फूटबलमा भविष्य देख्ने प्रीति: पहाड़मा केटीहरूको मार्ग खोल्दै

Authored By: सञ्जय प्रधान  

Share this news

दार्जीलिङ पहाड़को गाउँको मैदानबाट शुरु भएको सपना आज महिला फूटबलको उज्यालो यात्रामा बदलिँदैछ। यही यात्राकी पात्र हुन् प्रीति सार्की- खेलाड़ी, प्रशिक्षक र प्रेरणा। दुई दशक लामो संघर्ष, चोट, उतारचढ़ाव र आत्मविश्‍वासको बलमा उनी दार्जीलिङ पहाड़बाट अब्बल दर्जाका महिला खेलाड़ीहरू जन्माउने लक्ष्यसहित अघि बढ़िरहेकी छिन्।

कृष्ण सार्की र प्रमिला सार्कीका छोरी प्रीति सानैदेखि फूटबल खेल्दै हुर्किएकी हुन्। दार्जीलिङको सिंहमारी फ्राइमल भिलेजमा जन्मिएकी प्रीति सार्की सेन्ट टेरेजा स्कूल पढ़ेर दार्जीलिङ सरकारी महाविद्यालयबाट स्नातक गरेकी हुन्। सानो हुँदा गाउँमा सबै केटाकेटी फूटबल खेल्थे। ती केटाकेटीहरू बीच खेल्ने प्रीति पनि थिइन्, तर उनको लक्ष्य लामो भविष्यतर्फ थियो। गाउँको सानो मैदानमा अरुले फूटबल खेलेको देख्दा उनी यसप्रति आकर्षित भइन्। स्कूलमा फूटबल टिम भएको हुँदा छ कक्षादेखि नै फूटबल प्रतियोगिताहरू खेल्न थालेकी हुन्। गाउँको टिमबाट पनि फूटबल खेल्थिन्, र परिवार साथै गाउँबाट सबैको प्रेरणा, हौसला पाउँथिन्।

‘‘यताका प्रतिभाशाली खेलाड़ीहरू हामी आफै चयन गरेर केटा र केटीको टिम लिएर जानेछौं कलकता लिगहरू खेलाउन। राम्रो राम्रो क्लबहरूमा खेल्ने अवसरहरू सृजना गर्नेछौं’’

फूटबलसँगै उनी संगीतसित पनि जोड़िएकी थिइन्। गाउँमा प्रीति र साथीहरू मिलेर ब्याण्ड खोलेका थिए, यसमा प्रीतिले ड्रम बजाउँथिन्। उनीहरूले यताउति सांगीतिक कार्यक्रमहरू पनि गर्थे। फूटबल र संगीतलाई एकैसाथ लिएर हिँड़्दा भविष्यमा करियर बनाउन फूटबललाई रोजिन्। स्कूलमा फूटबल टिम भएको हुनाले राम्रो अवसर पाएको उनी बताउँछिन्। स्कूलको टिमबाट जिल्ला स्तरका फूटबल प्रतियोगिताहरूमा उनले आफ्नो खेलको कौशल प्रदर्शन गरेर राम्रो छाप बसलेकी थिइन्। जिल्ला स्तरबाट चयन भएर सेन्ट टेरेजाबाट राज्य स्तरको प्रतियोगिता पश्‍चिम बंगालको नदियामा खेलिन्। यसपछि १० कक्षामा हुँदा स्कूलकै राष्ट्रिय स्तरको प्रतियोगितामा शिक्षा संघबाट मध्य प्रदेशको भोपालमा खेलिन्, जहाँ उनले राम्रो प्रदर्शन गरिन्।

स्कूलको विद्यार्थी हुँदै उनी पेशेदार फूटबल खेलमा प्रवेश गरिन्। विद्यार्थी हुँदा सिलगढ़ीको फूटबल क्लब ‘मर्निङ सकर’बाट कलकता लिग खेल्न थालिन्। बढ़ी जस्तो मिड फिल्डरको रुपमा खेल्ने प्रीतिको खेलको कौशल देखेर कलकता स्थित आयकर विभागले आफ्नो टिममा सामेल गरायो। यसरी उनी १२ कक्षा सकेपछि आयकर विभाग कलकताबाट खेल्न थालिन्। फूटबलको यात्रामा अघि बढ़्दै दिल्लीकै क्लब ग्रोविङ स्टारबाट दिल्ली लिग खेल्न पुगिन्। यति बेला उनी कलेज पढ़्दै थिइन्। दार्जीलिङ सरकारी कलेजमा पढ़्दा कलेजबाट पनि महिला फूटबल टिम निकालेको थियो। कतिवटा स्थानीय प्रतियोगिताहरू कलेजले जितेको उनी बताउँछिन्। उनले लेबोङमा ‘फूलमाया कप’, कलेबुङमा ‘इन्डिपेन्डेन्स कप’, खरसाङमा हुने अन्य प्रतियोगिताहरू खेलिन्।

प्रीतिको फूटबल यात्रा अघि बढ़्दै थियो, तर सन् २०१६ मा निक्कै कठिन समयको सामना गर्नुपर्‍यो। बागडोग्रा नजिक एउटा चियाबगानमा खेल्दा देब्रे खुट्टाको हड्डी भाँचिएर छ महिना थला पारिन्। यसले उनी पहिला त आफूलाई अब नसक्ने ठानेकी थिइन्, तर हिम्मत हरिनन्। यो छ महिनालाई उनले जीवनको ठूलै प्रतियोगिताको रुपमा लिइन्, आफैलाई हौसला दिइन्। टीभीमा फूटबल खेलहरू हेर्दै, नयाँ विचार गर्न थालिन्। छ महिना थला पर्दा आफूलाई फूटबल प्रशिक्षकको रुपमा रुपान्तरण गर्ने सोंचमा लागिन्। निको भएर बसेकी बेला समाचार पत्रमा ‘प्रशिक्षकको परीक्षाबारे प्रकाशित भएको देखिन्। २४ जनाको सिटमा पश्‍चिम बंगालबाट प्रीतिले एउटा सिट पाएर प्रशिक्षकको परीक्षाको लागि गान्तोक गइन्। प्र्याक्टिकल र थियोरी क्लासहरू गरेर सन् २०१९ मा ‘डी’ लाइसेन्स प्रशिक्षकको परीक्षा उत्तीर्ण गरिन्।

फूटबल खेलकै प्रतिभाले सन् २०१8 मा प्रीतिले पश्‍चिम बंगाल सरकारको सिभिक भोलेन्टियर (सिभिक पुलिस पनि भनिन्छ)मा नियुक्ति पाइन्। अहिले पनि उनी पुलिस टिमबाट फूटबल प्रतियोगिताहरू खेल्छिन्। ‘डी’ लाइसेन्स पास गरेपछि दार्जीलिङमै फूटबलको विन्टर कोचिङ क्याम्पहरू गर्न थालिन्। यस्तो कोचिङ क्याम्प दार्जीलिङमा डालीको पुलिस मैदानमा गराउँन्थिन्।

सन् २०२५ मा उनले एएफसी ‘सी’ लाइसेन्सको परीक्षा उत्तीर्ण गरिन्। प्रशिक्षकको कोर्सहरू अल इण्डिया फुटबल फेडरेसन (एआईएफएफ)ले आयोजना गर्छ, जुन एशियन फूटबल कन्फेडेरेसनको अधिनमा र फिफासँग अनुबन्धित छ। यसमा डी, सी, बी, ए गरी चार तहका लाइसेन्स हुन्छन्। प्रीति दार्जीलिङ जिल्लामा ‘सी’ लाइसेन्स प्राप्त गर्ने पहिलो महिला प्रशिक्षक हुन्।

‘सी’ लाइसेन्स सकेपछि अहिले प्रीतिले सुकेपोखरीमा अभिवृद्धि फूटबल क्लबमा प्रशिक्षण गराइरहेकी छिन्। यसभन्दा अघि ‘डी’ लाइसेन्स सकेर खरसाङमा रिचा बालाको मार्गदर्शनमा रहेको  हिमालयन फूटबल क्लबमा केटीहरूलाई प्रशिक्षण दिइन्। अब कलकतासित जोड़िएर आफ्नै एकाडेमी खोल्ने तयारीमा रहेको प्रीति बताउँछिन्। उनका अनुसार, ‘सी’, ‘बी’ लाइसेन्स गरेकाहरू मिलेर नेशनल फूटबल एकडेमी खोलिएको छ र यो कलकतामा शुरु भइसकेको छ, यसैसित सम्बन्धित रहेर दार्जीलिङमा छिट्टै एकाडेमी खोलिनेछ। दार्जीलिङमा खोलिएपछि यो एकाडेमीले वर्षभरि नै फूटबल प्रशिक्षण गराउने छ। उनी भन्छिन्, ‘‘यताका प्रतिभाशाली खेलाड़ीहरू हामी आफै चयन गरेर केटा र केटीको टिम लिएर जानेछौं कलकता लिगहरू खेलाउन। राम्रो राम्रो क्लबहरूमा खेल्ने अवसरहरू सृजना गर्नेछौं। हाम्रो दह्रो टिम भए बाहिर खेल्न सकिन्छ।’’

‘‘दार्जीलिङमा फूटबलको क्षेत्रमा केटीहरू आउँछन्, तर यहाँ प्रतियोगिताहरू बढ़ी हुँदैन’, उनी भन्छिन्। सबै स्कूलतिर केटीहरूका लागि फूटबल राखे राम्रो हुने उनको भनाइ छ। दार्जीलिङबाटै सिभिक भोलेन्टियर रहेकी सुष्मिता लेप्चा अहिले भारतीय टोलीमा खेलिरहेकी प्रीति बताउँछिन्। उनी भन्छिन्, ‘‘अहिले केटीहरूले छिटो राम्रो अवसर पाउँदैछन्, यो सबैको आफ्नै संघर्षले पाएका हुन्। जबसम्म आफै बनिँदैन कसैले याद गर्दैंन।’’ उनी अझ भन्छिन्, ‘‘केटीहरूलाई जन्मिने बितिक्कै गुड़िया दिइन्छ, केटाहरूलाई फूटबल दिइन्छ। केटीहरूलाई गुड़ियाबाट छुटाएर सिकाउन गाह्रैपर्छ।’’ स्कूलहरूमा केटीहरूको अन्तर विद्यालय फूटबल प्रतियोगिताहरू राखिदिए राम्रो अवसर पाउँछन् भन्ने उनको धारणा छ। ‘‘खेलकुदले आफ्नो गाउँ-ठाउँ सबै चिन्हाउँछ’’, उनी भन्छिन्।

पहाड़मा केटीहरूको फूटबल प्रतियोगिता कम्ति नै हुने गरेको छ। खरसाङमा खरसाङ सब-डिभिजनल स्पोर्ट्स एसोसिएसनले महिलाहरूको खुल्ला प्रतियोगिता सेभेन साइडको अनि अर्को ठूलो प्रतियोगिता खरसाङ फूटबल एसोसिएसनले आयोजना गर्दै आएको छ। कालेबुङमा देवान्जन शेयर गर्ल्स एकाडेमीले १३ वर्ष मुनि र १५ वर्ष मुनिको अनि कालेबुङ स्पोर्ट्स एसोसिएसनले प्रतियोगिता आयोजना गर्छ। दार्जीलिङमा दार्जीलिङ फूटबल सोसाइटीले आयोजना गर्छ।  औसतमा हेर्ने हो भने कमै प्रतियोगिता आयोजना हुनेगर्छ। प्रीति भन्छिन्, ‘‘पहिला हामीलाई इण्डिया खेल्ने पनि थाहा थिएन, कलकता लिग खेल्नु नै सबैभन्दा ठूलो सम्झिन्थ्यौं। अहिले केटीहरू रेफ्री पनि राम्रै हुँदैछन्।’’

प्रीतिले फूटबल खेलमा आफ्नो दुई दशकको यात्रामा निक्कै संघर्ष गरिन्। कलेज पढ़्दा सन् २०१४ मा मुम्बईको कूह स्पोर्ट्स प्राइभेट लिमिटेडमा प्रशिक्षक थिइन्। स्कूलमा आफूलाई मार्गदर्शन गर्ने गुरुमा कमलेश राई, आफ्नो पहिलो प्रशिक्षक देवव्रत प्रधान, क्लबका प्रशिक्षक स्व० लाक्पा शेर्पा (गुरुजी), मार्गदर्शक रिचा बालाप्रति आभार प्रकट गर्छिन्। संघर्ष र समर्पणको यात्रामा अघि बढ़िरहेकी प्रीति सार्की आज दार्जीलिङमा महिला फूटबलको नयाँ आशा बनेकी छन्। उनको प्रयासले पहाड़का धेरै केटीहरूका सपनालाई नयाँ उड़ान दिँदैछ।

 


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ