जीवनसँग नथाक्ने म्याराथन म्यान अफ् सिक्किम

Share this news

युवा दर्पण 

सञ्जय निरौला

मानव जीवन संसारमा आउनु र जानु प्रकृतिको नियम हो, तर जीवनलाई संसारमा चलाउन निकै संघर्ष गर्नुपर्छ। यस दौड़मा कोही सहजै सफल हुन्छन् भने कोही धेरै मेहनतपछि। यस्तै संघर्ष र मेहनतका उदाहरण हुन् सिक्किमका अमर सुब्बा, जसलाई भनिन्छ- म्याराथन म्यान अफ् सिक्किम। दौड़को माध्यमबाट उनले आफ्नो परिचय स्थापित गरेका छन्।

सिक्किम सार्वभौम देश रहँदा गान्तोकको ताथङ्चेन स्थित एक निजी आवासमा जन्मेका अमर सुब्बा सानैदेखि फरक स्वभावका थिए। उनका बाबु सिक्किम गार्ड्स (सिक्किम राजाका सैनिक)मा क्लर्क थिए। प्राथमिक शिक्षा पनि सिक्किम गार्ड्सकै छत्रछायाँमा बित्यो। बाबु सिक्किम गार्ड्स फुटबल टोलीका खेलाड़ी थिए। बाबुले मैदानमा खेलेको अमरले हेर्थे, तर म्याराथनका धावक बन्ने सोच बनाएका थिएनन्। उनले उमेरसँगै सिक्किम भारतको राज्य बनेको देखे। राज्य बनेपछि बाबुको सरुवा दिल्ली, मुम्बई, बंगालोरलगायत अन्य स्थानहरूमा हुन्थ्यो। बाबु जहाँ जहाँ सरुवा हुन्थे, अमरले पनि त्यतैतिर शिक्षा हासिल गरे।

‘‘समाजले तपाईलाई के भन्छ त्यो नहेर्नुहोस् तपाईं सही मार्गमा हिड्नुहोस् एकदिन सफलता मिल्नेछ’’

शिक्षापछि उनले कुनै ठोस काम गरेनन्, तर विभिन्न महापुरुषहरूको संघर्षका कथाहरू पढ़े। ती कथाबाट प्रेरित भए पनि कुन क्षेत्रमा संघर्ष गर्ने भन्ने मेलो पाएका थिएनन्। लक्का जवान भइसकेका उनी परिवारिक जीवनमा पसे। जीवन चलाउन सजिलो थिएन, कहाँबाट यात्रा शुरु गर्ने अत्तोपत्तो थिएन। आफैं कमजोर हुँदा सोचेजस्तो सहयोग पनि पाएनन्। बाटोमा मजदुरदेखि जानेका सबै काम गरे, तर सफलता हात लागेन। आर्थिक रूपमा पछि परेपछि जीवन सहज बनाउन सन् २००५ तिर मलेसिया पुगे। तर जानकारी नहुँदा काम पाउन सकेनन् र लगत्तै फर्किए। कमाई होइन, लगानी नै डुब्यो। परिवारको जिम्मेवारी निर्वाह गर्न अलमल्ल परे। जीवनसँग हार मानेनन्, कठिन परिस्थितिको सामना गर्दै संघर्ष गरे।

चुनौतीपूर्ण जीवनबारे उनी भन्छन्, ‘‘आफैं कमजोर हुँदा आफ्ना पनि पराइ हुँदो रहेछन्। आयस्रोत नहुँदा दैनिकी धान्नु फलामको चिउरा चपाउनु सरह थियो। पैसा नै जीवनको सबैथोक होला कि भन्ने लाग्थ्यो, तर कहिल्यै त्यस्तो महसुस भएन।’’ उनी सधैं नयाँ केही गर्ने सोच्थे। सन् २००६ देखि केही वर्ष उनले पोटरको काम गरे। समान बोकेर लेकतर्फ आउने-जाने क्रममा बिस्तारै उनको झुकाव पर्वतारोहणतर्फ बढ़्यो। एचएमआईको सामान्य कक्षा लिएपछि छोटो समय गाइड बने। केही नयाँ र फरक काम गर्ने उनको भोक भने कहिल्यै हराएन।

अमरका अनुसार, उनको न्वारानको दिन ज्योतिषले जीवनको ४० वर्षसम्म जतिसुकै संघर्ष गरेपनि सोचेजस्तो सफलता नमिल्ने तथा चालिस काटेपछि जीवनले अर्कै मोड़तिर लैजाने र फरक पहिचान बनाउनेसक्ने भनेका थिए। उनले यसमा खासै विश्‍वास गरेनन्। तर, ४० वर्ष पुगेपछि उनले दौड़लाई नयाँ ढङ्गले अघि बढ़ाउने सोच बनाए, र गाउँतिर दौड़िन थाले। कतिले उनलाई बौलाहा समेत भने, तर ती भनाइहरूले उनलाई रोक्न सकेनन्। आफ्नो लक्ष्यप्रति अटल रहँदै उनी निरन्तर अभ्यासमा जुटिरहे। सन् २०१० मा नशामुक्त समाजको निर्माणसँगै विभिन्न सन्देशहरू बोकेर दार्जीलिङ, कालेबुङलगायतका ठाउँहरूमा जागरुक दौड़ शुरु गरे, जुन पछि ‘लिम्का बुक अफ् रेकर्ड्स’मा दर्ता भयो। यसरी ज्योतिषीको भविष्यवाणी पनि केही हदसम्म सही सावित भयो। यस दौड़बाट प्रेरित भएर उनले दौड़लाई नै समाजमा आफ्नो परिचयको माध्यम बनाउने निर्णय गरे। त्यसपछि उनले छोटो र लामो दुरीका विभिन्न दौड़मा भाग लिन थाले र सफलता तर्फ अघि बढ़िरहे।

सन् २०१२ मा बंगलोर र मुम्बई म्याराथनमा सहभागिताबाट उनले ठूलो उर्जा पाए। टेरि फक्सबाट प्रेरित अमरले पहिलोपटक बंगलोरमा स्टेडियम रन गर्दै आफ्नो यात्रा अझ अघि बढ़ाए। उनका अनुसार, त्यतिबेला दार्जीलिङ र सिक्किममा छोटो दुरीको दौड़बारे केही जानकारी भए पनि लामो दुरीबारे सचेतना थिएन। त्यसैले उनले युवाहरूलाई ट्रेल रनमार्फत विश्‍वस्तरको दौड़सम्म पुर्‍याउने लक्ष्यसहित लामो दुरीको दौड़बारे जागरूकता फैलाउने सोच बनाए।

तेन्जिङ शेर्पाको संघर्षमय यात्राबाट प्रेरित भएका अमरले सन् २०१४ मा ६०१० मिटर अग्लो माउन्ट तेन्जिङ खाङमा सफलतापूर्वक आरोहण गरे। बिस्तारै देशका विभिन्न भागमा आयोजना हुने ट्रेल-रनहरूमा निरन्तरता दिए। सन् २०१६ मा चीनमा आयोजित ‘एशियन माउन्टेन रनिङ च्याम्पियनशिप’मा देशलाई प्रतिनिधित्व गरे। यसअघि नेपालमा आयोजित ‘एभरेस्ट  रन’को हिस्सा बने। देशभरका विभिन्न भागहरुमा आयोजित कयौं म्याराथन दौड़ र ट्रेल-रनको हिस्सा बनेका अमरका प्रमुख दौड़हरू यस्ता छन्: ‘द् जम्पिङ गोरिल्ला माउन्टेन ट्रेल रन-२०२२’-१२० किमी (तेस्रो स्थान), ‘कालेबुङ अल्ट्रा म्याराथन-२०२३’ ९० किमी (प्रथम स्थान), ‘टुवल्भ आवर्स स्टेडियम रन मुम्बई २०२३’ (प्रथम स्थान), ‘अल्ट्राइब पाडेरू-२०२३’- 8० किमी (तेस्रो स्थान), ‘ट्वेन्टिफोर आवर्स स्टेडियम रन मुम्बई-२०२३’ नेशनल च्यापियनशिप (दोस्रो स्थान), ‘एभरेस्ट म्याराथन २०२५’ (दोस्रो स्थान), यूटीएमबी वर्ल्ड सिरिज-२०२५ प्रमुख छन्।

दौड़लाई आफ्नो आयस्रोत नमान्ने अमर भन्छन्, ‘‘मैले पाएको म्याराथन म्यान अफ् सिक्किमको उपाधी केवल मेरो निम्ति होइन। मलाई लाग्छ यसको माध्यमले दौड़प्रति युवाहरूलाई ढोका खोल्ने काम गरेको छु। सन् २०१२-१३ सम्म म्याराथन र अन्य रनबारेमा केही जानकारी नभएको हाम्रो स्थानहरूमा साधरणदेखि प्रशासनसम्म जानकार भएका छन्। सालभर विभिन्न वर्गका दौड़हरू आयोजना हुने गर्दछ। त्यो नै मैले गरेको कामको उपलब्धि मान्छु। म चहान्छु हाम्रा युवाहरू देश-विदेशमा दौड़को प्रतियोगितासँगै ओलम्पिकसम्ममा भाग लिनसकुन्।’’ उनी अझ भन्छन्, ‘‘हाम्राहरूमा गर्नसक्ने क्षमताको कमि कदापि छैन। तर समर्पण भने कहिं कतै कमि पाउँछौं। सफल हुनको निम्ति त्याग, समर्पण र आत्माबलसँगै यसबारेमा धेरथोर शिक्षा लिएर अघि बढ़्नुपर्छ। म युवाहरूलाई भन्छु समाजले तपाईलाई के भन्छ त्यो नहेर्नुहोस् तपाईं सही मार्गमा हिड्नुहोस् एकदिन सफलता मिल्नेछ।’’

लगभग ५७ वसन्त पार गरेका अमर आफूलाई सफल मान्दैनन्। जीवन रहिञ्जेलसम्म सिकिरहनुपर्छ भन्ने सुझाव राख्छन्। ‘म्याराथन म्यान अफ् सिक्किम’ नामले चर्चित अमर सुब्बा केवल धावक मात्र होइनन्, संघर्षका कथा हुन्। जीवनसँग हार खानु हुँदैन भन्ने र जीवन कसरी जिउनुपर्छ भन्ने जल्दोबल्दो उदाहरण हुन्। चुनौतीबिना कुनै पनि क्षेत्रमा सफल हुन सकिँदैन भन्ने सफल मेन्टर हुन्। यसैले उनको संघर्षमय यात्रालाई आत्मसात गर्दै युवाहरू बढ़्नसके साँच्चै सफल हुनसक्छन् भन्नेमा दुईमत छैन।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ