चुङथुङ 25 जनवरी(निसं): चुङथुङ कमान बन्द भएको लगभग 28 महिना पुगिसक्यो । बितेको 29 सेप्टेम्बर 2023 देखि अहिलेसम्म बन्दावस्थामा नै छ। चियाबारी अहिले जंगल भईसकेको छ। अब खोलिन्छ भन्ने कुनै झिनो आशा नै छैन। सो अहिले चियाकमानका वासिन्दा तथा श्रमिकहरुले आफै आफै चियाकमान साफ सफाई र कलम काट्ने काम गरिरहेका छन्। यो साफ सफाई र कलम काटेर आगमी पत्ती पलाउने समयमा चियापत्ति टिपेर बेच बिखन गरुँला भनेर अहिले आ आफ्नो क्षेत्र ओगटेर कलम काट्ने र साफ सफाई गर्ने कार्य गरिरहेका छन्।
श्रमिक दाजु भाई र दिदी बहिनीहरूको निम्ति अहिले विकल्प यत्ति मात्रै रहेको छ। यस्तो अवस्था श्रमिक दाजु भाई दिदी बहिनीहरूले कहिले सम्म झेल्नु पर्ने हो कुनै अत्तोपत्तो नै छैन। यही कारण चुङथुङ कमानमा धेरै जसो श्रमिक दाजु भाई दिदी बहिनीहरू विगत वर्ष देखि नै दिल्ली, मुम्बई, बैंगलोर तिर पलायन भईसकेका छन्। चाडँ पर्वमा घर आउँदा कमान चलेको राम्रो कि नराम्रो भनेर प्रश्न गर्दा चलेकै राम्रो कमसेकम आफ्नो गाउँ घर परिवार देखि टाढो हुनु पर्दैन, दुःख सुख परिवारसित जीवन बाँचेकै राम्रो भन्ने गर्छन्। अहिले लोवर चुङ थुङ अन्तर्गत गंगाटिया गाउँ देखि मात्र 15/20 जना दिदी बहिनीहरू दिल्ली, मुम्बई बैंगलोर तिर आफ्नो परिवारको निम्ति काम गर्न गएका छन् भने कतिपय दिदी बहिनीहरू लिंगिया, मेरीबुङ्, लिजाहिल चियकमानमा काम गरिरहेका छन्। विशेष लिजाहिल कमानमा कतिपय दिदी बहिनीहरू स्थायी श्रमिक भइसकेका छन्। कतिपय दिदी बहिनीहरू आफ्नै कमान स्याहार सुसार गरेर पत्तीको सिजनमा चियापत्ति टिपेर हात्ते चियापत्ति बनाउने गर्छन्।












