अब न २००७ फर्किन्छ, न अर्को प्रशान्त आउँछ

Share this news

सञ्जय प्रधान 

सन् २००७ केवल एउटा क्यालेन्डर वर्ष थिएन-  त्यो वर्ष विश्‍वभर छरिएका नेपालीहरूको आत्मसम्मान एकैचोटि जागेको क्षण थियो। जाति, भूगोल र सीमाभन्दा माथि उठेर नेपालीपनले पहिलोपटक भारतको सबैभन्दा ठूलो संगीतको मञ्चमा आफ्नो आवाज सुनाएको वर्ष थियो। त्यो आवाज थियो दार्जीलिङ पहाड़बाट उठेको, पुलिस युवाको असाधारण सपनाले जन्माएको- प्रशान्त तामाङ।

सन् २००७ ले दार्जीलिङको संगीत मात्र होइन, राजनीतिमा पनि अमिट छाप बसालेको छ। यही वर्षले नेपाली समुदायलाई संगीतको क्षेत्रमा पहिलोपटक विश्‍वसामु गर्वका साथ उभ्यायो। आज जब हामी प्रशान्त तामाङलाई सम्झन्छौँ, हामी एउटा गायक मात्र सम्झिरहेका हुँदैनौँ- हामी त्यो युग सम्झिरहेका हुन्छौँ, जसले नेपालीलाई एक बनाएको थियो।

‘‘प्रशान्त तामाङ यस्ता इण्डियन आइडलहुन् जसलाई दार्जीलिङको राजनैतिक र सांगीतिक संसारले बिर्सिन सक्दैन’’

कुरा हो, ४ मई २००७ को- भारतको सर्वाधिक लोकप्रिय टीभी च्यानल ‘सोनी’मा ‘इण्डियन आइडल सिजन-३’ शरु भएको थियो। पहिलो राउण्डको प्रस्तुति पछि तुफानको वेगमा सर्वत्रै हल्ला फैलियो ‘‘यसपाली इण्डियन आइडलमा दार्जीलिङको एकजना केटा प्रशान्त तामाङ पनि रहेछ- कलकता पुलिसको…’’। प्रशान्त तामाङ भन्दा अघि पनि राष्ट्रिय टीभी च्यानलको रियालिटी शोहरूमा नेपाली कलाकारहरूले प्रतिस्पर्धा गरेका थिए। तर त्यति बेला भोटिङ हुँदैन थियो। प्रशान्त आफ्नै बलबुत्तामा एक एक चरणमा अघि बढ़्दै गए, अनि भोटिङ राउण्डमा पुगे। यहाँ थियो उनलाई भोटको आवश्यकता। कुनै पनि कलाकार- स्थानीय, राज्य वा राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा पुग्छ भने उसको सहभागिताले स्वत: आफ्नो गाउँ, समाज, देश र जातिलाई प्रनिधित्व गरेको हुन्छ। प्रशान्त तामाङको प्रतिनिधित्व पनि यस्तै भयो।

अरुणाचल प्रदेशको मेचुखामा ६ जनवरी २०२६ मा ‘प्रशान्त एण्ड द् हिमालयन ब्रीज’को कार्यक्रमपछि भोलिपल्ट ७ जनवरी २०२६ मा ब्याण्डसितको अन्तिम तस्वीरमा प्रशान्त तामाङ (देब्रेबाट चौथोमा)

राष्ट्रिय स्तरको सबैभन्दा ठूलो रियालिटी शोमा प्रशान्त भोटिङ राउण्डमा पुगेपछि सबैले उनको प्रतिन्धित्वलाई जातिको प्रतिनिधित्व, मान सम्मान, भारतमा राष्ट्रिय पहिचानको रुपमा लिए। दार्जीलिङ, डुवर्स, सिक्किम साथै भारतका नेपाली बहुल गाउँ-बस्ती, चियाबारी, शहर-बजार सबैतिर प्रशान्त तामाङ फ्यान क्लब खोलियो। भारतभरमा मात्र होइन छिमेकी राष्ट्र नेपाल साथै विश्‍वभरका नेपालीहरूले प्रशान्तलाई इण्डियन आइडल बनाउन बृहत अभियान चलाए। प्रशान्तको लागि ‘हिमालय दर्पण’ले भारतभरको नेपाली क्षेत्रहरूमा हस्ताक्षर अभियान चलायो। ‘हिमालय दर्पण’को टोलीका साथ हस्ताक्षरको ब्यानर लिएर प्रशान्तकै पुस्तक ‘मिशन इण्डियन आइडल’का लेखक ज्ञानेन्द्र अर्याल मुम्बईको शुटिङ स्टुडियोमा पुगेका थिए। ज्ञानेन्द्र अर्याल सम्झिन्छन्, ‘‘ब्यानर लिएर मुम्बई आउने कुरा प्रशान्तलाई मात्र थाहा थियो। ब्यानरका साथ प्रचार अभियान देखेर इण्डियन आइडलको टोली छक्क परेको थियो। प्रशान्त औधी नै खुशी भएर ब्यानरमा लुटुपुटु गरेका थिए।’’

सबैको अभियान सफल भयो २३ सेप्टेम्बर २००७ मा। सात करोड़ भोट पाएर प्रशान्त तामाङ ‘इण्डियन आइडल’ बने- यो थियो भारतको रियालिटी शोमा नेपाली कलाकारको पहिलो विजय। कुनै पनि रियालिटी शोमा सात करोड़ भोट नतोड़िएको रेकर्ड हो। प्रशान्त तामाङ यस्ता ‘इण्डियन आइडल’ हुन् जसलाई दार्जीलिङको राजनैतिक र सांगीतिक संसारले बिर्सिन सक्दैन। उनी इण्डियन आइडल बनेपछि गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको २२ वर्षको शासन परिवर्तन भयो। उनलाई जिताउन खोलिएको एउटा फ्यान क्लबको समूहबाट दार्जीलिङ पहाड़मा ७ अक्टोबर २००७ मा गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)को उद्भव भयो। सो बेला भएको दार्जीलिङ पहाड़को राजनैतिक परिवर्तनको माध्यम प्रशान्त तामाङलाई मानिन्छ। प्रशान्त तामाङको सबैभन्दा ठूलो भूमिका भनेको भारतका ठूला रियालिटी शोहरूमा विश्‍वभरकै नेपाली कलाकारहरूलाई मार्ग तयार गर्नु हो। यति मात्र होइन उत्तरपूर्वका कलाकारहरूका लागि पनि उनी उर्जा र हौसला बने।

‘इण्डियन आइडल’ बनेपछि प्रशान्त सोनी टीभीको अनुबन्धमा बाँधिए। दार्जीलिङ आउजाउ घट्यो, तर जहाँ गए पनि उनको प्रतिनिधित्व भने दार्जीलिङकै रहयो। दार्जीलिङमै मात्र केन्द्रित हुँदा उनलाई मौलाउन गाह्रो थियो। भारतका नेपाली कलाकारहरूको लक्ष्य नेपालको राजधानी काठमाड़ौं हुनेगर्छ। प्रशान्त इण्डियन आइडल बनेपछि विदेशमा उनका कार्यक्रमहरूको माग बढ़्न थाल्यो।

गायकबाट विश्‍वभरकै नेपाली संसारमा लोकप्रिय बनेका प्रशान्तलाई नेपालबाट चलचित्रको अफर आएपछि अभिनयको क्षेत्रमा प्रवेश गरे। दर्शकहरूले उनको अभिनयलाई रुचाएपछि चलचित्रमा जम्मिए। ‘गोर्खा पल्टन’, ‘किन मायामा’, ‘आँगालो यो मायाको’, ‘परदेशी’, ‘परदेशी-२’, ‘निशानी’जस्ता चलचित्रहरूमा अभिनय गरे। ‘परदेशी’ चलचित्र सुपरहिट बन्यो, युट्युबमा मात्र ७२ लाख भन्दा बढ़ी भ्यूज पुगेको छ। कति चलचित्रहरूमा पार्श्‍व गायक रहे। प्रभावकारी अभिनयले उनको पाइला हिन्दी वेब सिरिजतर्फ बढ़्यो। हिन्दी टीभी धारावाहिक ‘अम्बर धारा’को ३१औं एपिसोडमा अथिति कलाकारको रुपमा देखिएका छन्।

सन् २०२५ को हिन्दी वेब सिरिज ‘पाताल लोक-२’मा स्नाइपर डानियलको भूमिकामा प्रभावकारी अभिनयका कारण उनी निक्कै चर्चामा रहे। ‘ब्याटल अफ् गलवान’मा सलमान खानसित अभिनय गर्ने अवसर पाए। यो चलचित्र अहिले निर्माणाधीन अवस्थामा छ। प्रशान्त चलचित्रको क्षेत्रमा उदाइरहेका थिए।

‘‘प्रशान्तले आफ्नो जन्मथलो दार्जीलिङलाई सधैं नै माया साथै सम्झिरहने गर्थे’’, खरसाङ निवासी सुपरिचित संगीतकार रुपेश रसाइली बताउँछन्। तीन वर्ष अघि खरसाङका संगीतकारहरूका साथमा ‘प्रशान्त एण्ड द् हिमालयन ब्रीज’ ब्याण्ड गठन भएको थियो। यसमा प्रशान्त मुख्य गायक थिए भने रुपेश रसाइली (किबोर्ड), ड्रमर योगेन तामाङ, बेस गिटारिस्ट सुकराज राई, लिड गिटारिस्ट विक्की दर्नाल, पर्कसनिस्ट देवेन राउत र अर्का पर्कसनिस्ट सुनिल राउत छन्।

तीन वर्ष अघिदेखि ‘प्रशान्त एण्ड द् हिमालयन ब्रीज’को कार्यक्रमहरू दिल्ली, देहरादुन, उत्तरपूर्वीय राज्यहरूमा प्रशान्तले निरन्तर प्रस्तुति दिँदै आएको रुपेश बताउँछन्। उनले बताएअनुसार, अरुणाचल प्रदेशको मेचुखामा ६ जनवरी २०२६ मा ‘प्रशान्त एण्ड हिमालयन ब्रीज’द्वारा प्रस्तुत गरेको कार्यक्रम प्रशान्त तामाङको अन्तिम कार्यक्रम बन्यो। कार्यक्रममा प्रशान्तले चलचित्र ‘दिल चाहता है’को ‘कोई कहे, कहता रहे, कितना भी हमको दीवाना’ अन्तिम गीत गाएको रुपेश बताउँछन्। प्रशान्तको निधनमा उनले ब्याण्डको तर्फबाट गहिरो दु:ख प्रकट गरेका छन्। खरसाङको टीभी च्यानल ‘नमस्ते खरसाङ’द्वारा सन् २०२४ मा आयोजित ‘नमस्ते आइडल सिजन-४’मा चौथो र पाँचौ पुरस्कार प्रशान्तले पठाएको ‘नमस्ते खरसाङ’का निर्देशक निर्मल गुरुङ बताउँछन्। ‘नमस्ते खरसाङ’को तर्फबाट उनले दु:ख प्रकट गरेका छन्। रुपेश रसाइलीकाअनुसार, दार्जीलिङ पहाड़मा ‘प्रशान्त एण्ड द् हिमालयन ब्रीज’को कार्यक्रम गर्नेबारेमा चर्चा भइरहेको थियो।

प्रशान्त तामाङले ४३ वर्षको कलिलो उमेरमा ११ जनवरी २०२६ मा संसारबाट विदा लिए। सन् २००७ मा विश्‍वभरका नेपालीलाई गौरवान्वित तुल्याउने ‘इण्डियन आइडल’ १२ जनवरी २०२६ मा दिल्लीबाट आफ्नो जन्मथलो दार्जीलिङ निष्प्राण फर्किए। आँखामा आँसु टिल्पिलाइ रहेका हजारौं मानिसहरूले उनलाई श्रद्धाञ्जली अर्पण गरे।

सन् २००७ ले नेपालीलाई एक बनायो र त्यसको केन्द्रमा प्रशान्त तामाङ उभिए। आज उनी नरहे पनि उनले जगाएको आत्मविश्‍वास, पहिचान र एकताको चेतना अमर छ। अब न त त्यो २००७ फेरि फर्किन्छ, न त त्यस्तो अर्को प्रशान्त नै आउनेछ। तर प्रशान्त तामाङले नेपाली इतिहासमा छोड़ेको स्वर र सम्झना कहिल्यै मौन हुने छैन।


Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ