खरसाङ, (निसं): प्रथमचोटी खरसाङको चौकी डाँडामा स्नुकर (पुल) प्रतियोगिता सम्पन्न भएको छ। यहाँको चौकी डाँड़ामा अवस्थित हिल क्वीन पुल हाउसमा साथ समूहको आयोजनामा अनि पुल खेलाडी तथा पुल हाउसका म्यानेजिङ डाइरेक्टर सेवाङ लामा पाख्रीनको विशेष पहलमा आयोजित पुल प्रतियोगिताको आरम्भ सोमबारदेखि भएको छ भने यसको अन्तिम फाइनल खेल 15 जनवरीमा हुनेछ। यस प्रतियोगिताबारे जनाउँदै सेवाङ लामाले खरसाङ्मा यसरी पुल प्रतियोगिताको आयोजना प्रथमचोटि गरिएको बताउँदै विशेषगरी पुल खेलप्रति अधिकांशको गलत धारणालाई पन्साउन तथा यस खेलप्रति मानिसहरूको रूचि बढ़ाउन आयोजना गरिएको बताए। तिनले आफूले राष्ट्रिय स्तरसम्मका प्रतियोगिताहरूमा भाग लिएर आएपछि आफ्नो अनुभवलाई साझा गर्न औ मानिसहरूलाई यस खेलको महत्वबारे जानकारी गराउन यहाँ पुल हाउस खोलेर यसरी आज प्रतियोगिताको पनि आयोजना गरिएको बताए।
यस प्रतियोगितामा स्थानीय लगायत धेरै टाढ़-टाढ़ाबाट पनि प्रतियोगीहरू आएको जनाउँदै यस प्रतियोगिता आयोजना गर्नुमा सर्वप्रथम यहाँका युवाहरूको एउटा समूह साथ लगायत जीटीए प्रमुख कार्यपाल अनित थापा अनि अन्य धेरैले सहयोग प्रदान गरेको जनाउँदै सबैप्रति आभार व्यक्त गरेका छन्। आगामी दिनहरूमा अझ वृहत रूपमा यहाँ खेलको आयोजना गर्ने जनाउँदै प्रतियोगितालाई हेर्न सबैलाई उपस्थित भइदिने आग्रह पनि लामाले गरेका छन्। यस अवसरमा साथका प्रतिनिधि अनि सदस्यहरूको पनि उपस्थिति रहेको थियो।












