गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीले आगामी ६ डिसेम्बर २०२५ मा छैटौं अनुसूची सम्झौता दिवस भव्यरुपमा पालन गर्ने भएको छ। पार्टीको सांङ्ठनिक सभामा यो निर्णय गरिएको हो। ब्राञ्च अध्यक्ष एम. जी. सुब्बाको अध्यक्षतामा भएको उक्त सभा आज ब्राञ्च कार्यालय दार्जीलिङमा सम्पन्न भएको थियो। जसको सञ्चालन सचिव पुरण राईले गरेका थिए। सभामा ब्राञ्च कमिटी, समष्टिका समिति तथा भ्रातृ संगठनका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। नयाँ र पुराना समष्टिका प्रतिनिधिहरुको समावेशनेसहित आयोजित यस महत्वपूर्ण सभामा पार्टीको आगामी राजनीतिक तथा सांङ्ठनिक कार्यक्रमबारे ब्राञ्च अध्यक्ष एम. जी. सुब्बाले विस्तृत जानकारी गराउँदै व्यापक छलफल गरेका थिए। यसक्रममा नयाँ चयन गरिएको समष्टि नेतृत्वलाई ब्राञ्च कमिटीले औपचारिक स्वागत गरेको थियो। रिम्बिक–लोधोमा समष्टिका, रेलिङ–कैंजले समष्टिका प्रतिनिधि समूह, तथा रंगबुल–धोतरिया समष्टिका नव–अध्यक्ष रन्जिता सुब्बालाई अध्यक्ष सुब्बाले खदा अर्पण गरेर वधाइ तथा शुभकामना व्यक्त गरेका थिए। साथै, पार्टीको सिद्धान्त, अनुशासन र संगठनात्मक मजबूतीलाई प्राथमिकता दिँदै आगामी दिनहरूमा थप प्रभावकारी रूपमा काम गर्न निर्देशन पनि दिएका थिए। सभाले महत्वपूर्ण निर्णय गर्दै गोरामुमो दार्जीलिङ ब्राञ्चद्वारा आगामी ६ डिसेम्बर २०२५ मा छैटौं अनुसूची सम्झौता दिवस भव्य र योजनावद्ध ढंगले मनाइने घोषणा गरेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका हुन्।











