पाँच दशकदेखि मञ्चमा जीवन, जीवनमा मञ्च

Share this news

सञ्जय प्रधान

दार्जीलिङको रंगमञ्चमा पाँच दशकदेखि निरन्तर उज्यालो छर्दै आएका जीवन कुमार गुरुङले दर्शकबीच ‘रामे’को गहिरो छाप बसालेका छन्। लोकप्रिय नाटक ‘सुनको औंठी’का इमान्दार नोकर रामेको भूमिकाद्वारा दर्शकको मन जितेका उनले जीवनका सात दशक पार गरिसक्दा पनि नाटकप्रतिको ऊर्जा र जोश भने अझै उमंगले भरिएको छ। रंगमञ्चकै लागि बाँच्ने, हाँसो र चेतना बाँड्ने कलाकार हुन्- उनी।

दार्जीलिङमा कहाँ जन्मिनु भएको? हाँस्दै भन्छन्, ‘‘एकदमै सदर थानामा।’’ बाबु पुलिसमा एएसआई हुँदा त्यहीं थानाको क्वार्टरको माथिल्लो तलामा उनको जन्म भयो। स्कूल कहाँ पढ़्नु भयो? हाँस्दै भन्छन्, ‘‘पढ़ेको स्कूल त थुप्रै छ नि भाई…फेल हुँदै पढ़ेको जस्तो देख्छ…तर होइन…उहिले बाबुको पोस्टिङ भइरहन्थ्यो।’’ बाबुको घर सिङताम, तर पुलिसको नोकरीमा विभिन्न ठाउँमा सरुवा हुँदा छोराको स्कूल पनि उस्तै किसिमले सर्दै गयो। स्व. बिर्खबहादुर गुरुङ र स्व. रत्न गुरुङका छोरा जीवन गुरुङले दार्जीलिङ सरकारी महाविद्यालयबाट स्नातक पूरा गरे। स्कूले जीवनमै नाटकप्रतिको मोहले उनलाई रंगमञ्चतिर तान्यो, जसको प्रभाव आजसम्म निरन्तर रहिरहेको छ।

‘‘दार्जीलिङमा नेशनल स्कूल अफ ड्रामा ल्याउनु राजनैतिक इच्छाशक्ति हुनुपर्छ। यो विश्‍वविद्यालयजस्तै हो, यसबाट धेरै विकास हुन्छ’’

सन् १९७४ तिर सरस्वती पूजातिर नाटकहरू गर्थे। सन् १९७५ मा ‘अपोलो इलेभेन’ एकांकी नाटक आफै लेखेर मञ्चन गरे। जीवन गुरुङ आफैले निर्देशन र अभिनय गरे। यो हास्य नाटक सबैले मन पराए, र यहीँबाट उर्जा पाए। सन् १९७६ मा ‘नर नारीको युद्ध’ लेखे, निर्देशन र अभिनय आफैले गरे, यो नाटक गोर्खा दु:ख निवारक सम्मेलनमा मञ्चन भयो। सन् १९७७ मा ‘पर्सनल डायरी’ लेखे, त्यसपछि उनको नाटकीय यात्रा अघि बढ़्यो। ‘मंगनी’, ‘कसरी’, ‘च्यातिएको फाइल’, ‘जागित्र’जस्ता चर्चित नाटकहरू लेखेर निर्देशन गरे र अभिनय पनि गरे। वृत्त-नाटक ‘हाम्रै सन्तान’निर्माण गरे।

सन् १९८४ मा दार्जीलिङमा मञ्चन भएको नाटक ‘जागित्र’।

‘मंगनी’ निकै चलेको उनी बताउँछन्। यो नाटक नेपालको वीरगञ्जबाट शुरु भएर विभिन्न ठाउँ हुँदै दार्जीलिङको चियाबारी-बस्तीहरूमा मञ्चन भयो। सन् १९८४ मा दार्जीलिङको गोर्खा रंगमञ्च (भानु भवन)मा ‘जागित्र’ मञ्चन भयो, रहस्य र ‘होरर’ प्रयोगले भरिएको यो नाटकमा हात मात्र वा टाउको मात्र निस्किएको देखाइने प्रविधि प्रयोग गरिएको थियो। यसका लागि किशोर सिंह, राजु शर्मा, सी बी सिंहजस्ता प्राविधिक सहयोगी रहेको उनी सम्झन्छन्। यो नाटक चर्चित भयो, र सन् १९८४ मै यसैमा उनी सर्वश्रेष्ठ निर्देशकको लागि कलकताबाट ‘ऋत्विक घटक अवार्ड’ले सम्मानित भए। सन् १९७७ को ‘पर्सनल डायरी’को मूल भाव र अंश जस्ताको तस्तै राखेर उनले ‘अभिनय’ भिडियो चलचित्र निर्देशन गरे, जसका निर्माता सिक्किमका अरुण प्रकाश राई थिए।

सन् १९८० मा लोक मनोरञ्जन शाखामा नियुक्ति पाएपछि नाटकको क्षेत्रमा फस्टाउने राम्रो अवसर पाए। यहींबाट उनी सन् २०१२ सेवानिवृत्त भए। सेवानिवृत्त भएपछि पनि उनी कलाको क्षेत्रमा निरन्तर क्रियाशील छन्।

जीवन गुरुङको नाटक हास्य र मनोरञ्जन मात्र होइन, जनचेतनामूलक पनि छन्। सन् १९८८ मा पश्‍चिम बंगाल वन विभागको आयोजनामा पर्यावरण संरक्षणको सन्देशमूलक गीति नाटक ‘रुख बाजे’ लेखेर निर्देशन गरेर उनले फरक पहिचान बनाए। नेपाली संसारका सुपरिचित नाटककार मनबहादुर मुखियाको चर्चित नाटक ‘अनि देवराली रुन्छ’मा अभिनय गरे। दोस्रो मञ्चनमा उनले ‘गाइने’को भूमिका खेले।

सुपरिचित नाटककार किरण ठकुरीका नाटकहरू ‘अमर आत्मा’, ‘कालो गुलाब’, ‘भूमिपूत्र’, ‘दिव्य दर्शन’मा अभिनय गरे। यस्तै नाटककार स्व० पी अर्जुनका नाटकहरूमा पनि देखिए। ज्ञानेश्‍वर गिरीको ‘तारा रोएको बेला’, सूर्यकुमार गिरी र गगन गुरुङको ‘दार्जीलिङ बाई नाइट’, टेम्बो लेप्चाद्वारा निर्देशित शिवकुमार राईको कथा ‘फ्रण्टियर’, मोहन पुकारको ‘चौरास्ता’ र टेलिचित्र ‘नभन्नु है कसैलाई’, मेक्सिम गोर्कीको उपन्यास ‘आमा’मा आधारित नाटक, सुवास दिपकको हास्य नाटक ‘साहुजीको लाटी स्वास्नी’लगायत थुप्रै नाटकमा उनले अभिनय गरे। नाटककार लक्ष्मण श्रीमलको ‘सुनको औंठी’मा प्रभावकारी अभिनयले उनलाई अझ बढ़ी चर्चामा ल्यायो।

उनले सुपरिचित निर्देशक प्रताप सुब्बाको चलचित्र ‘बाँच्न चाहनेहरू’, आदित्य रायाद्वारा निर्देशित चलचित्र ‘हम जाएगा हुन्छु म पनि’मा हम जायेगाको भूमिका छन्। यसको शुटिङका क्रममा उनको हात पनि भाँचिएको थियो। यस वर्ष नेपाली भाषा दिवसमा 20 अगस्तमा सालबारीमा उनले ‘अस्तित्वको आवाज’ मञ्चन गरे। बंगला चलचित्र ‘महाशय’, धारावाहिक ‘कुआसे घेरा कर्सियाङ’, सुपरिचत निर्देशक अञ्जान दत्तद्वारा निर्देशित ‘एक दिने दार्जीलिङ’, हलिवुडको चलचित्र ‘द वे ब्याक’, हिन्दी धारावाहिक ‘द लास्ट आवर’, ‘सायद’मा अभिनय गरेका छन्।

दार्जीलिङमा नाटकलाई बचाउन सन् १९९६-९७ मा हिमालयन थिएटर वर्कशप स्थापना गरेर नयाँ प्रयोग गरे। यसमा दर्शकका लागि सिजन टिकट राखिएको थियो, जसमा वर्षमा आठदेखि १० वटा नाटक देखाइन्थ्यो। सिजन टिकटमा बजारका केही पसलहरूमा किनमेल गर्दा छुटको सुविधा पनि राखिएको थियो। यसमा नाटक हेर्न अढ़ाई सयदेखि तीन सयसम्म दर्शक सदस्य बनेका थिए। यो पहलपछि नाटक हेर्न दर्शक आउन थालेका थिए। सोही बेला गोदुनिसको हल र गोर्खा रंगमञ्चको निर्माण थाल्दा नाटक देखाउने ठाउँ नहुँदा लामो समय रोकिएको उनी बताउँछन्।

हिजोआज नाटकमा मोबाइलले पनि असर गरेको उनको भनाइ छ। सबै कुरा मोबाइलमै आउने भएपछि टीभी हेर्नेको संख्या पनि घटेको उनको भनाइ छ। ‘‘नाटक गर्न खर्च निक्कै हुन्छ। एउटा नाटकका लागि हल बुक गर्नुपर्छ, २५-३० हजार रुपियाँदेखि कम्ति हुँदैन। लाइट-साउण्ड चाहिन्छ, महिना दिन रिहर्सल गर्नुपर्छ। रिहर्सल गर्ने ठाउँ पाउँदैन। धेरै समस्या छन्’’, उनी भन्छन्। समाजमा नाटकको महत्त्वबारे उनी भन्छन्, ‘‘जति नाटकको विकास हुन्छ त्यति नै समाज विकसित हुन्छ।’’ नाटकको उत्थानबारे उनी भन्छन्, ‘‘नाटक साहित्यको मूल विधा हो, स्कूलहरूमा पनि निरन्तर भइरहनुपर्छ। दार्जीलिङमा नेशनल स्कूल अफ ड्रामा ल्याउनु राजनैतिक इच्छाशक्ति हुनुपर्छ। यो विश्‍वविद्यालयजस्तै हो, यसबाट धेरै विकास हुन्छ। सरकारको सहयोग पाए उन्नति हुन्छ।’’ दार्जीलिङ पहाड़मा नाटकको भविष्यबारे उनी चिन्तित छन्, र भन्छन्, ‘‘कलाकार हुनु भनेर ग्यारेन्टी दिन सक्दैनौं। लोक मनोरञ्जन शाखा नभएको भए हामी कतातिर हुने थियौं होला।’’

पाँच दशकदेखि रंगमञ्चलाई जीवन मानेका जीवन गुरुङ आज पनि उस्तै जोश र ऊर्जा लिएर मञ्चमा सक्रिय छन्। हाँसो र चेतनाको उज्यालो बाँड़्दै उनले दर्शकको मनमा अमिट छाप छाड़ेका छन्। उनको यात्रा केवल व्यक्तिगत उपलब्धि मात्र होइन, दार्जीलिङको सांस्कृतिक सम्पत्ति हो- जहाँ नाटकसँगै जीवन निरन्तर बाँचिरहेछ।

 


Share this news
आजको रोजाइ
मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

आजको रोजाइ