहमा सहभागी हुन्छन्, कहिले सान्टाक्लज बनेर भुराभुरीलाई चकलेट बाँड़्दै टोल टोलमा हिँड्छन्। यस्तै कहिले ठ्याक्कै पैगम्बरको पहिरनमा ईद र अन्य मुस्लिम चाड़मा सबैको घरमा पुगेर ‘सबका मालिक एक हो’ को सन्देश समाजसामु प्रस्तुत गर्छन्। राष्ट्रिय पर्वमा महात्मा गान्धीको भेषमा दिनभर मैदानमा सबैलाई देशप्रेमको पाठ सिकाउँछन्। यसैले त उनी बहुरुपी प्रतिभाको रूपमा चर्चित छन्।
‘‘कुनै पनि अवस्थामा नाटक बाँच्नुपर्छ। चाहे सड़क नाटक होस् या मञ्चमा मञ्चन गर्ने नाटकहरू होस् यसलाई बचाउने माहोल समाजले तयार गर्नुपर्छ’’
आफ्नो कलालाई ठ्याक्कै पेशागत रूपमा नलिने यी प्रतिभाका धनी हुन् बिजनबारी निवासी टेकबहादुर, जो टी. बी. बराईली नामले पनि चिनिन्छन्। सन् १९६५ अर्थात छ दशकदेखि अनवरत नाटकलाई अघि बढ़ाउँदै यसैबाटै समाजलाई मार्गदर्शन गराउँदै आएका उनी दार्जीलिङ्गे नाटकका भीष्मपितामह हुन्। बिजनबारी नगर पुस्तकालयका पूर्व लाइब्रेरियन रहेका उनले सड़क नाटकदेखि खुल्ला मैदान हुँदै मञ्चसम्म आफ्नो प्रतिभाले वाहवाही बटुल्न सफल भएका छन्। छ दर्जन हिउँद काटिसकेका बराइलीका उमेरजस्तै नाटकहरू पनि परिपक्व छन्। नाटकको क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै यस वर्ष गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभागद्वारा उनी ‘डी बी परियार स्मृति पुरस्कार २०२५’ले सम्मानित भएका छन्। यसका साथै विभिन्न संघ-संस्थाबाट एक दर्जनभन्दा बढ़ी पुरस्कारहरू प्राप्त गरिसकेका छन्।

स्व० मनबहादुर बराईली र सावित्री बराइलीको कोखबाट ९ मार्च १९५० मा जन्मिएका बराईलीलाई बाल्यकालदेखि नाटकप्रति आकर्षित थिए। १३ वर्षको कलिलो उमेरमा विद्यासागर उच्च माध्यमिक विद्यालयका शिक्षक सूर्यकुमार सुब्बाको निर्देशनमा निर्मित नाटक ‘सीता हरण’मा नारदमुनिको अभिनय गरेका थिए। सुब्बाद्वारा अनुवादित एकांकी नाटक ‘विशपको मोमदानी’मा महिलाको भूमिकाका पहिलोपटक मञ्चमा प्रस्तुत भए। त्यसपछि बलकृष्ण समको नाटक ‘भक्त भानुभक्त’मा सानो बालकको भूमिकासँगै नाटकहरूमा देखिन थाले।
पशु चिकित्सक (डा० मनबहादुर बराइली) र स्व० आर. बी. राईको सानिध्यले कलिलो उमेरका बराइलीले नाटकबारे गहिराइमा बुझ्ने अवसर पाए। भाषा आन्दोलनको सन्देशमूलक नाटक ‘बिजनबारीदेखि रम्घासम्म’ र सन् १९७६ मा स्व० शोभित राईद्वारा लिखित अनि स्व० आर बी राईद्वारा निर्देशित नाटक ‘चिसो आत्मा’ बिजनबारी र मङ्पूमा मञ्चन गरिएको थियो, जसमा उनले सहायक व्यवस्थापकको भूमिका निभाएका थिए। सो बेलासम्म टी. बी बराईली नाटकमा निक्कै खारिएका थिए।
उनले नाटक लेख्ने, निर्देशन गर्ने र आफै खेल्ने संकल्प लिए। एक वर्षको मेहनत र दुई महिनाको अभ्यासपछि सन् १९७५ को दिसम्बरको अन्तिम सातामा ‘प्रतीक्षा ओइलिएर जान्छ’ विद्यासागर उच्च माध्यमिक विद्यालययमा तीन दिनसम्म मञ्चन गरे। यसै वर्ष दिसम्बर २०२५ मा यो नाटकले ५० वर्ष पूरा गर्नेछ। उनले नाटकलाई शरीरको एक अभिन्न अंग मानेर निरन्तर लागिरहे। अस्वस्थताका कारण लगभग एक दशक नाटकमा सक्रिय नभए पनि नाटकको धोकोलाई बिमारीले मेटाउन सकेन। शारीरिक रूपमा मञ्चमा पुग्न नसके पनि उनको मनमस्तिष्क नाटकमै दौड़ीरह्यो। निको भएपछि झनै नाटकमा सक्रिय बने।
सन् १९९९ मा शारदा संगीतालय खरसाङद्वारा आयोजित एकांकी नाटक प्रतियोगितामा उनीद्वारा निर्देशित नाटक ‘विनाशको प्रतीक्षामा’ले प्रथम पुरस्कारसँगै सर्वश्रेष्ठ नाटक, सर्वश्रेष्ठ अभिनेता तथा श्रेष्ठ अभिनेत्रीको पुरस्कार प्राप्त गरेको थियो। यसरी निरन्तर नाटकमा लागिरहेका बराईलीका नाटक सर्वभारतीय स्तरमा आयोजित नाट्य महोत्सवमा मञ्चन भयो। सन् २००८ मा ओडिसाको कटक शहरमा आयोजित नाट्य महोत्सवमा नाटक ‘वसुन्धरा’ले विषयवस्तु सम्मान प्राप्त गरेको थियो। सन् २००९ मा उत्तर प्रदेशको आगरामा संस्कार भारती नाट्य केन्द्रद्वारा आयोजित राष्ट्रिय नाट्य एवं लोकनृत्य महोत्सवमा ‘अब अबेर नगरौं’ एकांकीले तेस्रो स्थान हासिल गर्यो। यसरी उनका नाटकले राष्ट्रिय मञ्चमा छुट्टै स्थान ओगटेको थियो।

टी. बी. बराईलीले लगभग एक दर्जन जति सड़क नाटक प्रदर्शन गरिसकेका छन्। उनको नाटक ‘जिउँदो लाश’ले गोर्खा दु:ख निवारक सम्मेलनद्वारा सन् २०२२ मा आयोजित एकांकी नाटक प्रतियोगितामा प्रथम पुरस्कार जितेको थियो। नाटकबाहेक उनले केही स्थानीय स्तरका नेपाली फिल्महरूको निर्देशनसँगै अभिनय पनि गरेका छन्। जसमा ‘वियोग’ फिचर फिल्म आफैले लेखेर निर्देशन गरेका छन्। उनले अभिनय गरेका चलचित्रहरू भवेश ठकुरीद्वारा निर्देशित ‘तुवाँलो’, युवराज छेत्रीद्वारा निर्मित ‘घाइते शरीर’ प्रमुख रहेका छन् भने केही चलचित्रहरू निर्माणाधीन अवस्थामा रहेको छ।
गाउँले परिवेशसँगै समाजमा घटेका घटनाहरूकै आधारमा नाटक तयार गर्न बढ़ी रुचाउने बराईली नाटकलाई अभिनय गर्ने एक मञ्च मात्रै होइन समाजको दर्पण मान्छन्। नाटक मञ्चनभन्दा पनि रंगमञ्च तयार पारिदिने सहयोगीहरूलाई सफलताको श्रेय दिन्छन्। यसैले उनको रंगमञ्च सहयोगी कमल कुमार प्रधानलाई सधैं मनमा राख्छन्। नाटकबाट समाजलाई कुरिती र कुसंस्कारको दिशातिर नजाने लाखेस् पनि गर्छन्। उनको नाटकमा कतै मानव तस्करीका घटना कतै दुर्व्यसनमा चुर्लुम्म डुबेकाहरू, घरका कथाव्यथाहरू समेटिएका हुन्छन्। उनी भन्छन्, ‘‘हामी भाषाको कुरा त गर्छौं, तर हाम्रो भाषामा बनिएका नाटकहरु हेर्नसम्म जाँदैनौं। यसैले हाम्रो भाषामा बनेका नाटकहरू बचाउनु हो भने दर्शकहरुको माया र नाटकप्रतिको लगाउ जागृत हुनपर्छ। नाटक बाँचे भाषा बाँच्नमा कुनै समस्या हुँदैन।’’
‘‘कुनै पनि अवस्थामा नाटक बाँच्नुपर्छ। चाहे सड़क नाटक होस् या मञ्चमा मञ्चन गर्ने नाटकहरू होस् यसलाई बचाउने माहोल समाजले तयार गर्नुपर्छ’’, उनी भन्छन्, ‘‘दर्शकहरूबाट मञ्चन भएका नाटकमाथि चर्चा-परिचर्चा हुनुपर्छ, सुझाव आउनुपर्छ, तब नाटकप्रति युवाहरूको जोश र जाँगर बढ़्छ। आजको समाज तथा सामाजिक सञ्जालको प्रयोगले नाटकहरूलाई खतरा हुन्छ कि भन्ने शंका उनी गर्छन्। तथापि गोर्खा दु:ख निवारक सम्मेलनले वार्षिक रूपमा आयोजना गर्ने नाटक प्रतियोगिता जस्तो फलदायी कार्यक्रमले नाटकलाई बचाउन काम गर्ला भन्ने आश उनमा छ।
नाटककार टी. बी. बराईली दार्जीलिङको नाट्य क्षेत्रका कलाकार मात्रै होइनन् प्रकृतिको परागमिलन बचाई राख्ने भमरा र मौरीजस्तै नाटक बचाई राख्ने आशाका किरण हुन्। उनले देखेका सपना नाटकलाई मनोरञ्जन मात्रै होइन समाजको जिवन्त बनाउन तपाई र हाम्रो कर्तव्य पनि हो।











