महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का दुवै पक्षका वरिष्ठ नेताहरूले मंगलबार राति छुट्टाछुट्टै भेट गरेपछि राज्यको राजनीतिमा नयाँ समीकरण बन्ने अड्कलबाजी तीव्र भएको छ। विशेषगरी शरद पवार नेतृत्वको एनसीपी (एसपी) राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) तर्फ जाने सम्भावनाबारे चर्चा चुलिएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार फडणवीसको सरकारी निवास ‘वर्षा’मा एनसीपी (एसपी) का प्रदेश अध्यक्ष जयन्त पाटिल र वरिष्ठ नेता जितेन्द्र आव्हाडले भेट गरेका थिए। त्यसलगत्तै उपमुख्यमन्त्री अजित पवार पक्षका नेता तथा मन्त्रीहरू पनि फडणवीसलाई भेट्न पुगेका थिए। यी भेटहरू संसदको मनसुन अधिवेशन सुरु हुनुअघि भएका कारण राजनीतिक महत्वका साथ हेरिएको छ। सन् २०२३ मा अजित पवारले एनसीपी विभाजन गर्दै भाजपा नेतृत्वको महायुति सरकारमा सहभागी भएपछि शरद पवार नेतृत्वको एनसीपी (एसपी) आफ्नो आगामी राजनीतिक रणनीतिबारे गम्भीर दबाबमा रहेको बताइएको छ। यद्यपि, भेटबारे कुनै पनि पक्षले औपचारिक रूपमा गठबन्धन परिवर्तन वा एनडीएमा प्रवेशसम्बन्धी निर्णय भएको पुष्टि गरेका छैनन्। नेताहरूले भेटलाई नियमित राजनीतिक छलफल मात्र भएको बताएका छन्। यसअघि पनि एनसीपी (एसपी) एनडीएसँग नजिकिने चर्चा चलेको थियो। तर शरद पवार पक्षका नेताहरूले त्यस्ता दाबीलाई पटक–पटक अस्वीकार गर्दै आएका छन्। पछिल्लो मध्यरातिको भेटपछि भने महाराष्ट्रको राजनीतिक भविष्य र शरद पवारको आगामी कदमलाई लिएर पुनः व्यापक चासो बढेको छ।











