पसिनाले भाग्य लेखेका कलाकार उत्तम प्रधान

Authored By: सञ्जय प्रधान  

Share this news

दुई दशकअघि नेपाली दर्शकहरूको मनमा भावनाको ऐना देखाउने चलचित्र ‘दर्पण छायाँ’ले एउटा यस्तो नायक जन्मायो, जसको आँखाले नदेखे पनि अभिनयले सबै देखाइदियो। ती नायक हुन्- उत्तम प्रधान। संघर्ष, धैर्य र समर्पणले स्थापित उत्तम प्रधान कुनै संयोगले होइन, आफ्नै पसिनाले नेपाली चलचित्रका विश्‍वासिला नायक बने। आज पनि उनी अभिनय, निर्देशन र निर्माणमार्फत नेपाली चलचित्रलाई नयाँ मोड़ दिने संकल्पसहित निरन्तर सक्रिय छन्।

‘‘आफ्नो इच्छा र प्रयास चाहिन्छ, तर चलचित्र उद्योगमा भाग्य पनि हुँदो रहेछ’’ 

कलाकारहरूकै परिवार हुँदाहुँदै पनि स्व० दुर्गाकुमार प्रधान र पार्वती प्रधानका छोरा उत्तम प्रधानले चलचित्रमा प्रवेश गर्न कड़ा संघर्ष गरे। उनले आफ्नो जन्मथलो पूर्व सिक्किमको सिङ्ताम बजारमै प्राइमरी स्कूल पढ़े। नृत्यबारे थाहा नपाउने उमेरदेखि नै नाँच्न थालेका उनी घरभरि नै कलाकारहरूको वातावरणमा हुर्किए। सिङ्ताममा पहिलो सांस्कृतिक क्लब खोल्ने उनका बाबु नै थिए।

सातजना छोराछोरी सबै रंगमञ्चका कलाकार- जेठी दिदी गायिका तथा नर्तकी, माइली दिदी नर्तकी थिइन्। जेठा दाज्यू उदय प्रधानले सिक्किममा पहिलोपटक ‘ब्रेक डान्स’ भित्र्याएका थिए। उदय प्रधान विभिन्न ठाउँमा हुने कार्यक्रमहरूमा गाउन जान्थे। साइँली बहिनी नृत्य संस्थान संचालन गर्छिन् भने माइला दाज्यू अरुण प्रधानले दुईवटा चलचित्रमा अभिनय गरिसकेका छन्। सानैदेखि नृत्यमा रुचि राख्ने उत्तम प्रधान बाल विकासमा जान्थे। अलिक ठूला भएपछि ‘यमराजको न्याय’, ‘मार्कण्डेय’जस्ता पौराणिक तथा अन्य आध्यात्मिक नाटकहरू गरे। विद्यालयमा पनि नृत्य र नाटकमा अघि हुन्थे। गान्तोकको टीएनएसएसबाट १२ कक्षा सकेपछि चलचित्रमा नायक बन्ने सपनाले जीवन संघर्षतिर मोड़ियो।

कुरा हो सन् १९९३ को, उच्च शिक्षाका लागि हुगलीमा इन्जिनियरिङ पढ़्न प्रवेश पाएका थिए, तर घुम्ने बहानामा भागेर मुम्बई पुगे। एक महिना दिल्लीमा बसेपछि मुम्बई पुगेका उनी हाँस्दै भन्छन्, ‘‘इन्जिनियरिङ नगरेर हिरो हुन मुम्बई गएँ।’’  गोजीमा भएको मात्र ७२० रुपियाँले मुम्बईमा दुई महिना बिताए। रेस्टुरेन्टमा काम गरेको, कहिले फुटपाथमा सुतेको सम्झिएर हाँस्दै भन्छन्, ‘‘फिल्ममा साइड डान्सरको काम पाएँ, तर गर्न मन परेन।’’ त्यहाँ एकजना चलचित्रमै काम गर्ने नेपालीले अभिनेता जस्तो देखिन्छ भनेर काठमाड़ौं जान सुझाव दिएपछि फर्किए।

काठमाड़ौंमा पुगेर दुई महिना शिक्षक काम गरे। नेपाली चलचित्रका सुपरिचित निर्देशक तुलसी घिमिरेलाई भेट्ने प्रयास असफल भएपछि सन् १९९४ मा सिक्किम फर्किए। ‘‘१९९५-९६ सम्म फिल्ममा ट्राइ गर्छु भनेर समय दिएको थिएँ’’, उनी भन्छन्। सन् १९९७ मा संगीता प्रधानसँग वैवाहिक बन्धनमा बाँधिए। छोरा राणाचन्द्र विद्यासागर जन्मिएको तीन दिनमै म्यूजिक भिडियो र हिन्दी टेलिसिरियलको अफर आए पनि भूमिका सानो भएकाले टेलिसिरियल गरेनन्।

छोरा दुई महिनाको हुँदा नेपालमा दशैं मनाउन जाँदा साथीबाट फोनमा चकित पर्ने कुरा सुने। साथीले उत्तम प्रधानलाई झट्टै सिङ्ताम फर्किनु, तुलसी घिमिरे भेट्न आउँदैछन् भनेछन्। उनी भन्छन्, ‘‘साथीले तुलसी दाइलाई मेरो फोटो देखाएका रहेछन्। तुलसी दाई मलाई भेट्न सिङ्ताम आउनुभएको थियो।’’ त्यो क्षण देवताले भक्त खोज्दै आएको जस्तो थियो। उनी सम्झिन्छन्, ‘‘मैले धेरै प्रयास गर्दा तुलसी दाइलाई भेट्न सकेको थिइनँ। सन् १९९५ मा कालेबुङ टाउन हलमा नृत्य प्रतियोगिता थियो। त्यहाँ कोही घिमिरे मुख्य अतिथि आउँदैछन् भन्ने सुन्दा तुलसी घिमिरे ठानेर नाच्न पुगेँ र दोस्रो भएँ। तर मुख्य अतिथि अर्कै घिमिरे हुनुहुन्थ्यो।’’

सिङ्ताममा भेट हुँदा तुलसी घिमिरेले टेलिसिरियल ‘मुक्ति’का लागि प्रस्ताव दिएपछि उनले अभिनय गरे। २१ वटा श्रृंखलाको यो टेलिसिरियल लोकप्रिय बनेको थियो। सन् २००० मा तुलसी घिमिरेकै निर्देशनमा बनेको ‘दर्पण छायाँ’मा नायक बनेर नेपाली चलचित्रमा उदाए। यसमा अन्धाको भूमिकामा प्रभावकारी अभिनय गर्दै ‘सर्वश्रेष्ठ अभिनेता’को पुरस्कार जिते। ‘दर्पण छायाँ’ जनजिब्रोमा बस्ने गरी सुपरहिट बन्यो। ‘मलाई माफ गरिदेऊ’, ‘मायाको साइनो’, ‘लहना’, ‘चित्कार’, ‘उपहार’, ‘बसाईं’, ‘सन्तान’, ‘अजम्बरी माया’लगायत ४० वटा चलचित्रमा अभिनय गरिसकेका छन्। उत्तम प्रधानका अनुसार तीमध्ये ३७ वटा रिलिज भए। हङ्कङ्, मकाउ र कोरियामा छायांकन भएको महँगो बजेटको ‘पर्‍यो नि माया जालैमा’ भने नेपालमा रिलिज भएन।

नेपाली चलचित्रमा गहिरो छाप बसाल्न सफल भएका उत्तम प्रधान मुम्बईमा गरेको संघर्षलाई बेला-बखत सम्झिन्छन्। उनी भन्छन्, ‘‘आफ्नो इच्छा र प्रयास चाहिन्छ, तर चलचित्र उद्योगमा भाग्य पनि हुँदो रहेछ। एउटा कुरा- तुलसी दाइ मलाई खोज्दै सिङ्ताम बजार आउनु ठूलो भाग्य हो। उहाँले जसको शिरमा हात राख्यो हिरो बनाउने हुन्।’’ सन् १९९८ तिरको कुरा स्मरण गर्छन्- साथीलाई चलचित्रमा खेल्ने इच्छा व्यक्त गर्दा कालेबुङ डेलोमा ‘शायद’को सुटिङ भइरहेको र हिरो भागेकाले अर्को हिरो खोजिरहेको हुँदा जान सुझाव दिएछन्। स्कुटरमा कालेबुङ जाँदै गर्दा सिङ्ताम नजिक पहिरोले बाटो एकतर्फी बनेकाले मन फेरिएर फर्किएको सम्झिन्छन्। पछि त्यो  चलचित्र फ्लप भएको थाहा पाएपछि, आफूले खेलेको भए करियर सकिन्थ्यो भन्ने लागेकाले यसलाई भाग्यको खेल मान्छन्।

चलचित्रमा आउनुअघि सन् १९९५ मा ‘बेस्ट मेल मोडल अफ् सिक्किम’, १९९६ मा ‘मिस्टर पाल्मोलिभ’ तथा ‘बेस्ट फोटोजेनिक’ फेशन शोहरूमा जितेका थिए। ‘‘दर्पण छायाँ’मा आन्धाको अभिनयपछि मेरो इमेज सेन्टिमेन्टल हिरो बन्यो’’, उनी भन्छन्। छायांकनअघि १५ दिन कालेबुङको ब्लाइन्ड स्कूलमा अध्ययन गरे। दिनमा पाँच-छवटा चलचित्रको सुटिङसमेत गरेको अनुभव सुनाउँछन्। ‘लेखान्त’, ‘सन्तान’ र ‘ममता’ तीनवटैमा लङ्गड़ाको भूमिका हुँदा कुन चलचित्रमा कुन खुट्टा लङ्गड़ा हो भनेर झुक्किन्थे।

यसै वर्ष अप्रेलमा उनको नयाँ चलचित्र ‘कल्ली’ रिलिज हुने तयारीमा छ। अर्को चलचित्र ‘सारथी’ छायांकन शुरु हुन लागेको छ। उनले ‘दर्पण सिक्किमको’ वृत्तचित्र निर्देशन गरेका छन् भने रुखको विषयमा ‘दोषी बञ्चरो’ वृत्तचित्र बनाएका छन्। अब उनी आफ्नै निर्माणमा ‘दर्पण छायाँ’को सिक्वेल ‘दर्पण छायाँपछि फेरि’ बनाउने तयारीमा छन्। यसको पटकथा उनी आफैंले लेखिसकेका छन् र निर्देशन पनि आफैं गर्नेछन्। यसमा दुई दशकपछि उत्तम प्रधान, लोकप्रिय अभिनेत्री निरुता सिंह र अभिनेता दिलीप रायमाझीलाई नयाँ रूपमा दर्शकहरूले देख्न पाउनेछन्।

कलाकार बन्न भाग्य पनि चाहिन्छ र पहिला आधार बलियो बनाएर चलचित्रमा आउनु राम्रो हुने सुझाव नयाँहरूलाई दिन्छन्। अभिनयका लागि थिएटरमा सिक्नुपर्ने उनको भनाइ छ। नेपाली वेब सिरिजबारे कुरा गर्दा उनी भन्छन्, ‘‘नेपालीका लागि ओटीटी प्लेटफर्ममा जग्गा छैन। नेपाली ओटीटी खुलेको छैन, कम्पनी खोल्नुपर्छ। नेपाली चलचित्रमा लगानी फिर्ता गर्न गाह्रो पर्छ, १० दिनभन्दा बढ़ी नचले नोक्सानी हुन्छ।’’ कम्ति खर्चमा युट्युबमा धारावाहिकहरू बनाउँदा हुन्छ जस्तो लाग्ने उनको भनाइ छ।

अहिले ५२ वर्ष पुगेका उत्तम प्रधान अब फरक शैलीको चलचित्र बनाउने सोचमा छन्। कलाप्रतिको उनको भावना यस्तो छ, ‘‘कलाकारको हैसियतमा मेकअपमै मर्न पाइयोस्। सुनिल थापा सुटिङकै क्रममा बित्नुभयो।’’ उनी राजनीतिमा पनि सक्रिय छन्-सिक्किम क्रान्तिकारी मोर्चाको सांस्कृतिक प्रकोष्टका राज्य अध्यक्ष हुन्। सिक्किम फिल्म बोर्डका पहिलो संस्थापक अध्यक्ष पनि उनी नै थिए।

संघर्ष, समर्पण र निरन्तरताको यात्रामा अघि बढ़ेका उत्तम प्रधान आज पनि नेपाली चलचित्रका लागि सक्रिय र प्रतिबद्ध छन्। समय बद्लिए पनि कलाप्रतिको उनको निष्ठा बद्लिएको छैन- यही कारण उनी केवल अभिनेता मात्र होइन, नेपाली चलचित्रको भरोसायोग्य पहिचान बनेका छन्।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ