दार्जीलिङ,25 जनवरी(निसं): म पनि गोर्खा हुँ, म के चाहन्छु अनि मेरा जनताले के चाहन्छन् यो सबै कुरो दार्जीलिङ आएका मध्यस्थकर्ता तथा इन्टरलक्युटर समक्ष भनिसकेको छु, यो कुरो नै केन्द्र सरकारलाई पनि भनिदिनु भनेर मैले मध्यस्थकर्ता पङ्कज सिंह आइपीएस-लाई भनी दिएको छु, दार्जीलिङ अनि तराई- डुवर्स क्षेत्रको स्थायी व्यवस्थाको कुनै नाम नलिकन यस प्रकारको मन्तव्य दार्जीलिङ लोकसभा सांसद राजु विष्टले शनिबार दार्जीलिङमा इन्टरलक्युटर- सितको भेटपछि पत्रकारहरुलाई बताएका छन्।
दार्जीलिङ शहर नजिक रहेको गान्धी रोड छेउको रेल विभाग अतिथि गृहमा भारत सरकारद्वारा मनोनित इन्टरलक्युटर दार्जीलिङ अनि तराई-डुवर्स क्षेत्रको स्थायी समाधान लिएर अनि यहाँका राजनीतिक पार्टीहरू साथै जनसाधारणहरूसित भेटघाट गर्न आइपुगेका मध्यस्थकर्ता तथा इन्टरलक्युटर पङ्कज सिंहले दार्जीलिङ लोकसभा सांसद राजु भेट गरेको कुरा सांसद विष्टले स्वयंले बताउँदै भनेका छन्, भारत सरकारद्वारा पठाइएको इन्टरलक्युटर पङ्कज सिंह आईपीएस- लाई दार्जीलिङ अनि तराई-डुवर्स क्षेत्रवासीको पक्षबाट औपचारिक स्वागत गर्न पाए, उनीसित दिल्ली राजधानीमा तीन चार पल्ट सभा बसिसके पनि दार्जीलिङ पहाडमा आएका बेला स्वागत गर्ने मौका प्राप्त गरेकोछु। दार्जीलिङ अनि तराई-डुवर्स क्षेत्रको स्थायी समाधानबारे आज उनीसित कुराकानी भयो। दार्जीलिङ अनि तराई-डुवर्स विषय सबै कुरो इन्टरलक्युटर पङ्कज सिंहले थाहा पाइसकेका छन्, तर पनि आधिकारिक रूपमा आज पनि उनीसित कुराकानी भयो। विष्टले भने, यस भेटघाट साथै वार्तालाई चुनावसित नजोडौं। हुन त चुनावको माझमा छौं हामी यस समय।
यसैवीच उनले भने, गोर्खाको दीर्घकालीन मागको समाधानको लागि भारत सरकार ले साथै गृहमन्त्रीले यसरी मध्यस्थकर्ता पठाइएकोमा भारत सरकार अनि गृहमन्त्री प्रति आभारी छु। आगामी 5-6 दिनसम्म उनी दार्जीलिङमा रहनेछन्। यस समय उनले यहाँका विभिन्न राजनीतिक पार्टी साथै नेतृत्वहरूसित गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन प्रशासकहरूसित पनि भेट गर्ने छन् । यस मध्यस्थकर्ताको दार्जीलिङ उपस्थिति दार्जीलिङ पहाडको निम्ति समाधानको बाटो खुल्नेछ भनी आशा राख्दछु। साथै दार्जीलिङ पहाड अनि मधेस-तराई क्षेत्रवासीलाई अपिल पनि गर्दछु। इन्टरलक्युटर भारतीय जनता पार्टी (भाजपा)-को प्रतिनिधि होइन, उनी भारत सरकारको सचिव स्तरका अनुभवी व्यक्ति हुन्, उनीसित सबैले आफ्नो-आफ्नो कुरा राखौं। पछि गएर कसैले पनि कुरा राख्न नपाएको गुनासो नरहोस्।
विष्टले अझ भने, छुट्टै राज्य मागेको हो किन इन्टरलक्युटर-को आवश्यक पर्यो भन्ने कुरा उठ्छ होला तर इन्टरलक्युटर सरकारको प्रतिनिधि हो, दार्जीलिङ अनि तराई-डुवर्स क्षेत्रको निम्ति राम्रो वातावरण सृजना हुनेछ भनी आशा राखेका छौं। उनलाई भारत सरकारले जनमत दिएर पठाएको हो, दार्जीलिङ अनि तराई-डुवर्स क्षेत्र साथै गोर्खाको समस्या समाधान संवैधानिक परिधिभित्र भएको हुनपर्नेवारे कुरा गरिनेछ। उनले भने, यस समयमा धेरै कुरा बोल्न सक्दिन, किनभने जनताको आकांक्षा बिग्रन सक्छ। यहाँ ज्यान गुमाउनेहरू छन् दार्जीलिङ पहाडमा बलिदान साथै सर्वस्व गुमाउनेहरु छन्। दार्जीलिङमा त्यसैले जनताले चाहेको अनि मेरो चाहना एउटै हो यसै विषयलाई भारत सरकारसित सम्बोधनमा राखिदिने आजको भेटघाटमा इन्टरलक्युटरसमक्ष अवगत गराएको छु।












