सचिन सिंह: जसको धुनले पुस्तालाई जोड़्छ 

Share this news

सञ्जय प्रधान

नेपाली संगीतको संसारमा केही धुनहरू समयसँगै पुराना हुँदैनन्, बरु अझै गहिरा बन्दै जान्छन्। पुस्ता फेरिए पनि, माध्यम बदलिँदा पनि ती गीतहरूको आकर्षण उस्तै रहन्छ। ‘लाठी चार्ज नगर मेरो मायामा’, ‘गुराँस फुल्दा वनै घमाइलो’ आज पनि टिकटक र रिल्समार्फत उस्तै जोशका साथ गुञ्जिरहेका छन्। यस्ता कालान्तरसम्म गुञ्जिरहने गीतहरूले आज पनि श्रोताहरूको मन उस्तै तानेर राखिरहेका छन्। यी गीतहरूको पछाड़ि उभिएको नाम हो- सचिन सिंह, जसका संगीतले नेपाली श्रोताको मनलाई चुम्बकझैँ तानेका छन्।

कालेबुङको रेली रोड़मा जन्मिएका सचिन सिंहको परिवारमै संगीतको वातावरण थियो। बाजेले मादल बजाउँथे, दाज्यूले गाउने-बजाउने गर्थे। स्व. के.बी. सिंह र स्व. राधा सिंहका छोरा सचिनले एसयूएमआई स्कूलपछि कालेबुङ कलेजबाट स्नातक गरे। सानैदेखि संगीत मन पराउँथे। सो बेला अहिलेको जस्तो टीभी, मोबाइलहरू थिएन, रेडियोबाट बज्ने गीतहरू सुनिरहन्थे। गाउँ घरमा गिटार लिएर ठूलाहरूको जमघटले संगीतको वातावरण जम्थ्यो। सानोमा साई भजनहरू गाउँथे, र भजनमै   झ्याली, ढोलक र मादल बजाउन सिके। छ कक्षादेखि गिटार बजाउन थाले। सो बेला संगीतकार राजु गुरूङले गिटारको कर्ड सिकाएका थिए। बाजासित उनको मितेरी साइनो गाँसेको जस्तै थियो- जुनै बाजा समातेपछि छिट्टै नै सिक्नसक्थे। स्कूलका कार्यक्रमहरूमा उनी सधैं अगाड़ि हुन्थे।

‘‘गीतहरूले भाग्य लिएर आएको हुन्छ’’

सचिनले संगीतको औपचारिक तालिम लिएका छैनन्। उनी भन्छन्, ‘‘मैले संगीत केही त्यस्तो पढ़ेको पनि होइन। मैले आफ्नै हिसाबले कोशिश गरेर सिकेको हो।’’ उनले बजाउने मुख्य बाजा गिटार हो। कालेबुङका सृजना क्लब, मेलोडी मेकर्स, फिलिङ्गोजस्ता ब्याण्डहरूमा उनलाई गिटार बजाउन बोलाइन्थ्यो। सन् १९८३-८४ तिर उनीहरूको ब्याण्ड थियो ‘क्यालिप्सो’- यसमा गिटार बजाउँथे। यस ब्याण्डमा सचिन साथै नवीन लकान्द्री, शाहिर अहमद, रवीन घतानी र राजु घिमिरे थिए।

२७ जुलाई १९८६ मा गोर्खाल्याण्ड आन्दोलनको दौरान कालेबुङमा भएको गोलीकाण्डपछि ‘क्यालिप्सो’ ब्याण्डले ‘चारकुने आँगन’ जनवादी गीतको एल्बम निकालेको थियो। सो बेला यो एल्बम मानिसहरूले खोजी खोजी सुन्ने गर्थे। क्यासेट नपाउनेहरूले यसको ओरिजिनलबाट डबिङ गरेर सुन्थे। ‘चारकुने आँगन’ निस्किएपछि सचिनको आँगन फेरियो। आन्दोलनकालमा यस्ता क्यासेट निकाल्नु गाह्रै थियो। उनी सिक्किमतिर लागे र गान्तोकमा प्रायः डेढ़ वर्ष बस्दा किडीखाङ स्कूलमा संगीत शिक्षकको काम गरे, अनि टिबेट रोड़स्थित संगीत प्रशिक्षण केन्द्र एसएमएसमा गिटार सिकाउँथे।

गान्तोककै एउटा गीत रेकर्डिङका लागि सचिन काठमाड़ौं गएका थिए। काठमाड़ौंमा आफन्त भएकाले आउजाउ थियो। रेकर्डिङ गर्न गएका उनी उतै बस्ने भए। सन् १९८८ को अन्त्यतिर संगीतकै सपना बोकेर गिटारिस्टको रूपमा काठमाड़ौं लागे। काठमाड़ौंमा उनले सिम्फोनिक स्टुडियोमा गिटारवादकका रूपमा संगीत यात्रालाई अघि बढ़ाए। सन् १९९१ मा लोकप्रिय गायिका सुकमित गुरुङको गीत ‘हिजोआज’लाई संगीतवद्ध गरे। काठमाड़ौंमा शुरूवाती दिनमा एक-डेढ़ वर्ष निकै संघर्ष गरे, संगीत शिक्षक तथा रेस्टुरेन्टमा बजाउने काम गरे। बिस्तारै एरेन्जर साथै संगीतकारका रूपमा चिनिन थाले। करिब चार दशकको सांगीतिक यात्रामा उनले हजारभन्दा बढ़ी गीतहरूमा काम गरिसकेका छन्, जसमा कतिमा संगीत रचना र कतिमा संगीत एरेन्जरको भूमिका रहेको छ।

चलचित्रमा पहिलोपटक ‘धर्म’मा संगीतकारको रुपमा उदाएका उनले यसपछि ४५ भन्दा बढ़ी नेपाली चलचित्रहरूमा संगीत निर्देशकको रुपमा काम गरिसकेका छन्। चलचित्रहरूमा उनले संगीतवद्ध गरेका थुप्रै गीतहरू सुपरहिट भएका छन्। उनको संगीत रहेको चलचित्र ‘कर्तव्य’को गीत ‘बादल वर्षा बिजुली’ यस्तो किसिमले सुपरहिट बन्यो, यसमा कयौंले टिकटक र रिल्सहरू बनाए। युट्युबमा यो गीतका भ्यूज कुनैमा पाँच करोड़, कुनैमा दुई करोड़ र कुनैमा एक करोड़भन्दा बढ़ी पुगेका छन्। चलचित्र ‘सुपरस्टार’को ‘गुराँस फुल्दा वनै घमाइलो’, ‘सगुन’को ‘आगो लाग्यो दिलैमा दमकल बोलाइदेउ’, ‘आगो’को ‘माया बस्यो मुटुमा’ र ‘लहना’को ‘धड्किन्छ मुटुमा होला’लगायत थुप्रै गीत सर्वाधिक लोकप्रिय बनेका छन्।

‘‘गीतहरूले भाग्य लिएर आएको हुन्छ’’, सचिन भन्छन्। कारण सोध्दा भन्छन्, ‘‘तपाईंलाई त्यस्तो लाग्दैन र?’’ सन् २००४ तिर रिलिज भएको ‘बादल वर्षा बिजुली’ त्यतिबेलै हिट भएको थियो अनि कोभिड-१९ को लकडाउनपछि झनै उदेकलाग्दो रुपमा हिट भयो। यसैले उनी गीतको भाग्य हुन्छ भन्छन्। नेपाली संगीतमा उनले तयार गरेका धेरै गीत ढुङ्गामा खोपिएको अक्षरझैं कालान्तरसम्म चलिरहनेछन्। सुरेन्द्र रानाको शब्द, रामचन्द्र काफ्ले र सिंघु मल्लको स्वर रहेको ‘लाठी चार्ज नगर मेरो मायामा…’ पनि उस्तै हिट भयो- जहिले पनि जमघटमा बजेपछि रौसिलो वातावरण बनाइहाल्छ। उनकै संगीतमा रिमा गुरुङ होडाले गाएकी गीत ‘कसको आँखा लाग्यो वरै’ (एल्बम ‘प्रहीनिर’) राम्रो चाल्यो।

सचिन सिंह संगीतकार, एरेन्जर मात्र होइनन्, खुबै राम्रा गायक पनि हुन्, चलचित्र ‘लहना’को ‘कहिले माया घाम जस्तै’ गीत सुनिरहन मन लाग्छ। उनका गीतहरूबाट प्रायः सयौंजनाले टिकटक र रिल्सहरू बनाउँछन्। नेपाली संगीतका उनी उच्च गुणस्तरका एरेन्जर हुन्। उनले यति धेरै गीतहरू एरेन्ज गरेका छन्, जसको गन्ती उनलाई थाहा छैन।

यता दार्जीलिङ पहाड़ी भेकमा कालेबुङकी सुपरिचित लोक गायिका शर्मिला पाखरिनले दुई दशकअघि गाएकी ‘एक आनी होइन दुवानी होइन चार आनी पर्‍यो औंठीलाई’ गीत निकै लोकप्रिय बनेको हो। मधुसुदन लामाको शब्द र संगीतमा रहेको यस गीतको एरेन्जर सचिन हुन्। लोकप्रिय गायक सुरेश कुमारको चर्चित एल्बम ‘जिन्दगी’का सबै गीतहरूमा पनि उनले नै संगीत एरेन्ज गरेका हुन्। हालै कालेबुङबाट निर्माण भएको चलचित्र ‘सुनमुना’मा उनकै संगीत रहेको छ।

सचिन आफूले थाहा नपाई बनेका एरेन्जर हुन्। सन् १९७८ तिर स्कूल पढ्दा उनका दाज्यूका साथी अमर रसाइलीले गीत लेख्थे, र धुन भरेर सबै वरिपरि बसेर घरको कोठामा सानो टेप रेकर्डरमा गीत रेकर्ड गर्थे। यसरी गर्दै जाँदा अनुभव बढ़्यो र बिस्तारै राम्रा एरेन्जर बने। पछि बुझे, त्यो काम एरेन्जरको रहेछ। उनी पहिला गिटारिस्ट, एरेन्जर अनि संगीतकार हुन्। हाँस्दै भन्छन्, ‘‘मेरो एरेन्जरलाई मेरो संगीत कम्पोजरले थिच्यो।’’ एल्बम ‘बिहानी’का सबै गीतमा उनले संगीत दिएका छन्, यसका गीतकार डियर कल्याण र गायक सुमन कुमार श्रेष्ठ हुन्। सुपरिचित गायक आनन्द कार्कीको एल्बम ‘आनन्द’का गीतहरू पनि उनले नै संगीतवद्ध गरेका छन्।

संगीतमा एआईको असरबारे सचिन भन्छन्, ‘‘एआईले बिस्तारै असर पारिरहेको छ। यसले कतिसम्म असर गर्छ त्यो हेर्न बाँकी छ।’’ मौलिक र एआईको कम्पोजमा के फरक हुनुसक्छ? उनी भन्छन्, ‘‘एआई भनेको कम्प्युटर प्रविधि हो। त्यसमा हामी हार्न पनि सक्छौं। पब्लिकले मन पराइदिए सकिगयो..बलियो त श्रोता हो।’’ उनको संगीतमा बलिवुडका चर्चित कलाकारहरूमा उदित नारायण झा, साधाना सरगम, कविता कृष्णमूर्ति, संजीवनी, सान, जयश्री आदिले गएका छन्।

सचिन सिंहको संगीत समय र माध्यमभन्दा माथि उभिएको छ। टिकटकदेखि रिल्ससम्म पनि उस्तै सान्दर्भिक रहनु नै उनका धुनहरूको शक्ति हो। समयले धेरै कुरा बिर्साउँछ, तर मनको गहिराइबाट बनेका धुनहरू कहिल्यै हराउँदैनन्- सचिन सिंहको संगीत त्यसैको उदाहरण हो।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ