You are currently viewing विषादी हालिएको तरकारीबाट कसरी बच्ने ?

विषादी हालिएको तरकारीबाट कसरी बच्ने ?

काठमाडौँ — तपाईं कस्तो तरकारी किन्दै हुनुहन्छ ? टलक्क टल्किने, ताजा देखिने वा अलिअलि किरा लागेको, ओइलिएको ? स्वाभाविक रुपमा तपाईंको पहिलो रोजाइ टलक्क टल्किने ताजा तरकारी पर्छ । तर, यस्तै तरकारीमा विषादीको मात्रा बढी हुने गरेको पाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्ने अध्ययन-अनुगमनले टलक्क टल्किने तरकारीभन्दा अलिअलि ओइलिएको तरकारीमा कम विषादी हुने गरेको छ । त्यस्तै, बेमौसमीको तुलनामा मौसमी तरकारीमा विषादी कम हुने गरेको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहन कृष्ण महर्जन बताउँछन् । धेरैजसो विषादीको अवशेष तरकारीमा एक सातासम्म रहने उनले जनाए ।

‘हेर्दा राम्रो देखिने भए पनि विषादीको सम्भावना त्यस्तै तरकारीमा हुन्छ । अलिअलि किरा लागेको, ओइलिएको तरकारीमा विषादीको अवशेष कम हुन्छ,’ महर्जनले भने, ‘बढी फलाउने, किरा लाग्न नदिने सोचाइका साथ विषादीको प्रयोग बढ्दो छ । तर कति मात्रामा प्रयोग गर्ने किसान सचेत छैनन् ।’

कृषकले मनलाग्दी विषादी प्रयोग गर्दा त्यसको प्रत्यक्ष प्रभाव उपभोक्तालाई पर्छ । हानिकारक विषादीले सर्वसाधरणमा विभिन्न रोग निम्त्याउँछ । विषादीले प्रजनन स्वास्थ्यमा समेत नकरात्मक असर पुर्‍याउँछ भने क्यान्सरको जोखिम बढाउँछ । महर्जन भन्छन्, ‘पहिलो प्राथमिकता अर्गानिक तरकारीको प्रयोग नै हो । अन्य तरकारीको हकमा केही सावधानी अपनाउन जरुरी छ ।’

तरकारी कसरी सफा गर्ने ?
महर्जनका अनुसार तरकारीलाई भाँडोमा डुबाएर धुनुभन्दा धारा वा बग्दो पानीमा राम्रोसँग सफा गर्नुपर्छ । त्यसरी सफा गर्दा पाराथाइराइड विषादीको मात्रा केही कम हुन्छ । ब्याक्टेरिया र फोहोरसमेत पखालिएर जान्छ । त्यस्तै, नुन वा खाने सोडा सफा पानीमा मिसाएर १० देखि १५ मिनेट डुबाउँदा पनि विषादीको मात्रा केही घट्छ । महर्जनले भनेजस्तै कृषि विकास निर्देशनालयले सार्वजनिक गरेको विषादीबाट बच्ने उपायमा पनि सोही कुरा उल्लेख छ । आधा कप भिनेगर २ कप पानीमा १० देखि १५ मिनेट डुबाउँदा पनि विषादीको मात्रा घट्छ ।

‘बन्दा, लेटुसजस्ता तरकारीको बाहिरी पात हटाई राम्ररी धुँदा सम्पर्क विषादीको मात्रा घट्छ । धेरै प्रकारका तरकारी खानाले ती खानेकुरामा विषादीको अवशेष औसतमा कम हुन आउँछ,’ निर्देशनालयले तयार पारेको रिपोर्टमा भनिएको छ, ‘पकाउँदा अर्गानोफस्फेट विषादीको मात्रा २० देखि २५ प्रतिशत कम हुने गर्छ । ३० मिनेट उमाल्दा दैहिक विषादी ८० देखि ९० प्रतिशत कम हुने गर्छ ।’ तरकारीलाई सुक्खा हुने गरी वा बफाएर पकाउँदा पनि विषादीको अवशेष कम हुने जनाइएको छ ।

‘तरकारी फ्रिजमा १० डिग्री सेन्टीग्रेडमा ३ देखि ४ दिनसम्म राख्दा विषादीको मात्रा कम हुन्छ,’ महर्जनले भने । त्यस्तै, माटो, पानी, मलको सम्पर्कका साथै भण्डारण गर्दा वा खाद्य चक्रको कुनै पनि तहमा ती सूक्ष्म जीवाणुको प्रवेश हुन सक्छ । तिनको स्वभाव हेरी अक्सिजनको मात्रा घटाउने, पकाउने, अल्ट्रा भ्वाइलेट लाइट दिने वा अन्य उपाय अपनाउनुपर्ने जनाएको छ ।

Leave a Reply