रंगमञ्चका प्रतिबद्ध कलाकार मदन भुजेल

Authored By: सञ्जय निरौला, बिजनबारी 

Share this news

भानुभक्त आचार्यले नेपाली भाषामा रामायण अनुवाद नगरेका भए शायद त्यो ग्रन्थ आम नेपालीको जनजीवनसँग यति घनिष्ठ रूपमा जोड़िने थिएन होला। उनले सरल भाषामा प्रस्तुत गरेको रामायणले अक्षर चिन्नेलाई पढ़्ने आधार दियो भने अक्षर नचिन्नेहरूलाई सुनेरै आत्मसात गर्ने अवसर प्रदान गर्‍यो। यही कारण रामायण केवल धार्मिक ग्रन्थ मात्र नभई नेपाली समाजको सांस्कृतिक धरोहर बन्यो। बालकदेखि वृद्धसम्मका ओठमा झुन्डिने, सुख-दुःखमा साथ दिने यो काव्यलाई जनमानससम्म पुर्‍याउने श्रेय भानुभक्तलाई जान्छ।

‘‘नाटक हेरिरहँदा हाँस्ने तथा केही बेर कुरा गर्नेबाहेक केहि गर्न सकिरहेका छैनौं’’

यिनै भानुभक्तको जीवन र योगदानलाई नाट्यमञ्चमार्फत जीवित राख्ने प्रयास गर्ने कलाकार हुन् मदन भुजेल। उनले चर्चित नाटक ‘भानु र पाला’मा ‘भानु’को भूमिका निर्वाह गर्दै केवल मनोरञ्जन मात्र दिएका छैनन्, बरु भानुभक्तको महत्वलाई नयाँ पुस्तासमक्ष प्रभावकारी ढंगले प्रस्तुत गरेका छन्। भानुभक्तको आदर्शलाई अभिनयमार्फत जनजनमा पुर्‍याउने उनको प्रयासले नेपाली रंगमञ्चलाई नयाँ ऊर्जा प्रदान गरेको छ।

पदम बहादुर भुजेल र चन्द्रप्रभा भुजेलका छोरा मदन खरसाङ बजारदेखि केही मुनि दोकान डाँड़ामा जन्मिएका हुन्। उनका बाबु फुड एण्ड सप्लाई विभाग खरसाङमा कार्यरत थिए। बाबु सरुवा भएर कालेबुङ गएपछि परिवार सबै उतै लागे। सानैदेखि नाटकमा रुचि राख्ने मदनले आफ्नै बाबाले आयोजना गर्ने सानोतिनो सांस्कृतिक कार्यक्रमहरू निक्कै चासो लिएर हेर्थे। त्यसपछि बिस्तारै मनोरञ्जनतर्फ झुकाउ बढ़्यो, र सन् १९८४ देखि उनको नाट्य यात्रा शुरू भयो। यस्तै १४ वर्षको उमेरमा पहिलोपटक गाउँकै कार्यक्रममा कलाकारको रूपमा मञ्चमा प्रस्तुत भए। उनको कलालाई सबैले मन पराए। त्यसबेला पाएको श्याबासी कुनै राष्ट्रिय पुरस्कारभन्दा कम थिएन। बिस्तारै नाटकहरूमा निरन्तरता अभिनय गर्न थाले।

आदि कवि भानुभक्त आचार्यको भूमिकामा कलाकार मदन भुजेल।

सन् १९८९ तिर गाउँभन्दा बाहिर राजेन गुरुङको हौसलामा नाटक खेल्न योग्य हुँदासम्म मदनले नाटकको धेरैथोर ज्ञान् बटुलीसकेका थिए। आफ्नो प्रतिभाको बलमा मदन कालेबुङ नेपाली अध्ययन समितिद्वारा वार्षिक रूपमा आयोजना गरिने नाटक प्रतियोगितामा प्रतियोगी बन्दै नाटकलाई निक्कै नजिकबाट बुझ्ने मौका पाए। त्यसमा लोक सांस्कृतिक विभागसँग सम्बन्धित राजेन गुरुङ तथा पछिबाट दोर्जी भुटियासँग भेट भयो भने भुटियाले नाटककै सिलसिलामा सुपरिचित नाटककार ललित गोले (पाला)सित भेट गराए। देख्दा सामान्य देखिने यो भेटले दुवैको कलालाई एकै मञ्चमा ल्याउने सुत्रपात गरायो। सीमित क्षेत्रमा देखाउने कलाकारलाई आफ्नो कलाकारिता बृहत् क्षेत्रमा प्रदर्शनी गर्नुपर्ने बारेमा जागरुक बनायो। उनीहरूकै सोचमा चेतनामूलक नाटक ‘सभ्यता अनि कुकुरको पुच्छर’ त्यसताक पहाड़को घटनालाई लिएर व्यंग्यात्मक रूपमा प्रस्तुत नाटकले दर्शकहरूबाट प्रशंसा बटुलेपछि विभिन्न क्षेत्रहरूमा मञ्चन गरियो।

नाटकले मात्रै होइन नाटकसँग जोड़िएका कलाकारहरूसँगै मदनले निक्कै चर्चा पाए। नाटकको यात्रा रोकिएन बिस्तारै अझै सशक्त बनिन थाल्यो यसैमा सन् २००७ तिर ‘सभ्यता अनि कुकुरको पुच्छर’बाट ‘भानु र पाला’ हुनपुग्यो। ललित गोले र मदन भुजेललगायतका टोलीले केवल दर्शकहरूलाई पेट मिचेर हाँस्ने मात्रै होइन नाटकीय ढंगले समाज नै उभ्याउने कोशिश गर्‍यो। जसको कारण नाटक सफल भएपछि सन् २००८-२००९ तिर कालेबुङ टाउन हलमा पहिलोपटक मञ्चन गर्दा धेरै सफलता पायो। त्यसपछि मदन भानु बन्दै दार्जीलिङ पहाड़का विभिन्न स्थानहरूसँगै सिक्किम, शिलोङ, दिल्लीलगायतका धेरै ठाउँसम्म पुग्नसके।

नाटकलाई कुनै दिन पेशागत नलिने मदनले आफ्नै नेतृत्वमा सड़क नाटक जाउँ मलामी आफ्नै लासको सँगै चरी उड़ी गएको छैनलगायतका धेरै नाटकहरु मञ्चमार्फत गरिसकेका छन्। यस्तै शशी सुनामको अप्रेल फुल, शुभ प्रधानको भीरको चिन्डोलगायतका धेरै नाटकमार्फत अमिट छाप छोड़िसकेका छन्। सुपरिचित हास्य कलाकार महेन्द्र बागदाससँग ‘रेन्बो मेरो कल्पनामा’, ‘भानु बाजे तथा मुखमात्रै’मा अभिनय गरिसकेका छन्। अभिनयमार्फत आफ्नो अनुहार बिक्री भएको बताउने मदनले नेपाली चलचित्रको क्षेत्रमा पनि धेरै काम गरिसकेका छन्। नेपाली चलचित्रका प्रख्यात निर्देशक तुलसी घिमिरेको मार्गदर्शनमा प्रायःजसो काम गरेका मदनले दक्षिणा, लहना, स्वर्गकी परी, अभियान, झझल्को, दृष्टिकोण, देश, दर्पण छायाँ, यस्तै निमेष प्रधानको सम्झना बिर्सना, भाष्कर प्रधानको उजेली, अजय प्रधानको तस्वीर जिन्दगीको, प्रकाश छेत्रीको जसको नाम उसको दाम, पिरो घ्यू, अमर रसाइलीको जिन्दगी फर्केर आउँदैन, प्रताप सुब्बाको याद तिम्रो आयो, बिक्की राईको द् ब्याक, सी के श्रेष्ठको सतमंगल गाथा, जोपछेन मोक्तानको गठ्ठे र फर्की आउँछु म सँगै, जोन राईको हालैको चर्चित चलचित्र ‘धमिलो पहाड़’लगायतका चलचित्रहरू मार्फत आफ्नो अभिनय दर्शकसामु राखिसकेका छन्। यस्तै उनले जगन्नाथ विश्‍वासद्वारा निर्मित मिनाक्षी,हिन्दी वेब सिरिज मित्था टु र जापानी निर्माता एवं निर्देशक यानको ‘स्परेग्रेरी रमेन’ मा नायकको भूमिका निर्वाह गरेका भए पनि केही कारणवश उक्त चलचित्र प्रदर्शन हुनसकेन।

जमानाअनुसार परिवर्तन हुँदामात्रै नाटक बाँच्नसक्ने भनाइ राख्ने मदन भुजेललाई नाटकमा नयाँ पुस्ता जन्माउनु निक्कै कष्ट भएको र अझ महिला कलाकारहरूको सहभागिता अत्यन्तै न्यून भएको उनको भनाइ छ। यसबारेमा उनी भन्छन्, ‘‘हामी नाटकलाई केवल मनोरञ्जनकै रूपमा मात्रै लिन्छौ। नाटक हेरिरहँदा हाँस्ने तथा केही बेर कुरा गर्नेबाहेक केहि गर्न सकिरहेका छैनौं। जसले कलाकारहरू केही वाह वाही पाए पनि उचित व्यस्थापन भने हुनसक्दैन।’’ स्थानीय तहमा नाटकलगायतका अन्य क्षेत्रको संरक्षण गर्न तथा उनीहरूले कलालाई समाजसामु ल्याउने प्रयास केवल कलाकारबाट मात्रै असम्भव रहेको देख्ने मदनलाई सरकारले यो क्षेत्रमा पटक्कै केहि नगरेको भनाइ छ। उनी अझ भन्छन्, ‘‘सरकारले नाटकको क्षेत्रलाई लिएर धेरै कामहरू गर्नुपर्छ, जसमा पूर्वाधारदेखि कलाकारहरू व्यवस्थापन आदि इत्यादि समावेश छन्।’’ बेला-बेला आफ्नो क्षेत्रमा निक्कै हरेस खाने मदन भुजेलले आशा भने पट्टकै मरेका छैनन्। नयाँ पुस्तालाई नाट्य विधामा अध्ययन गर्नका लागि प्रेरित गराउँदै उनीहरूले नै नाटक बचाउन सक्छन् भन्नेबारेमा विश्‍वास गर्छन्।

नाट्य क्षेत्रमा लागि पर्न चहाने युवाहरूलाई उनको सुझाव यस्तो छ,‘‘नाटक भनेको हामीले देख्ने कलाकारले देखाएको कलाकारिता मात्रै कदापि होइन। त्यसैभित्र एउटा छुट्टै संसार छ। तर त्यो संसारमा पस्ने इच्छाशक्ति भने दह्रो हुनुपर्छ। जहाँभित्र समर्पण त्याग अनुशासन धैर्यताको कमी कदापि हुनु हुँदैन। यस्तै सफलता एकैदिनमा आवश्यक नै हुँदैन यसैले सफलताको निम्ति मेहनत निरन्तर रूपमा गर्नुपर्छ।’’

मदन भुजेल केवल रंगमञ्चका कलाकार मात्र होइनन्, उनी चेतनाको स्वर हुन्। आफ्नो अभिनयमार्फत उनले दर्शकलाई हँसाउने मात्र होइन, सोच्न र समाजप्रति जिम्मेवार बन्न प्रेरित गर्ने काम गरेका छन्। अनेक चुनौती र अभावका बीच पनि नाट्य क्षेत्रप्रतिको उनको समर्पण अडिग छ। नयाँ पुस्तालाई रंगमञ्चतर्फ आकर्षित गराउने उनको प्रयासले भविष्यप्रति आशा जगाउँछ। यस्ता कलाकारको निरन्तर यात्राले नै नेपाली नाटकलाई जीवित, सशक्त र अर्थपूर्ण बनाइराख्नेछ।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ