अवैध रूपमा सञ्चय गरेर राखिएको ठूलो परिमाणमा सैगुन (टिक) काठ र फर्निचर बरामद गरिएको छ। वन विभागले गरेको विशेष अभियानका क्रममा करिब ६ लाख रुपैयाँ बराबरको काठ तथा तयारी फर्निचर जफत गरिएको हो।
दार्जीलिङ वन्यजन्तु डिभिजनअन्तर्गत सिलगढी नजीक सुकुना रेंजका अधिकारीहरूको टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको बताइएको छ। छापामारीको क्रममा घर तथा गोदामबाट अवैध रूपमा भण्डारण गरिएको सैगुन काठ, ढोका, झ्याल, टेबल, कुर्सी लगायतका विभिन्न फर्निचर सामग्री फेला परेको थियो। आवश्यक कागजात र वैधानिक अनुमति बिना नै ती सामग्री राखिएको पुष्टि भएपछि सम्पूर्ण सामान नियन्त्रणमा लिइएको जनाइएको छ।
यस घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछका लागि राखिएको छ। वन विभागले उनीहरूबाट काठको स्रोत, आपूर्ति सञ्जाल र अन्य सम्भावित संलग्न व्यक्तिहरूबारे जानकारी संकलन गरिरहेको छ। प्रारम्भिक अनुसन्धानपछि थप कानुनी कारबाही अघि बढाइने बताइएको छ।
प्रशासनका अनुसार अवैध काठ व्यापार र वन सम्पदाको दुरुपयोग रोक्न यस्ता अभियान आगामी दिनमा पनि निरन्तर जारी रहनेछ। यस कारबाहीलाई वन संरक्षण तथा गैरकानुनी कारोबार नियन्त्रणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।












