अदम्य आत्मबलले सात शिखर जितेकी गृहिणी ‘प्रेमलता’

Share this news

नारी दर्पण 

सञ्जय प्रधान

सगरमाथाको चुचुरोमा एक दिन उभिन्छु भन्ने सपना प्रेमलता अग्रवालले कहिल्यै देखेकी थिइनन्। स्कूलको खेलकुदमा सधैं पछाड़ि पर्ने उनी साधारण गृहिणी थिइन्। तर उमेर, परिस्थिति र सामाजिक सीमाभन्दा बलियो थियो-उनको अदम्य साहस। फिटनेस, अभ्यास र आत्मविश्‍वासको बलमा उनले असम्भवलाई सम्भव बनाइन्। सगरमाथादेखि विश्‍वका सातवटै सर्वोच्च शिखरसम्मको साहसिक यात्रा तय गर्दै उनी पहिलो भारतीय महिला बनिन् जसले ‘सेभेन समिट्स’ पूरा गरिन्।

‘‘पहिला मेहनत आफैले गर्नुपर्छ, र आफैलाई प्रमाणित गर्नुपर्छ। थप मेहनत गर्नुपर्छ अनि सबैले सहयोग गर्छ’’

रामावतार गर्ग र शारदादेवी गर्गकी छोरी प्रेमलता दार्जीलिङ पहाड़को सुकेपोखरीमै जन्मिएर हुर्किएकी हुन्। पर्वतारोहणबारे कुरा गर्दा उनी पुराना दिन सम्झिन्छिन्, ‘‘स्कूल पढ़्दा खेलकुदमा गहिरो चासो थियो। त्यति बेला म एकदम मोटी थिएँ, अनफिट थिएँ। खेलकुद सबैमा म सहभागी हुन्थे, तर कहिले पनि फर्स्ट, सेकेण्ड, थर्ड भइनँ, सधैं लास्ट हुन्थे। खेलकुदमा जित्नका लागि फिटनेश कति जरुरी छ भन्ने कुरा त्यतिबेला थाहा थिएन।’’

उनी पढ़ाइमा राम्रो थिइन्। दाज्यू-भाइले टेनिस, फूटबलमा जितेका ट्रफी र शिल्डहरू घरमा देख्दा आफ्नो नामको ट्रफी पनि हुनुपर्ने थियो भन्ने मनमा खट्किन्थ्यो। सुकेपोखरी हाई स्कूलपछि कलेज पढ्दापढ्दै बिहे भएर जमशेदपुर पुगिन्। अहिले उनको बिहे भएको ४० वर्ष भइसकेको छ।

हजारौँ महिलाका लागि प्रेरणाको शिखर बनेकी प्रेमलता अग्रवाल।

बिहेपछि पनि पर्वतारोहणबारे उनले सोचेकी थिइनन्। त्यतिबेला महिलाले यस्ता क्षेत्रमा परिवार र समाजबाट कड़ा चुनौती सामना गर्नुपर्थ्यो। ससुराली खुला विचारधाराको भएकाले हरेक क्षेत्रमा प्रोत्साहन पाइन्। दुई छोरीकी आमा प्रेमलता पूर्ण रूपमा घरेलु महिला थिइन्। नेपाली माध्यममै पढ़ेकी उनी भन्छिन्, ‘‘नेपाली बोलेरै संसारको सातवटा महादेशमा पुगेँ।’’

प्रेमलता आफूलाई केही बन्न सकिनन् भन्ने लागे पनि छोरीहरूलाई खेलकुदमा अघि बढ़ाउन संकल्प लिइन्। जमशेदपुरमै जेआरडी टाटा स्पोर्ट्स कम्प्लेक्समा छोरीहरूलाई लन टेनिस खेलाउन लैजाँदा उनको जीवनमा नयाँ मोड़ आयो। त्यहाँ भारतकी पहिलो महिला सगरमाथा आरोही बचेन्द्री पालसित भेट भयो। उनी टाटा स्टीलमा एडभेन्चर प्रोग्रामकी प्रमुख थिइन्। उनीसितको भेटपछि प्रेमलताले फिटनेसको आवश्यकताबारे बुझेर फिटनेस सेन्टर जान थालिन्।

जमशेदपुरमा टाटा स्टील एड्भेन्चर फाउन्डेसनले बचेन्द्री पालको मार्गदर्शनमा ‘डलमा हिल ट्रेकिङ’ आयोजना गर्थ्यो। अनुभवका लागि प्रेमलता पहिलो पटक ट्रेकिङमा गइन्, र आफ्नो उमेर वर्गमा तेस्रो पुरस्कार पाइन्। बचेन्द्री पालको कार्यालयमा प्रमाणपत्र लिन जाँदा त्यहाँ फोटोहरू हेरेर भनिछन्, ‘‘मेरो छोरीहरूलाई एडभेन्चरमा हाल्छु।’’ सन् १९९९ को कुरा हो। बचेन्द्री पालले भनिछन्, ‘‘तपाई पनि फिट हुनुहुन्छ। एउटा टिम उत्तरकाशी जाँदैछ, तपाई पनि आउनुहोस्।’’ ससुरालीमा ट्रेकिङ जान्छु भन्नु अप्ठ्यारो मानिन्। घरमा ठूली छोरी ट्रेकिङ जाने बताउँदै आफू छोरीसँगै जाने भनिन्, तब कसैले केही भनेनन्। उत्तरकाशीको ट्रेकिङमा उनले ‘ए’ ग्रेड पाइन्।

ट्रेकिङपछि बचेन्द्री पालले पर्वतारोहणको बेसिक कोर्स गर्न दार्जीलिङ जाने सुझाव दिइन्। सन् २००० मा हिमालयन माउन्टेनरिङ इन्स्टिच्युट (एचएमआई)मा बेसिक कोर्स गरिन् र बेस्ट ट्रेनी अवार्ड पाइन्। बचेन्द्री पालले भनिछन्, ‘‘अहिलेसम्म यहाँ जमशेदपुरबाट पठाएको कुनै पुरुषले पनि बेस्ट ट्रेनी अवार्ड पाएको छैन। तपाई दुईजना छोरीकी आमा बेस्ट ट्रेनी अवार्ड पाउनुभयो, अब एडभान्स कोर्स गर्न नेहरू इन्स्टिच्युट अफ् माउन्टेनियरिङ (निम) उत्तरकाशीमा जानुहोस्।’’ प्रेमलताले त्यहाँ एडभान्स कोर्स गरेर ‘ए’ ग्रेड पाइन्।

सन् २००२ तिर टाटा स्टील एडभेन्चर फाउन्डेसन (टीएसएएफ)मा बचेन्द्री पालले प्रेमलतालाई अतिथि प्रशिक्षकको रुपमा बोलाउन थालिन्। सन् २००४ मा नेपालमा आइल्याण्ड पिक, काला पत्थर हिमाल र सगरमाथाको बेस क्याम्प आरोहण गरिन्। सन् २००५ मा भारत-चीन सीमाको काराकोरम पासको आरोहणमा गइन्। सोही वर्ष महिलाहरूको थार मरुभूमि अभियानमा लागिन्। यो ४० दिनको अभियान गुजरातको रान अफ् कच्छबाट शुरु भएर पञ्जाबको भारत-पाकिस्तान सीमा बागा बोर्डरमा समापन भएको थियो। प्रतिदिन औसत ६० किलोमिटर यात्रा ऊँटबाट गरियो। यो उपालब्धि लिम्का बुक अफ् वर्ल्ड रेकर्ड्समा प्रकाशित भएको छ।

सन् २००८ मा प्रेमलताले दक्षिण अफ्रिकाको सर्वोच्च शिखर किलिमाञ्जारो (विश्‍वका सात शिखरमध्ये एक)को आरोहण सफलतापूर्वक गरिन्। यस आरोहणको मार्गदर्शन बचेन्द्री पालले गरेकी थिइन्। किलिमाञ्जारोपछि बचेन्द्री पालले प्रेमलतालाई सगरमाथा आरोहणका लागि सक्षम भएको बताइन्। प्रेमलताले सगरमाथाको बारेमा कहिल्यै नसोचेकी हुँदा विश्‍वास गर्न सकिनन्। सगरमाथाको आरोहण साधारण कुरा थिएन। सो बेला उनका अघि घरपरिवार, ठूली छोरीको बिहे, सानी छोरीको पढ़ाइ र सामाजिक चुनौतीहरू थिए।

सगरमाथाको अभियानको कुराले परिवारमा खुशीको लहर छायो। प्रेमलताकी श्रीमान विमल अग्रवाल, ससुराली र माइतीघर दुवै परिवारले हौसला दिए। परिवारको हौसलाले प्रेमलताले सामाजिक चुनौती चिर्न सकिन्। ४८ वर्षको उमेरमा २० मई २०११ मा विश्‍वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा उभिन सफल भइन्। सगरमाथा आरोहणको अनुभवबारे उनी भन्छिन्, ‘‘म त जाँदै रुनु थालेकी थिएँ। मैले सबै थोक पाएको जस्तो लाग्यो। त्यस्तो सुन्दर दृश्य हेरेर परिवार सबैलाई सम्झिएँ, भगवानलाई धन्यवाद चढ़ाएँ। मेहनत, लगनशीलता, अभ्यासले सफल हुँदो रहेछ। स्वर्ग छ भने यहीं नै रहेछ भन्ने लाग्यो। आफ्नो देशको झण्डा लिएर जाँदा धेरै गर्व महसुस भयो।’’

सन् २०११ मा एक आमाको सफल सगरमाथा आरोहणले भारतलाई गौरवान्वित बनायो। यसले भारतीय महिलाहरूमा पर्वतारोहणबारे अझ बढ़ी जागरुकता ल्यायो।

सगरमाथा आरोहणपछि उनलाई जमशेदपुरमा टाटा स्टीलले नियुक्ति दियो। उनी फिटनेस ट्रेनर थिइन् र यहीँबाट ट्रेकिङ लैजान्थिन्। त्यसपछि उनी विश्‍वका सात सर्वोच्च शिखरतर्फ लागिन्। किलिमाञ्जारो पहिल्यै पुगेकी थिइन् भने माउन्ट एल्ब्रुस, डेनाली, एकोनकागुवा, माउन्ट भिन्सन र कार्स्टेन्स पिरामिडको आरोहण पूरा गरिन्। यससँगै उनी विश्‍वका सात सर्वोच्च शिखर आरोहण गर्ने प्रथम भारतीय महिला बनिन्। सबैभन्दा चुनौतीपूर्ण माउन्ट डेनाली रहेको उनी बताउँछिन्, जहाँ राशनपानीदेखि सबै सामान आफै बोकेर शिखर पुग्नुपर्छ।

टाटा स्टीलमा काम छोड़ेर जमशेदपुरमा आफ्नै संस्थान ‘हिमालयन पाथ’ स्थापना गरेकी छिन्। उनले यस संस्थानबाट पर्वतारोहण, फिटनेस प्रशिक्षण तथा ट्रेकिङ गराउँछिन्। संस्थानमार्फत सगरमाथाको बेस क्याम्प, कञ्चनजङ्घाको बेस क्याम्प गोचेला, कैलाश मानसरोवर, कश्मिर तथा अन्य पहाड़-पर्वतहरूमा ट्रेकिङ लैजान्छिन्। विद्यार्थी, युवाहरू र आमाहरू पनि उत्साहित हुँदै यहाँ आउँछन्। आउँदो महिना २० फरवरी २०२६ मा उनको मार्गदर्शनमा किलिमाञ्जारो आरोहणका लागि टोली जाने तयारीमा छ।

प्रेमलताकी दुईजना छोरी पनि सगरमाथाको बेस क्याम्प पुगेका छन् र दुवैले बेसिक कोर्स गरेका छन्। उनी भन्छिन्, ‘‘पहिला मेहनत आफैले गर्नुपर्छ, र आफैलाई प्रमाणित गर्नुपर्छ। थप मेहनत गर्नुपर्छ अनि सबैले सहयोग गर्छ।’’ परिवार, समाज, पहाड़-पर्वत र मौसमको चुनौती सामना गर्दै उनी सफल बनेकी हुन्। सगरमाथाबाट फर्कँदा स्टेशनमा लागेको भीड़ नै प्रेमलताको विजय थियो।

सन् २०१२ मा टाइम्स अफ् इण्डियाबाट ‘इण्डियन वुमन अचिभर्स’ अवार्ड, सन् २०१३ मा राष्ट्रिय पुरस्कार पद्मश्री र सन् २०१७ मा तेन्जिङ नोर्गे नेशनल एडभेन्चर अवार्डले सम्मानित भइसकेकी छिन्। उनले आफ्नो पर्वतारोहणबारे ‘कर विजय हर शिखर’ पुस्तक लेखेकी छिन्।

प्रेमलता अग्रवालको जीवनले सिकाउँछ- सपना उमेरले होइन, साहसले पूरा हुन्छ। साधारण जीवनबाट असाधारण उचाइसम्म पुगेकी उनी आज हजारौँ महिलाका लागि प्रेरणाको शिखर बनेकी छिन्।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ