खरसाङ, (निसं): आगामी विधानसभा चुनावमा खरसाङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाको पक्षमा शुक्रबार खरसाङ बजारको हिल कार्ट रोडमा चुनाव पार्टी कार्यालय उदघाटन गरिएको छ। उक्त कार्यालयको उदघाटन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष एवं जीटीएको प्रमुख कार्यपाल अनित थापाको विशेष उपस्थितिमा उम्मेद्वार अमर लामाको बाहुलीबाट गरियो। यस अवसरमा अमर लामाको उपस्थितिमा विभिन्न धर्मका गुरुहरुले पूजा अर्चना गरेका थिए। यस अवसरमा हिन्दुको पण्डित, बौध्द धर्मको लामा, मुस्लिम धर्मको मलवी र इसाई धर्मका फादर आदिद्वारा प्रार्थना गरिएको थियो।
उक्त चुनावी कार्यालय उदघाटनपछि एउटा सांगठनिक सभा सम्पन्न भएको थियो। सभालाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिका सभापति सुमन बम्जनले सञ्चालन गरेका थिए। यस चुनावी सभालाई सम्बोधन गर्दै जीटीए प्रमुख अनित थापाले आफ्ना कार्यकर्ताहरुलाई सम्बोधन गर्दै चुनावको माहोलमा डिमाण्ड होइन तर मानिसहरुलाई बुझाउनुपर्छ र यतिबेला पनि नाली झोड़ा भन्नु हुँदैन। बरु यतिबेला सबैले मिलेर खरसाङ, दार्जीलिङ र कालेबुङलाई जिताउनुपर्छ भनी बताएका छन्। उनले भने, अब हामी जोड़तोड़ले लागेर अघि बढ्नुपर्छ। हामीले उम्मेद्वार भनेको जस्तै पाएका छौँ। हिजोदेखि हामी सजिलै जित्छौँ भनेर फोन आईरहेको छ, सबैले खट्नुपर्छ। सकरात्मक हुनु राम्रो हो तर काम गर्नु जरुरी छ। सभालाई सम्बोधन गर्दै अनित थापाले खरसाङ र कालेबुङ विधानसभा समष्टिमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेद्वारहरूले नामाङ्कन पत्र आगामी 1 अप्रेल अनि दार्जीलिङ्मा 2 अप्रेलको दिन नामांकन पत्र बुझाउने कार्यक्रम रहेको घोषणा गरे।
उनले भने, सबैजना आफ्नो आफ्नो गाउँमा गएर जिताउनु पर्छ। सबैले आफ्नो आफ्नो बुथ जिताउनु सक्नुपर्छ। सभालाई भागोप्रमोको उम्मेद्वार अमर लामाले सम्बोधन गर्दै चुनावमा प्रतिद्वन्द्विता कुनै व्यक्ति विशेषसित होइन तर कुनै पनि पार्टीको नीति विरुद्ध हो भनी बताएका छन्। उनले कसैले पनि व्यक्तिगत आक्षेप लगाएर नबोल्ने अनुरोध गरे। चुनाव कार्यालयमा आफु बिहान र बेलुका बसेर जनतालाई भेट्ने पनि लामाले बताए। यस चुनाव कार्यालय उदघाटन कार्यक्रममा केन्द्रीय उपाध्यक्ष सुवास प्रधान, सभासदहरु श्याम शेर्पा र नुरी शेर्पा, अनु छेत्री, समीरदीप ब्लोन लगायत नारी शक्ति, युवा शक्ति, खरसाङ महकुमा, खरसाङ टाउन कमिटी र विभिन्न भातृ संगठनका प्रतिनिधिहरु र अन्यहरु उपस्थित रहेका थिए।












