दार्जीलिङ,20 जुलाई(निसं): सिक्किमका म्याराथन म्यान-का रूपमा परिचित अमर सुब्बाले आफ्ना विद्यार्थी प्रितम राईसँग मिलेर पश्चिम सिक्किमको दारापदेखि सिलगढीको दार्जीलिङ मोडसम्म 132 किलोमिटर लामो हेल्थ अवेयरनेस साथै ग्राटिट्युड रन सफलतापूर्वक सम्पन्न भयो।
स्वास्थ्यप्रति जनचेतना फैलाउने तथा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले)-ले स्वास्थ्य, खेलकुद, पर्यटन, संगीतलगायत विभिन्न क्षेत्रमा पुर्याउँदै आएको योगदानप्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले उक्त दौडको आयोजना गरिएको थियो।
दौड 17 जुलाई बिहान 4 बजी पश्चिम सिक्किमको दारापबाट सुरु भएको थियो। पहिलो चरणमा अमर सुब्बा र प्रितम राईले 70 किलोमिटर दूरी पार गर्दै दार्जीलिङ पुगेका थिए। दार्जीलिङमा उनीहरूलाई विकरण फाउण्डेसन र अफट्र्याक मुभमेन्ट का प्रतिनिधिहरूले भव्य स्वागत गर्यो।
दोस्रो चरण गत 18 जुलाई बिहान 7 बजी बजे दार्जीलिङको चौरास्ताबाट सुरु गरिएको थियो। यस चरणमा पश्चिम बङ्गाल पुलिसका सहायक उपनिरीक्षक (एएसआई) तथा अमर सुब्बाका विद्यार्थी जतिन छेत्री पनि टोलीमा सहभागी बनेका थिए।तीनै जनाले दार्जीलिङदेखि सिलगढीको दार्जीलिङ मोडसम्मको बाँकी 62 किलोमिटर दूरी पूरा गर्दै साँझ लगभग 4:30 बजी आफ्नो गन्तव्यमा पुगेका थिए।
दौडका क्रममा खरसाङ एथलेटिक्स क्लब, तिनधारे रनर्स एसोसिएसन लगायत विभिन्न रनिङ समूहले सहभागीहरूको स्वागत गर्दै निरन्तर उत्साहवर्द्धन गरेका थिए।दौड सम्पन्न भएपछि अमर सुब्बाले यो अभियान सानो रूपमा आयोजना गरिए पनि यसको उद्देश्य निकै ठूलो रहेको बताए। उनले भने,मानिसहरू बिरामी भएपछि अस्पताल धाउने भन्दा निरोगी रहन नियमित व्यायाम र सडकमा दौडने बानी बसालून् भन्ने हाम्रो सन्देश हो। साथै सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले)-ले खेलकुद तथा स्वास्थ्य क्षेत्रलाई दिएको प्राथमिकता र प्रोत्साहनलाई समाजसम्म पुर्याउनु पनि अभियानको मुख्य उद्देश्य रहेको उनले बताए।
यस सफल अभियानले नियमित व्यायाम, स्वस्थ जीवनशैली, सामुदायिक सहभागिता तथा खेलकुद मार्फत सकारात्मक सामाजिक सन्देश प्रवाह गर्न सकिने महत्वपूर्ण उदाहरण प्रस्तुत गरेकोछ।












