परिश्रमको बीऊबाट खेतीपातीमा नयाँ सम्भावना उमार्दै महिला किसान

Share this news

नारी दर्पण 

सञ्जय प्रधान

सिक्किमको हरियाली पहाड़बीच दक्षिण सिक्किमको लोवर जौंबारीमा शान्त तर दृढ़ संघर्षशील महिला किसान दावा लम्हु शेर्पा निरन्तर परिश्रम गरिरहेकी छिन्। बाल्यकालदेखि नै बाबुले गरेको खेती हेर्दै बारीमा खेल्दै सिक्दै थालेको त्यही खेतीपाती आज उनको जीवनशैली र पेशा बनेको छ। विवाहपछि पनि उनले खेतीपाती छोड़िनन्, नयाँ सोच र आधुनिक दृष्टिकोणका साथ अघि बढ़ाइन्। परम्परागत खेतीलाई जैविक र व्यावसायिक रूप दिँदै उनले अहिले विशेष किसिमका सागसब्जीहरू उत्पादन गरेर सिक्किमको कृषि क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलिरहेकी छिन्।

‘‘काम गर्दा मलाई जाँगर चल्छ। खेतीपातीको काम गर्नु अल्छी लाग्दैन। म आफै बिक्री गर्न लैजान्छु

नाम्चीदेखि करिब आठ किलोमिटर टाड़ो लोवर जौंबारी निवासी दावा लम्हु शेर्पा दुई दशकदेखि खेतीपातीको कार्यमा सक्रिय छिन्। माइतीमा पनि खेतीपती उनीहरूको जीवीकोपार्जन थियो, अनि यता ससुरालीमा खेतीपाती पुस्तैनी पेशा रहँदै आएको छ। फूर्वा ओङ्चु शेर्पासित उनको बिहे भएको यस्तै २२ वर्ष जति भएको छ। बिहेपछि ससुरालीमा खेतीपातीको कामलाई अघि बढ़ाइन्। उनको ससुराली घर र माइतीघर खासै टाड़ो छैन। बाबु-बाजेको पालामा गरिने आलु, सागसब्जी, मकैहरूको खेतीसँगै दावा लम्हुले फरक किसिमले विस्तार गरेकी छिन्।

दावा लम्हुले गर्ने खेती भनेको पूर्ण रुपले जैविक हो। आलु, फूलकोपी, ब्रोकाउली, बन्दाकोपी, चाइनिज क्याबेज, गाजर, मटर, सिमी, मूला, रायो साग, डुकु, पालक, लेट्युस, स्प्रीङ ओनियन, मकैहरू उमारछिन्। डल्ले खोर्सानी, नागा खोर्सानी, असमको खोर्सानीहरू पनि उनले खेती गरेकी छिन्। यसबाहेक विशेष खेतीहरूमा बेसिल लिफ, पार्सले, रोजमेरी (मसलाका प्रकार), थाइम, केल लिफ, पोकचोइहरू उमारिन्छ। यस्तो खेती यताको पहाड़ी भेकमा कमैले गर्छन्। यी विशेष खेतीहरू शुरु गरेको यस्तै तीन चार वर्ष जति भयो। माइतीघरमै खेतीपातीसित हुर्किएकी हुनाले सानैदेखि खेतीपातीमा रुचिरहेको उनी बताउँछिन्।

दावा लम्हु शेर्पा प्रगतिशील महिला किसान हुन्। विशेष गरी नयाँ किसिमका सागसब्जीको खेतीपाती विस्तार गर्न उनी रुचाउँछिन्। केही अघि एकपल्ट स्पारागस अर्थात् कुरिलो रोपेकी थिइन्, तर यो खासै नसप्रिएको उनी बताउँछिन्। आलु, फूलकोपी, मटर, सागहरूको खेती पहिलादेखि गर्दै आएकी हुन्, र यसको खेती प्राय: सबैले नै गर्छन्। तर दावा लम्हु आफूले फरक किसिमको विशेष खेती गर्ने विचार गरेर अघि बढ़ेकी छिन्।

उनको बारीमा उत्पादित सागसब्जीहरू हरेक आइतबार नाम्चीमा आफै लगेर बिक्री गर्छिन्। कति व्यापारीहरू उनको घरमै किन्न पुग्छन्, अनि कति बिक्री गर्न गान्तोकमा पनि पठाइन्छ। बेसिल लिफ, पार्सले, रोजमेरी, थाइम, केल लिफ, लेट्युस, स्प्रीङ ओनियन, पोकचोइहरू बढ़ी जस्तो होटलहरूमा माग रहेको छ। यसबाहेक ब्रोकाउली, चाइनिज क्याबेज, गाजरहरू पनि होटलहरू माग रहेको छ। यी सबै होटलहरूकै लागि पनि उमारछिन्। उनको परिवारको जीवीकोपार्जन  खेतीपातीमै निर्भर रहेको छ। खेतीपातीकै व्यवसायबाट दुईजना छोरा पढ़िसकेका छन्, जसमा एकजनाले कलेज सकेका छन् अनि अर्का बंगलोरमा नर्सिङ पढ़्दैछन्।

घरमा तीनवटा गाई छ, र जसको हेरचाह उनकी श्रीमान फूर्वा ओङ्चुले गर्छन्। गाईको दूधबाट घीउ र छुर्पी (अचार, तरकारी खाने) बनाउँछिन्। घीउ-छुर्पी उच्च गुणस्तरको भएका हुनाले यसको माग राम्रो रहेको उनी बताउँछिन्। दावा लम्हुले घरमै गाईको गोबरबाट जैविक मल तयार गर्छिन्। मल बनाउन उनले पुस्तैनी विरासतमै सिकेकी हुन्। उनी भन्छिन्, ‘‘बाहिरबाट मल किन्दिनँ, घरमै गाईको मल बनाएर चलाउँछु।’’ सोतर-पत्करहरूबाट उनी जैविक मल तयार गर्छिन्। कृषि खेतीबारे उनले कुनै औपचारिक प्रशिक्षण लिएकी छैनन्, यसको प्रशिक्षण उनले सानैदेखि प्राकृतिक रुपमै पाएकी छिन्। सन् २०२४ मा कृषि विभागबाट ग्रीन हाउसको लागि प्लास्टिक पाएको उनी बताउँछिन्। उनका अनुसार, कृषि विभागबाट वर्षमा एकपटक धनियाँ, पालकका बीऊहरू पनि दिइन्छ।

खेतीपातीको काम दावा लम्हु र उनकी श्रीमान दुवैले गर्छन् अनि छोराहरूले पनि छुट्टिमा घर आउँदा गर्छन्। बीच बीचमा दुई तीनजना खेताला पनि लगाउने गर्छिन्। अहिले ४२ वर्ष पुगेकी उनी बिहान चार बजे उठछिन्, र गाईको चारोको लागि घाँस तयार गरेर दिन्छिन्। यसपछि शुरु हुन्छ उनको खेतीपातीको दैनिक काम साँझ पाँच बजेसम्म। घरमा खानलाई सागसब्जीहरू आफ्नै बारीको चलाउँछिन्, बजारबाट किन्नु पर्दैन। सिमीहरू रोप्छिन्, कति बोटमै सुकाइन्छ र सुकेपछि दालको रुपमा पनि चल्छ।

होटलहरूबाट बेसिल लिफ, पार्सले, रोजमेरी, थाइम, केल लिफहरू चाहिन्छ भन्दा यी सबैबारे युट्युबमा हेरेर जानकारी लिइन्। खेतीपातीलाई नै आफ्नो पेशा र जीवनशैली बनाएकी दावा लम्हुले यी सबैबारे जिज्ञासा हुँदा अनलाइनबाट बीऊहरू किनेर रोपिन्। सबै सप्रिएपछि होटलहरूबाट राम्रो अर्डर पाउन थालिन्। उनले रोपेर उमार्नु मात्र होइन, हिजोआज यी सबैको बीऊहरू पनि आफ्नै खेतीमा तयार गर्छिन्। उनले खेतीका लागि आफ्नै बलबुत्तामा बीस फीट चौड़ाइ र एक सय फीट लम्बाईको चारवटा अनि यसभन्दा अर्को सानो चौध फीट चौड़ाइ र पचास फीट लम्बाई भएको तीनवटा ग्रीन हाउस तयार गरेकी छिन्। उनी मौसमअनुसार सबै किसिमका खेती गर्छिन्।

दावा लम्हु आफ्नो खेतीलाई अझ विस्तार गर्ने योजनामा छिन्। अब उनी रातो, पहेंलो, हरियो  विभिन्न किसिमका क्याप्सिकमहरू लगायत अन्य नयाँ नयाँ खेती गर्ने तयारीमा जुटेकी छिन्। सानैदेखि खेतीपाती गरेरै जाँगर चलेको बताउँदै उनी भन्छिन्, ‘‘यसरी काम गर्दा मलाई जाँगर चल्छ। खेतीपातीको काम गर्नु अल्छी लाग्दैन। म आफै बिक्री गर्न लैजान्छु।’’

अहिले धेरै ठाउँमा शहरीकरण बढ़्दै गइरहेको हुनाले कृषि खेतीको जमिन घट्दै गइरहेको छ, यसबारे कुरा गर्दा उनी भन्छिन्, ‘‘खेतीपातीको जमिन बचाएर राख्नुपर्छ।’’ केमिकलयुक्त मल र जैविक मलबाट उमारेको सागसब्जीको भिन्नताबारे उनी भन्छिन्, ‘‘जैविक मलबाट उमारिएको सागसब्जी खाँदा स्वादमा फरक पर्छ- पकाउँदा लतक्कै गल्छ, राम्रो पाक्छ अनि राम्रो वासना आउँछ।’’ केमिकलयुक्त मलको सागसब्जी खस्रो र खाँदा मिठो नहुने उनको भनाइ छ।

निरन्तर परिश्रम र नयाँ सोचका साथ अघि बढ़िरहेकी दावा लम्हु शेर्पा आज सिक्किमको कृषि क्षेत्रमा प्रेरणादायी उदाहरण हुन्। परम्परागत ज्ञानलाई आधुनिक जैविक खेतीसँग जोड़्दै उनले पहाड़ी भेकमा सम्भावनाका नयाँ ढोकाहरू खोलिरहेकी छिन्। ठूलो प्रचार बिना आफ्नै माटो र मेहनतको भरमा अघि बढ़्दै उनी सिक्किममा एक मौन यात्रीका रूपमा विशेष खेतीका विस्तार गर्न अघि बढ़िरहेकी छिन्।

 


Share this news
आजको रोजाइ
गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

आजको रोजाइ