दार्जीलिङ पहाड़को रङ्ली-रङ्लीयट खण्डअन्तर्गत पर्ने बड़ापुबोङ बस्ती- पहाड़को चियाबारीमा हरियालीले सजिएको र श्रमजीवी जीवनका कथाले भरिएको एउटा भूगोल। यही माटोमा जन्मिएका ६८ वर्षीय गायक, कलाकार तथा संगीतकार राम विष्ट आज पनि यस क्षेत्रका जीवित सांगीतिक प्रतिनिधिका रूपमा उभिएका छन्। पाँच दशकभन्दा लामो सांगीतिक यात्राले उनलाई केवल लोकप्रिय गायकको सीमामा सीमित राखेन, बरु उनले आफूलाई एक युगका प्रतीक, एक संस्थान र अनेकौं कलाकार जन्माउने संगीत गुरुका रूपमा स्थापित गरे।
आरम्भ : रेडियोको स्वर्णयुग र एउटा स्वरको उदय
सन् १९७० को दशक नेपाली संगीतका लागि संक्रमण र सम्भावनाको समय थियो। प्रविधि सीमित थियो, प्रचारका माध्यम न्यून थिए, तर सिर्जनात्मकता प्रबल थियो। त्यही समय सन् १९७४ तिर आकाशवाणी खरसाङबाट उनका गीतहरू प्रसारण हुन थाले। रेडियोको मधुर ध्वनिसँगै गुञ्जिने उनको सुमधुर स्वर गाउँ-बस्ती हुँदै जनमानसमा पस्न थाल्यो। चियाबारीका मजदुरदेखि विद्यालयका शिक्षक, गृहिणीदेखि युवायुवतीसम्म-सबैको ओठमा उनका गीत झुन्डिन थाले। उनले सन् १९८३ मा एउटा क्यासेट एल्बममा गाएका हुन्।
त्यो समयको रेडियो केवल मनोरञ्जनको साधन मात्र थिएन, त्यो मानिसहरूको भावनाको साँघु थियो। राम विष्टको स्वरले यही साँघुलाई सशक्त बनायो। उनका गीतहरूमा पहाड़को सुगन्ध थियो, श्रमको पसिना थियो र जीवनका आरोह-अवरोहको यथार्थ चित्रण थियो। त्यसैले उनका गीत सुन्नेहरूका लागि त्यो केवल संगीत नभएर आफ्नै कथा जस्तो लाग्थ्यो।
ओझेलमा पर्यो प्रतिभा
यद्यपि लोकप्रियता बढ़्दै गयो, जीवन सहज भने भएन। सूचना एवं संस्कृति विभागमा आफ्नो गायनकलाको आधारमा रोजगारी पाउन उनले वर्षौं संघर्ष गर्नुपर्यो। कलाकारिताको मूल्यांकनमा तुवाँलो लाग्दा उनको प्रतिभालाई ओझेलमा पार्यो। शुभचिन्तकहरू भन्छन्- उनले पाउनुपर्ने संस्थागत सम्मान अझै अधुरै छ। तर अस्वीकृतिले उनलाई रोकेन। बरु त्यही पीड़ाले उनको स्वरलाई अझ गहिरो बनायो। उनले कहिल्यै संगीतलाई पेशागत बाध्यताभन्दा माथि उठाएर आत्मिक साधनाको रूपमा लिए। यही समर्पणले उनलाई निरन्तर अघि बढ़ायो।
पारिवारिक दायित्व र जिम्मेवारीको भार
राम विष्टको जीवनकथा संघर्ष र जिम्मेवारीले बुनेको कथा हो। चियाकमानको साधारण घरमा जन्मिएका उनी परिवारका माइला छोरा। सात दाजुभाइ र चार दिदीबहिनी- यत्रो ठूलो परिवारको दायित्व काँधमा बोकेर हुर्कनु सहज थिएन। आर्थिक अभाव, सामाजिक दबाव र पारिवारिक अपेक्षाबीच उनले आफ्नो सपनालाई जोगाए।
परिवार धान्ने जिम्मेवारी पूरा गर्दै संगीतलाई निरन्तरता दिनु उनका लागि साधारण कुरा थिएन। दिनभरि श्रम र दायित्व, अनि समय निकालेर अभ्यास-यही तालमेलले उनको व्यक्तित्वलाई सुदृढ़ बनायो। संघर्षकै बीच उनले आफू मात्र होइन, अन्य युवालाई पनि संगीत सिकाए। यसरी उनी केवल गायक होइन, गुरु बने।
‘पहराको फूल’ : सम्मानको एक ऐतिहासिक क्षण
उनको पचास वर्षे सांगीतिक यात्रालाई समर्पित गर्दै जीवन ज्योति फाउण्डेशनले ‘पहराको फूल’ नामक अभिनन्दन ग्रन्थ ८ फरवरी 2०2६ मा लोकार्पण गरियो। लोकार्पणका दिन पूमोङ चियाबारीको फराकिलो मैदानमा आयोजित विमोचन समारोह ऐतिहासिक क्षण बन्यो। प्रमुख अतिथिका रूपमा वरिष्ठ साहित्यकार तथा सुपरिचित गीतकार डा० जस योञ्जन प्यासी उपस्थित भए। उनले राम विष्टको योगदानलाई उच्च मूल्यांकन गर्दै सुस्वास्थ्य र दीर्घायुको कामना गरे।
कार्यक्रमको संयोजनमा जीवन ज्योति फाउण्डेशनका संस्थापक अध्यक्ष विशाल गोलेलगायत समाजमा विशिष्ट व्यक्तिहरूको सक्रियता उल्लेखनीय रह्यो। कार्यक्रम केवल पुस्तक लोकार्पणमा सीमित रहेन, त्यो एउटा समर्पित संगीतका कर्मीलाई सम्मान समारोह बन्यो। ‘पहराको फूल’ शीर्षक आफैंमा प्रतीकात्मक छ। पहाड़को कठोर चट्टानबीच पनि ढकमक्क फुल्ने सुनखरी जस्तै, संघर्षका बीच फक्रिएको उनको जीवनलाई यसले जीवन्त उपमा दिएको छ। प्राथमिक तहका पूर्व शिक्षक के.डी. भण्डारीले पुस्तकमा उनलाई पर्वतको काखमा फुलेको अमूल्य फूल भनेर वर्णन गरेका छन्।
अदम्य इच्छाशक्ति
हाल उनी मुटुरोगबाट ग्रसित भई सिलगढ़ीमा उपचाराधीन छन्। तर रोगले उनको मनोबललाई कमजोर पार्न सकेको छैन। बाँचुन्जेल मीठो सन्देश दिँदै जानेछु, भन्ने उनको अभिव्यक्ति स्वयंमा प्रेरणादायी छ। आफ्नै स्वास्थ्य कमजोर हुँदाहुँदै पनि समाज र संगीतप्रति उनको चासो र समर्पण उत्तिकै बलियो छ। अस्पतालको ओछ्यानबाटै उनले आफ्नो अभिनन्दन ग्रन्थको लोकार्पणबारे चासो राखे। कार्यक्रममा को प्रमुख अतिथि बन्ने भन्ने विषयमा उनले गीतकारले नै पुस्तक विमोचन गर्नुपर्ने सुझाव दिएका थिए। यसले उनको कलाकारिताप्रतिको सम्मान र दृष्टिकोण झल्काउँछ।
प्रेरक प्रतिनिधि
राम विष्टको योगदान केवल गीत गाउनुमा सीमित छैन। उनले स्थानीय स्तरमा सांगीतिक वातावरण निर्माण गरे, नवप्रतिभालाई अवसर दिए, र पहाडी समाजमा संगीतको चेतना जगाए। पाँच दशकमा उनले थुप्रै कलाकार जन्माए- जसले आज विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाइरहेका छन्। उनका गीतहरूमा प्रेम छ, पीड़ा छ, संघर्ष छ र आशा छ। त्यसैले उनी केवल गायक होइनन्-समाजको दर्पण हुन्। उनको स्वरमा पहाड़को आत्मा बस्छ। आज जब उनको योगदानको मूल्यांकन गरिन्छ, त्यो केवल अतीतको स्मरण होइन, वर्तमानलाई प्रेरणा र भविष्यलाई दिशा दिने प्रयास हो। जीवित कलाकारको सम्मान गर्नु भनेको उसको योगदानप्रति साँचो कदर गर्नु हो।
राम विष्ट-पहराको फूलझैं कठिन परिस्थितिमा फक्रिएको नाम। उनका स्वरहरू अझै गुञ्जिरहून्, नयाँ पुस्ताले प्रेरणा लिइरहून्,र उनले बाँकी जीवन सुस्वास्थ्यका साथ बिताउन सकून्-यही सम्पूर्ण संगीतप्रेमीहरूको कामना हो।












