राष्ट्रिय राजमार्ग–१० मा भइरहेको मर्मत तथा पुनर्निर्माण कार्यको गुणस्तर र यात्रु सुरक्षालाई लिएर गम्भीर प्रश्न उठ्न थालेको छ। केन्द्र सरकारले राजमार्गको स्तरोन्नति तथा मर्मतका लागि ठूलो परिमाणमा बजेट उपलब्ध गराए पनि कार्यान्वयन पक्षमा देखिएको लापरवाहीका कारण स्थानीय बासिन्दा, चालक तथा यात्रुहरू चिन्तित बनेका छन्।
यसै सन्दर्भमा कालेबुङ चालक महासङ्घका अध्यक्ष महेन्द्र गुरूङको नेतृत्वमा सङ्घको एक प्रतिनिधिमण्डलले राष्ट्रिय राजमार्ग–१० का विभिन्न मर्मत भइरहेका क्षेत्रहरूको स्थलगत निरीक्षण गरेको छ। निरीक्षणका क्रममा कतिपय स्थानमा सुरक्षा मापदण्डको पूर्ण पालना नभएको, पर्याप्त चेतावनी संकेत नराखिएको, रातिको समयमा प्रकाश व्यवस्थाको अभाव रहेको तथा निर्माण सामग्री जथाभावी राखिएकाले दुर्घटनाको जोखिम बढेको टोलीले जनाएको छ।
महासङ्घका अनुसार सड़क निर्माण भइरहेका स्थानमा यात्रु र चालकको सुरक्षालाई प्राथमिकता दिनुपर्ने भए पनि धेरै ठाउँमा आवश्यक सुरक्षा घेराबार, रिफ्लेक्टर, संकेत बोर्ड तथा ट्राफिक व्यवस्थापन प्रभावकारी रूपमा लागू गरिएको देखिएन। यसले विशेषगरी रातिको समयमा यात्रा गर्ने सवारी चालकलाई थप जोखिममा पारिरहेको उनीहरूको भनाइ छ।
निरीक्षणपछि महासङ्घले आफ्ना मागहरू समेटिएको ज्ञापनपत्र कालेबुङका विधायक भारत छेत्री तथा कालेबुङका जिल्लापाललाई बुझाएको छ। ज्ञापनपत्रमा निर्माण कार्यको नियमित अनुगमन गर्न, ठेकेदार कम्पनीलाई सुरक्षा मापदण्ड कडाइका साथ पालना गराउन तथा मर्मत कार्यलाई निर्धारित समयभित्र गुणस्तरीय रूपमा सम्पन्न गराउन आग्रह गरिएको छ।
महासङ्घका अध्यक्ष महेन्द्र गुरूङले राष्ट्रिय राजमार्ग–१० मा दैनिक हजारौं यात्रु तथा सयौं मालवाहक र सार्वजनिक सवारी साधन सञ्चालन हुने भएकाले आधारभूत सुविधा पनि अत्यावश्यक रहेको बताए। उनका अनुसार हाल राजमार्गमा यात्रु र चालकका लागि पर्याप्त सार्वजनिक शौचालयको अभाव पनि छ, जसका कारण विशेष गरी महिला, ज्येष्ठ नागरिक तथा लामो दूरीका यात्रुहरूले ठूलो सास्ती भोग्नुपरेको छ।
यसैलाई मध्यनजर गर्दै अध्यक्ष गुरुङले राष्ट्रिय राजमार्ग–१० का उपयुक्त स्थानहरूमा कम्तीमा तीनवटा आधुनिक सार्वजनिक शौचालय तत्काल निर्माण गर्न सरकारसँग माग गरेका छन्। उनका अनुसार, सुरक्षित र व्यवस्थित राजमार्ग केवल राम्रो सड़क निर्माणले मात्र सम्भव हुँदैन, यात्रुमैत्री आधारभूत सुविधाको व्यवस्था पनि त्यत्तिकै आवश्यक हुन्छ।
स्थानीयवासीहरूले पनि सड़क मर्मत कार्यमा पारदर्शिता, गुणस्तर र सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायले नियमित अनुगमन गर्नुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार विगत केही वर्षयता राष्ट्रिय राजमार्ग–१० बारम्बार पहिरो, सड़क भासिने तथा मर्मत कार्यका कारण प्रभावित हुँदै आएको छ। यस्तो अवस्थामा निर्माण कम्पनीको जिम्मेवारी अझ बढ्ने भएकाले कुनै पनि लापरवाही स्वीकार्य नहुने उनीहरूको भनाइ छ।
राष्ट्रिय राजमार्ग–१० सिक्किम, कालेबुङ र दार्जीलिङ क्षेत्रलाई सिलगढीसँग जोड्ने जीवनरेखा मानिन्छ। यही मार्गबाट दैनिक हजारौं यात्रु, पर्यटक तथा अत्यावश्यक उपभोग्य सामग्री ओसारपसार हुने भएकाले यसको सुरक्षित, गुणस्तरीय र दिगो निर्माण सुनिश्चित गर्नु सम्बन्धित निकायको प्रमुख दायित्व भएको सरोकारवालाहरूले बताएका छन्।












