नारी दर्पण
सञ्जय निरौला⇒
प्रकृतिले दार्जीलिङ पहाड़लाई जति मनमोहक बनाएको छ, यहाँका मानिसहरू कला, शिक्षा, खेलकुद र समाजसेवामा त्यत्तिकै धनी छन्। यीमध्ये कतियले आफ्नै पेशा र व्यक्तिगत जीवनको सीमितताभन्दा बाहिर निस्केर समाजलाई बाटो देखाउने, सम्भावनामा भरोसा राख्ने र अरूलाई अघि बढ़ाउन हात थाप्ने काम गरेका छन्। यसरी समाजलाई ऊर्जा दिने अनुहारहरू कम छैनन्। त्यस्ता अनुहारमध्ये एक हुन् रोशनी राई, जो वकिल, अल्ट्रा म्याराथन धाविका, प्रेरक वक्ता र लेखिका मात्र होइन, आफ्नै समुदायलाई दौड़मार्फत अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने अभियानकी अगुवा पनि हुन्। उनी ‘रन विथ रोशनी फाउन्डेसन’की संस्थापक हुन्, जसको माध्यमबाट उनले स्थानीय स्तरका प्रतिभाशाली धावकहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने काम गरिरहेकी छिन्।

कालेबुङ जिल्लाको ऐतिहासिक र शैक्षिक केन्द्र पेदोङले धेरै नामी व्यक्तित्वहरू जन्माएको छ। यहींबाट उदाएकी प्रगतिशील महिला हुन् रोशनी राई, जसलाई आज ‘रन विथ रोशनी’ नामक संस्थासँगै चिनिन्छ। नरधोज राई र जङीमाया राईकी छोरी रोशनीले पेदोङकै सेन्ट जर्ज विद्यालयबाट उच्च माध्यमिकसम्म पढ़ेपछि उत्तर बंगाल विश्वविद्यालयबाट कानूनमा स्नातक (एलएलबी) गरिन्। त्यसपछि उनले मुम्बईमा कानूनमा स्नातकोत्तर (एलएलएम) गर्दै वकिल पेशामा प्रवेश गरिन्। कानून उनको पहिचान भए पनि जीवनले उनलाई अर्को बाटोतर्फ डोर्याइरहेको थियो- त्यो हो दौड़।
विद्यार्थी जीवनमा खेलकुदमा खासै सक्रिय नदेखिएकी रोशनी मुम्बईमा अध्ययनरत् रहँदा रहरले पहिलोपटक ‘स्ट्यान्डर्ड चार्टर्ड मुम्बई म्याराथन’मा दौड़िन्। यसमा उनी घाइते भए पनि उनले हार मानिनन्। बरु, यो चोट नै उनको लागि प्रेरणा बन्यो। सन् २००८ मा उनले कोलगेट-पाल्मोलिभ (इण्डिया) लिमिटेडमा कानुनी कार्यकारीको रूपमा काम शुरु गरिन्। त्यही क्रममा दौड़ क्लबमा आवद्ध भइन्, र यहाँ प्रशिक्षक ड्यानियल भाझको मार्गदर्शनमा पेशेवर तालिम लिइन्। उनको समर्पण र नियमित तालिमले छोटो समयमै उनलाई प्रतिस्पर्धी धावकको रूपमा स्थापित गरायो।

आजसम्म उनले १० किमी, हाफ म्याराथन, म्याराथन, ५०-७५ किलोमिटरका अल्ट्रा म्याराथनदेखि दक्षिण अफ्रिकाको ८९ किमी ‘कमरेड्स म्याराथन’ र १०० किमी ‘बंगलोर अल्ट्रा म्याराथन’सम्म ५० भन्दा बढ़ी दौड़मा सहभागिता जनाइसकेकी छन्। उनले आठवटा अन्तर्राष्ट्रिय म्याराथनमा भाग लिइसकेकी छिन्- जसमा प्रमुख रहेका छन् दुईवटा इङ्गल्याण्डमा, एउटा चेक गणराज्यमा, एउटा दक्षिण अफ्रिकामा। सन् २०१६ र सन् २०२३ मा उनलाई ‘तेन्जिङ-हिलारी एभरेष्ट म्याराथन (नेपाल)’मा निमन्त्रणा प्राप्त भयो। यो म्याराथन विश्वकै सबैभन्दा उचाइमा हुने साहसिक ट्रेल म्याराथन हो, जसमा दौड़िनु आफैंमा चुनौतीपूर्ण उपलब्धि हो।
त्यसैगरी उनले चीनको ‘स़िङ्गुई माउन्टेन म्याराथन (२०१६)’ र नेपालकै ‘लुम्बिनी पिस म्याराथन (२०१८)’मा पनि दौड़िन्- जुन विश्वकै एक मात्र आध्यात्मिक म्याराथन मानिन्छ। उनको आत्मकथात्मक पुस्तक ‘फ्रम द माउन्टेन टु द ओसन: रन विथ रोशनी’ सेप्टेम्बर २०१५ मा मुम्बईबाट प्रकाशित भयो। पुस्तकमा उनले आफ्नो जीवन संघर्ष, दौड़सँगको सम्बन्ध र गोर्खा समुदायको पहिचानको खोजलाई समेटेकी छिन्। यो पुस्तकले खेलकुद, पहिचान र व्यक्तिगत संघर्षबीचको गहिरो सम्बन्ध देखाउँछ।
सन् २०१२ मा रोशनीले ‘रन विथ रोशनी फाउन्डेसन’ स्थापना गरिन्। यसको उद्देश्य स्थानीय धावकलाई राष्ट्रिय स्तरमा चिनाउने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी गराउनु हो। मुम्बई, दिल्ली, हैदराबाद, चेन्नई, बंगलोर, शिलङजस्ता शहरहरूमा उनी निरन्तर गोर्खा धावकलाई सहभागी गराउँदै आएकी छिन्। उनको विश्वास छ- दार्जीलिङ-कालेबुङका पहाड़ी भौगोलिक अवस्थाले गोर्खा युवामा जन्मजात शारीरिक शक्ति र सहनशीलता दिएको छ। उचित तालिम र मार्गदर्शन पायो भने, उनीहरू केन्या र इथियोपियाका धावकसँग पनि प्रतिस्पर्धा गर्न सक्छन् भन्ने उनको भनाइ छ। उनी भन्छिन्, ‘‘पहाड़का गोर्खा धावकहरूको यस्तो टोली तयार पार्नुछ, जसले भारतका लागि ओलम्पिक म्याराथन जितोस् र यसकै माध्यमबाट भारतीय गोर्खाहरूको पहिचान संकट अन्त्य होस्।’’
रोशनी राई विभिन्न सम्मान-पुरस्कारबाट सम्मानित भइसकेकी छिन्। जसमा केही प्रमुख यस्ता छन्- कालेबुङमा ‘कालेबुङ रत्न पुरस्कार’ (२०१३), दिल्लीको हाम्रो स्वाभिमानबाट ‘गोर्खा गौरव पुरस्कार’ (२०१५), रोटरी क्लब अफ् दार्जीलिङको ‘कम्युनिटी सेवा पुरस्कार’ (२०१५), ‘अगमसिंह गिरी पुरस्कार’ (२०१७), सिक्किम विश्वविद्यालयको ‘भारतीय शिखर सम्मेलन सम्मान’ (२०१७), सन् २०१६ देखि निरन्तर ‘तेन्जिङ-हिलारी एभरेष्ट म्याराथनको गुडविल एम्बासेडर’ छिन्, रोटरी क्लब अफ् कालेबुङद्वारा ‘भोकेशनल सर्भिस एक्सिलेन्स अवार्ड’ (२०१८), रोटरी क्लब अफ् दार्जीलिङद्वारा ‘वुमन अफ् सब्सट्यान्स’ (२०१९), काठमाड़ौंको पिस रन फाउन्डेसनद्वारा ‘पिस रन एम्बासेडर अवार्ड २०२३’ आदि छन्। राज्यसभाका सांसद तथा भारतका पूर्व विदेश सचिव हर्षवर्धन श्रृंगलाद्वाराबाट पनि उनी सम्मानित भइसकेकी छिन्। यसका साथै युनिभर्सिटी अफ् क्यालिफोर्नियाको ‘टेल हर स्टोरी कन्टेस्ट २०१८’मा उनी सेमीफाइनलिस्ट रहिसकेकी छिन्।
रोशनी राईको जीवन एउटा प्रेरणादायक यात्रा हो- जहाँ कठिनाइ, लगनशीलता र सामाजिक प्रतिबद्धता एकसाथ देखिन्छ। कानूनको क्षेत्रमा सफल करियर बनाउँदै उनले दौड़मार्फत् न केवल व्यक्तिगत उचाइ हासिल गरिन्, बरु सम्पूर्ण समुदायको लागि आवाज बन्न सकिन्।












